कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सुर्माभवानी जात्रा सुरु

कान्तिपुर संवाददाता

दार्चुला — जिल्लाको अपी हिमाल गाउँपालिकामा मनाइने ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको सुर्माभवानी जात्रा सुरु भएको छ । श्रावण शुक्ल दशमीका दिनबाट सुरु भएको जात्रा सात दिनसम्म चल्छ ।

अपी हिमाल गाउँपालिकाको घाजिर हुँदै बझाङको सुर्मा सरोवरको सीमासम्म यो जात्रा मनाइने गरिन्छ । उच्च हिमशृखंलाको बीचमा अवस्थित सरोवर धार्मिक पर्यटकीय तथा सांस्कृतिक दृष्टिकोणले महत्त्व रहेको स्थानीय बताउँछन् । स्थानीय नरहरि ठेकरेका अनुसार सुर्मा भवानी जात्रा अपी हिमाल गाउँपालिका–३ को क्षेत्ती र घाजिर गाउँमा मनाइन्छ ।

श्रावणको स्नानदान औंसीदेखि जात्रा सुरु हुने ठेकरेले बताए । यो औंसीलाई मान्य औंसी भनिन्छ । बालो वीरेहरूले यसै दिनदेखि छुट्टिएर बस्ने चलन छ । उनले मुख्य जात्रा औंसीको एघारौं दिन एवं शुक्ल एकादशीबाट सुरु हुन्छ । सुर्माभवानी जात्रा एघारौं शताब्दीबाट सुरु भएको मानिन्छ । सुर्माभवानीको जात्रा क्षेत्तीबाट सुरु हुँदै घाजिर र सुर्मासरोवरमा पुगी फेरि त्यहाँबाट फर्केर क्षेत्तीमै आएर टुंगिने उनको भनाइ छ । ‘सुर्मासरोवर हिमालको काखमा छ । सोही सरोवरमा माता सुर्माभवानी विराजमान रहेको जनविश्वास छ,’ ठेकरेले भने, ‘सुर्मासरोवर दार्चुला र बझाङ जिल्लाको सिमानामा ६ हजार ५२३ मिटर उचाइमा पर्छ ।’

सुर्माभवानीको जात्रामा सहभागी व्रतालुलाई चार भागमा विभाजन गर्ने गरिएको छ । स्थानीय रामसिह बोहराका अनुसार जात्रामा सहभागीलाई उवादेशी, उनादेशी, जत्तोर र वाइदेशी अर्थात् तीर्थालु भनेर छुट्याइन्छ । जात्रामा सहभागी क्षेत्तीगर्खा पुर्ख्यौली घर भएका, ठेकरे, बोहरा, धामी, वैरे समुदायका यात्रुलाई उवादेशी, घाजिरगर्खाका यात्रुलाई उनादेशी, रोकाया, कार्की तथा खण्डेश्वरीभित्रका यात्रुलाई वाइदेशी भनिन्छ । जात्रामा पहिलोपटक सहभागी भएकालाई बालोबिरे र दोस्रोपटक सहभागी हुनेलाई बूढोवीरे भन्ने चलन रहेको उनले जानकारी दिए ।

जात्रामा सहभागी हुनेले निगालोको लौरो बोक्ने चलनसमेत छ । सहभागीले श्रुतिमा आधारित भाडीखेल, ढुस्को, जगरम, भलौलो लगायतका गीत गाउने गर्छन् । यी श्रुतिमा आधारित सिर्जनामा भगवतीको पूजाअर्चना गरिन्छ । ‘सुर्माभवानीको जात्रामा परम्परागत भेषभूषामा सजिएर जाने र विभिन्न गाथा गाउने गर्छौं,’ स्थानीय जनक ठेकरेले भने, ‘सुर्माभवानीको उपासना गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।’ सुर्मासरोवर पुगेमा मानसरोवर पुगे बराबरको पुण्य प्राप्ति हुने जनविश्वास रहिआएको बुढापाका बताउँछन् ।

पर्यटकीय धार्मिक एवं सांस्कृतिक रूपका विविधताहरू जात्रामा देख्न सकिन्छ । जात्रा अवधिभर क्षेत्तिली संस्कृतिको पहिरन, नृत्य, देउडा, बाजागाजासहित जात्रामा रमाउँछन् । जात्राको पहिलो दिन (रतेडीमा) उवादेशी यात्रीहरू क्षेत्तीमा जम्मा हुन्छन् । उनादेशी, जत्तोर र बाइदेशीहरू घाजिरमा पुग्ने गर्छन् । राति सुर्माभवानीको मन्दिरमा जम्मा भएर सबै देवीदेवताहरूको पूजाआजा गरी धामीझाँक्रीहरू चल्ने र रमाइलो गर्ने हुँदा यसलाई स्थानीय भाषामा देउधमेउलो गर्ने भनिन्छ ।

प्रकाशित : श्रावण २४, २०७९ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?