सुदूरपश्चिम प्रदेशको खर्च ७६ अर्ब २२ करोड- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिम प्रदेशको खर्च ७६ अर्ब २२ करोड

विकास खर्च दर बढ्नुको साटो घट्दै गएको छ
अर्जुन शाह

काठमाडौँ — आर्थिक वर्ष ०७४/७५ देखि ०७८/७९ को अवधिसम्म सुदूरपश्चिम प्रदेश सरकारले ७६ अर्ब २२ करोड ६८ लाख खर्च गरेको छ । त्यस अवधिमा वार्षिक कार्यक्रममार्फत कुल १ खर्ब २० अर्ब ३६ करोड ६८ लाखको बजेट पेस गरेको थियो । तर प्रदेश सरकारको पुँजीगत खर्च भने बर्सेनि घट्दो क्रममा छ । त्यस तुलनामा चालु खर्च भने बर्सेनि बढेको बढ्यै छ ।

आर्थिक वर्ष ०७४/७५ मा खर्च गरेको आंशिक बजेटसहित प्रदेश सरकारले पाँचवटा बजेट खर्च गरिसकेको छ । ती बजेटमा कुल

चालु खर्च प्रतिशत हरेक वर्ष वृद्धि भएको पाइएको छ । तर तुलनात्मक रूपमा विकास खर्च दर भने बढ्नुको साटो घट्दै गएको देखिएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय सुदूरपश्चिमको प्रतिवेदनअनुसार पाँच वटा बजेटको कुल चालु खर्च ३४ अर्ब ९२ करोड १२ लाख छ । तर चालुतर्फको कुल बजेट खर्च भने ५८ अर्ब २६ करोड ४९ लाख थियो । यसै अवधिमा पुँजीगत खर्चसमेत लगभग सोही हाराहारीमा ४१ अर्ब २६ करोड ५६ लाख छ । पुँजीगततर्फको कुल बजेट ६२ अर्ब १० करोड ६८ लाख थियो । खर्च दर भने पुँजीगतको तुलनामा चालुतर्फको बर्सेनि बढेको छ ।

आर्थिक वर्ष ०७५/७६ मा कुल चालु बजेटमा ५१ दशमवल ९१ प्रतिशत खर्च गरेको थियो । ०७६/७७ मा अघिल्लो वर्षभन्दा करिब चार प्रतिशत बढेर ५५ दशमवल ५७ प्रतिशत खर्च भयो । ०७७/७८ मा पहिलो वर्षभन्दा झन्डै १२ प्रतिशत खर्च बढेर ६३ दशमलव ६८ प्रतिशत खर्च गरेको थियो भने गत आर्थिक वर्ष ०७८/७९ मा चालु खर्च ७१ दशमलव ७१ प्रतिशत गरेको थियो ।

त्यही तुलनामा विकास बजेट अर्थात पुँजीगत खर्च भने घटिरहेको देखिन्छ । पहिलो वर्ष ६१ दशमलव ७४ प्रतिशत खर्च रहेकोमा दोस्रो वर्ष ०७६/७७ मा केही बढेको छ । त्यस वर्ष विकास बजेटको ७१ दशमलव ८ प्रतिशत खर्च भएको तथ्यांक छ । त्यसपछिको दुई वटा आर्थिक वर्षमा खर्च ओरालो लागेको छ । ०७७/७८ मा ६९ दशमलव ६२ र गत आर्थिक वर्षमा ६३ दशमलव २२ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ ।

