कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अस्पतालमा बिरामीको चाप

मेनुका ढुंगाना

अछाम — अछामको मंगलसेन नगरपालिका–७ की रामकली जैसी ३ वर्षीया छोरी बिरामी भएपछि जिल्ला अस्पताल आइपुगिन् । सुरुमा सामान्य रुघाखोकीका लक्षण मात्रै देखिएपछि घरेलु उपचारमा लागिन् । तर उनकी छोरीलाई भने सञ्चो भएन । जिल्ला अस्पतालमा ५ दिन भर्ना नै गर्नुपर्ने अवस्था आयो । ‘वर्षाको समयमा आफू गोडमेल गर्न खेतबारीमा व्यस्त भएँ । रुघाखोकी त हो भन्ने लागेर केही वास्ता गरिएन । अहिले त एकदम गाह्रो भएको छ,’ उनले भनिन्, ‘अहिले गाउँमा धेरै केटाकेटी बिरामी भएका छन् । कति त अस्पतालसम्म पनि आउँदैनन् ।’

अस्पतालमा बिरामीको चाप

मंगलसेन नगरपालिका–१२ की खन्टी रावल पनि ४ वर्षीय छोरोलाई ज्वरो आउने, रुघाखोकी लाग्नेलगायतका लक्षण देखिएपछि स्वास्थ्य चौकी गइन् । त्यताबाट औषधि लिएर खान थालेको ४ दिनसम्म पनि छोरालाई सञ्चो नभएपछि जिल्ला अस्पताल पुगिन् । ‘कोरोनाका लक्षण छन् भनेर कोरोना जाँच पनि भयो । तर रिपोर्ट नेगेटिभ आयो । भाइरल ज्वरो नै हो भनेका छन् । तर अहिलेसम्म सञ्चो भएको छैन ।’

रामकली र खन्टि त छोराछोरी लिएर जिल्ला अस्पताल धाइरहेका प्रतिनिधि पात्र मात्रै हुन् । अहिले अछामका धेरैजसो स्वास्थ्य संस्थामा छोराछोरी डोर्‍याएर अस्पताल आउने अभिभावकको संख्या वृद्धि भएको छ । मौसम परिवर्तनका बेला बालबालिकाको स्वास्थ्यमा धेरै ख्याल गर्नुपर्ने जिल्ला अस्पताल अछामकी प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सोनाली बाँस्कोटाले बताइन् ।

‘गत वर्ष यही समयमा दैनिक सयभन्दा बढी बालबालिका बिरामी भएर अस्पताल आएका थिए । अहिले पनि बच्चाहरू बिरामी हुने सिजन देखिएको छ । ओपीडी र इमर्जेन्सीमा अहिले एकदम धेरै बच्चाहरू आइरहेका छन्,’ डा. सोनालीले भनिन्, ‘एकै घरका धेरै जना बच्चा बिरामी छन् । आफू काममै व्यस्त हुने बालबालिकाको केयर नहुने समस्या धेरै देखियो ।’

जिल्ला अस्पतालमा आएका कोरोनाको लक्षण देखिएका बालबालिका र अन्य बिरामीको कोरोना परीक्षण नियमित भइरहेको उनले बताइन् । ‘एक दिनमा २५ देखि ५० जना बालबालिका मात्रै जिल्ला अस्पतालमा बिरामी भएर आउने गरेका छन् । उनीहरूको पनि कोरोना परीक्षण भइरहेको छ,’ डा. सोनालीले भनिन्, ‘मौसम परिवर्तन भइरहेको छ । यो बेलामा पानी उमालेर खाने, सरसफाइमा विशेष ध्यान दिने गर्नुपर्छ । अहिले स्कुल जाने उमेरमा बालबालिकामा यो समस्या धेरै देखिएको छ ।’ उनले भाइरल ज्वरो देखिएपछि सञ्चो हुन कम्तीमा एक हप्ता लाग्न सक्ने बताइन् ।

प्रकाशित : श्रावण २६, २०७९ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?