विरलै भेटिन्छन् घोडसवार

डीआर पन्त

धनगढी — नुन–गुड, लत्ताकपडा, मसलालगायत उपभोग्य वस्तु बोकेर फागुन नलाग्दै घोडाका लस्कर सुदूरपश्चिमका पहाड उक्लन्थे । तराईका विभिन्न ठाउंँमा व्यापारिक मण्डीहरू हुन्थे ।कैलालीको कटाँसे, चौमाला, मालाखेती र कञ्चनपुरको ब्रह्मदेव मण्डीबाट सरसामान बोकेर पहाड उक्लने घोडाको संख्या उहिले सयौंमा हुन्थ्यो ।

विरलै भेटिन्छन् घोडसवार

‘मध्य पहाडी जिल्लाको अर्थतन्त्रको मेरुदण्ड नै घोडा थियो,’ कैलालीको गोदावरी नगरपालिका मालाखेतीका रामदत्त भट्टले भने, ‘डडेलधुरा, बैतडी र डोटी जस्ता तराई नजिकका जिल्ला सडक यातायातसँग जोडिएपछि पनि घोडाको महत्त्व त्यति नै थियो ।’ उनका अनुसार त्यतिबेला पहाडतिर हुनेखाने परिवारसँग घोडा हुन्थ्यो, घोडा नभएको गाउँ नै हुन्थेन ।

तराई ओर्लंदा वर्षभरि जम्मा गरिएको घिउ, दाललगायतका खाद्य वस्तु बोकेर लैजाने र फर्कंदा घरायसी सामान ल्याउने काम हुन्थ्यो । ‘तावदानीमा आउने केटालाई कसरी छोरी दिनु ? घोडा चढेर आउने बेहुला पो बेहुला । दुई घोडा अगाडि दुई पछाडि बीचको घोडामा दुलाहा होस् अनि पो जन्ती आए जस्तो । छोरी अन्माउँदा पनि घोडा हिनहिनाओस् त्यो सान नै बेग्लै ?’ आफ्नो विवाहको सम्झना गर्दै डडेलधुरा पिल्कोटका कुलबहादुर खड्का भन्छन्, ‘७ घोडासहित जन्ती लगेर गएको चर्चा वर्षौंसम्म भइरह्यो, गाउँ वारिपारिका मान्छेहरू भन्थे विवाह होस् त कुलबहादुरको जस्तो होस् ।’

मेलापात गर्दा श्रीमतीलाई पनि संगीसाथीले जिस्काउँथे सात घोडा लगेर ल्याएकी दुलही पो त । उनले ती दिन सम्झना गर्दै भने, ‘आफैंले घोडा देख्न पनि नपाएको वर्षौं भइसकेको छ ।’ अर्थतन्त्रको मेरुदण्ड मात्र होइन सामाजिक विकासका धेरै पक्षमा प्रभावकारी भूमिका भएको घोडा देखिन छोडेको दुई दशक पनि भएको छैन । कैलाली मालाखेतीका रामदत्त भट्ट भन्छन्, ‘रैथाने अर्थतन्त्रको प्रमुख साधन घोडा लोपोन्मुख हुन थालिसकेको छ ।’

पहाडी जिल्लामा ०६४/६५ सम्म पनि घोडाले नै ग्रामीण भेगको अर्थतन्त्र धानेको थियो । भट्टले भने, ‘गाउँमा उत्पादन भएको भट्टमास, गेडागुडी र नगदेबाली सदरमुकाम पुगाउने सदरमुकामबाट आवश्यक खाद्यान्न ढुवानी गर्ने प्रमुख साधन नै घोडा थियो । केही वर्ष खच्चरले घोडाको ठाउँ लियो ।

अहिले घोडा खच्चर गाउँमा देखिन छोडेको पनि दशक भइसकेको उनले बताए । पहाडी जिल्लाका हरेक सरकारी कार्यालयमा घोडा हुन्थे । सइसको दरबन्दी हुन्थ्यो । जिल्ला प्रशासन, प्रहरी, वन जस्ता प्रशासनिक निकायमा त ४ वटासम्म घोडा हुन्थे । सेवानिवृत अधिकृत सोमराज जोशीले भने, ‘सडक यातायात सहज हुन थालेपछि सरकारी कार्यालयका घोडा लिलाममा विक्री भए ।’ नेपाली सेनाको त १७८ वर्ष पुरानो घोडा युनिट अहिले पनि सायद कायम नै रहेको जोशीले बताए ।

पहाडका विभिन्न ठाउँमा घोडा बिक्री हुने मेलाजात्रा हुन्थ्ये । सुदूरपश्चिममा जुम्ली घोडाको ठूलो माग थियो । कश्मीरी घोडा पनि आउँथे तर बढी माग चाहिँ जुम्ली घोडाको थियो । कुनै समय व्यवसाय नै गरेका ८१ वर्षीय वृद्ध कञ्चनपुरको कृष्णपुर नगरपालिका गुलरियाका दलबहादुर धामीले भने, ‘सबैभन्दा बढी घोडा किनबेच हुने दार्चुलाको जौलजीवी मेला हो ।’ दर्जनौं पटक जौलजीवी मेलाबाट घोडा किनेर बिक्री गरेको सम्झना गर्दै उनले भने, ‘नेपालको जुम्ला, कुमाउको रानीखेत, कश्मीरको सेवैया, सिमलाको मनालीबाट ठूलो मात्रामा घोडा लिएर बिक्री गर्न व्यवसायीहरू आउँथे ।’

‘ताक्लाकोटी घोडाको पनि माग थियो तर तल्लो पहाडी भेगमा ताक्लाकोटी घोडा चल्न सक्दैन भन्थे,’ धामीले बिगत सम्झँदै भने, ‘अहिले यातायातका साधनले विकास र विनाश दुवै निम्त्यायो तर घोडाले युगौंदेखि मान्छेको जीवन सहज बनाउँदै आएको हो ।’ उनका अनुसार घोडा आर्थिक विकास मात्र होइन मनोन्जनका लागि पनि त्यत्तिकै उपयोग हुन्थ्यो । सुदूरका विभिन्न ठाउंँमा अहिले पनि घोडा दौडको चलन कायम नै रहेको उनले बताए ।

कैलालीको सीमापारिको प्रमुख व्यापारिक केन्द्र पलियाबाट सुदूरका पहाडी जिल्लामा औषधिमूलो बोकेर जाने घोडाहरूलाई प्रहरी स्कटिङको व्यवस्था हुन्थ्यो । औषधि बोकेर जाने प्रति १० घोडासँग दुई जना प्रहरी हुन्थे । ‘सरकारी कार्यालयका आवश्यक मालमत्ता र औषधिसँगसँगै ढुवानी गर्ने व्यवस्था हुन्थ्यो, कैलाली गेटाका हंसराज जैसीले भने, ‘दुई पटक पहाडका स्वास्थ्य केन्द्र र अस्पतालमा औषधि ढुवानी गर्ने मैले ठेक्का गरेको हुँ ।’

प्रकाशित : श्रावण २५, २०७९ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?