प्रदेश सरकार स्थापनाको दोस्रो आर्थिक वर्ष ०७६/७७ देखि पुँजीगत खर्च घट्न थालेको थियो । गत आर्थिक वर्ष ०७८/७९ मा प्रदेश सरकारले १८ अर्ब ९० करोड २० लाख विकास बजेट विनियोजन गरेकोमा ११ अर्ब ९४ करोड ९७ लाख रुपैयाँ मात्रै खर्च गरेको थियो । चालुतर्फ भने १२ अर्ब ५७ करोड ३५ लाख ९५ हजार बजेट विनियोजन रहेकोमा ९ अर्ब १ करोड ६४ लाख खर्च गरेको थियो । त्यसअघिको आर्थिक वर्ष ०७७/७८ मा पुँजीगततर्फ १८ अर्ब २४ करोड २६ लाख रुपैयाँ विनियोजन भएकोमा १२ खर्ब ७० करोड ७ लाख खर्च भएको थियो । यी दुई आर्थिक वर्षको विकास बजेट खर्चको तुलना गर्दा गत वर्ष १८ अर्ब ९० विनियोजन गरेकोमा ११ अर्ब ९४ करोड खर्च गर्न सक्यो भने अघिल्लो वर्ष १८ अर्ब २४ करोडमा १२ खर्ब ७० करोड खर्च गरेको थियो । आर्थिक वर्ष ०७६/७७ मा विकास खर्चको दर सबैभन्दा बढी देखिएको छ । त्यस वर्ष १३ अर्ब ६ करोड ७२ लाख विनियोजन गरिएकोमा ९ अर्ब २८ करोड ८६ लाख खर्च गरेको थियो ।

पछिल्ला वर्षहरूमा प्रदेश सरकारका निकायहरू जिल्ला तहमा पनि विस्तार भएका र कर्मचारीहरूको संख्या पनि बढ्दै गए पनि विकास बजेट खर्च वृद्धि हुन नसक्नुलाई सरोकारवालाहरू पुरानै प्रवृत्ति रहेको टिप्पणी गर्छन् । कैलाली क्याम्पसका सहप्राध्यापक राजेन्द्रवीर चन्द भन्छन्, ‘राजनीतिक र कर्मचारीयन्त्रको पुरानै मनोवृत्तिकै कारण यस्तो भइरहेको हो ।’

सुरुका वर्षहरूमा विभिन्न बाधाहरू रहेको तर्क गर्नुलाई स्वाभाविक मानिए पनि पछिल्ला वर्षहरूमा चालुतर्फ खर्च बढ्ने तर विकास खर्च नबढ्नुलाई त तर्कसंगत मान्न नसकिने सहप्राध्यापक चन्दको भनाइ छ । ‘त्यसैमा अहिले त विकासे निकायका जिल्लाजिल्लामा पनि योजना कार्यान्वय गर्ने कार्यालयहरू छन् ।’ बीचका दुई वटा आर्थिक वर्षमा कोरोनाका कारण केही प्रभावित भएपनि अघिपछि त्यो अवस्था नरहेको उनको भनाइ छ । हरेक वर्ष सबैभन्दा धेरै विकास बजेट रहने गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका जिल्ला कार्यालयहरूका प्रमुखहरूले प्राविधिक कमीले समयमै योजना कार्यान्वयन गर्न कठिन हुने गरेको बताउँछन् । सोही मन्त्रालयका सचिव तुलसीराम भट्टराईले महालेखाले भुक्तानी प्रणाली असार २५ नै बन्द गरी दिएकाले तयार भएको बिलको भुक्तानीसमेत गर्न नपाउदा पनि पुँजीगत कम देखिएको बताए ।

प्रकाशित : श्रावण २४, २०७९ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्

पाल्पामा भासियो राजमार्ग

सडकको कुनातर्फ डेढ मिटर मात्र बाँकी, हिउँदमा मर्मत हुन्छ : सडक डिभिजन
माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत चौबीसमाइल, झुम्सा र भूतखोलामा अघिल्लो वर्ष भासिएको सडक मर्मत नहुँदै पुनः हिउँदेखोलानजिक यस वर्ष भासिएको छ । केही दिनदेखि तिनाउ गाउँपालिका–५ हिउँदेखोलानजिक ५० मिटर सडक भासिएको हो । भासिएको सडकमा गेग्रानले पुरेर सवारी सञ्चालन गरिएको सडक डिभिजनले जनाएको छ । एक सातायता राजमार्गको तल्लो भागमा सामान्य चर्किएको थियो । निरन्तरको वर्षापछि सडकको अधिकांश भाग नै जोखिममा पर्ने गरी चिरा परेको छ ।

सडकको कुनातर्फ डेढ मिटर मात्र बाँकी रहेर भासिएको सडक डिभिजन कार्यालयका इन्जिनियर महेश्वर लम्सालले जानकारी दिए । उनका अनुसार भासिएको सडकमा गेग्रान माटो भरेर सवारी सञ्चालन गरिएको छ । पानी पर्ने क्रम नरोकिए थप सडक भासिएर आवागमन नै बन्द हुने अवस्था आउन सक्ने उनले बताए । ‘भासिएको केही समय सवारी साधन रोकिए पनि पुनः पुरेर सञ्चालन गरिएको छ,’ उनले भने, ‘अधिक वर्षा भयो भने जोखिम कायमै छ ।’

निरन्तर पानी परेमा पुनः सडक भासिन सक्ने भएकाले राजमार्गमा यात्रा गर्दा सूचना लिएर मात्र यात्रा गर्न सडक डिभिजनले आग्रह गरेको छ । हिउँदेखोलाको माथिल्लो भागमा चुनढुंगा खानी संचालनमा छ । पछिल्लो समयमा अत्यधिक भार बोकेका सवारी साधन संचालन हुने गर्छन् । यस क्षेत्रमा सात वर्षअघि पनि सडक भासिएको थियो । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकअन्तर्गत विभिन्न स्थानमा भासिने र पहिरो खस्ने समस्याले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको बस चालक केशव कुँवरले बताए । वर्षायाममा तानसेनदेखि बुटवलसम्मको यात्रा जहिलेसुकै जोखिमपूर्ण हुने उनको अनुभव छ । यसका लागि सडक डिभिजनले भने सडक सुरक्षामा ध्यान नदिएको चालक कुँवरको गुनासो छ । सडक डिभिजनले भने यस विषयलाई गम्भीरतापूर्वक लिएर काम अघि बढाउने जनाएको छ । ‘हामीले भासिएका स्थानका लागि स्टिमेट गर्ने र हिउँद लागेपछि मात्र मर्मतको काम गर्नेछौं,’ सडक डिभिजनका सूचना अधिकारी लम्सालले भने, ‘यसका लागि विभागमा कुरा भइसकेको छ ।’

राजमार्गको पाल्पा खण्डअन्तर्गत गौडेपुलदेखि चिडियाखोलासम्मका विभिन्न स्थानमा तल्लो भागबाट राजमार्ग भासिन सुरु भएको पाँच वर्ष बढी भइसकेको गुल्मीका जीप चालक कृष्णप्रसाद कँडेलले बताए । ‘राजमार्ग भन्नु मात्र हो जतासुकै जोखिम छ,’ उनले भने, ‘यसका लागि सडक डिभिजनको ध्यान पुग्नुपर्छ ।’ पहाडी हुँदै हिमाली जिल्ला जोड्न सिद्धार्थ राजमार्ग छोटो दूरी पर्छ । सुनौलीबाट पाल्पा, पोखरा हुँदै मुस्ताङसम्मका सवारी साधन यही राजमार्ग भएर गुड्ने गर्छन् । राजमार्गको पाल्पा खण्डको पीपलडाँडा, सिद्धबाबा क्षेत्रको हेडबक्स, पैठेडाँडा, झुम्सा क्षेत्रका भूतखोला, लामेदमार, पानीमिल, सिसुवा, हिउँदेखोला, गिट्टीखानी, २४ माइल, कालीमाटी, गौडेपुललगायत क्षेत्रमा यसअघि नै सडक भासिएको छ । यहाँ २० किलोमिटर क्षेत्र बढी जोखिम छ ।

अघिल्लो वर्षदेखि झुम्सा र पानीमिलको बीच भागमा भासिन सुरु गरेको थियो । अघिल्लो हिउँदमा पहिरोसमेत पन्छाइएन । भासिएका सडककै कारण दैनिकजसो सवारी साधन जाम हुन्छ । कतिपय स्थानमा सडक एकतर्फी छ । मोटरसाइकल चालक केशव जीसीका अनुसार रोकथाम र डाइभर्सनसमेत नबनाएर समस्या थपिएको छ ।

प्रकाशित : श्रावण २४, २०७९ ०८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×