१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

दार्चुलामा कोरोना संक्रमित बढ्दै

मनोज बडू

दार्चुला — भारतसितको सीमावर्ती दार्चुलामा कोरोना संक्रमण बढ्न थालेको छ । एक साताको अवधिमा जिल्लामा ९ जना कोरोनाका संक्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दार्चुलामा कोरोना संक्रमित बढ्दै

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्ला अस्पतालमा ५ जना, मालिकार्जुनको भगवती स्वास्थ्य चौकीमा २ र गोकुलेश्वरमा २ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार ९ संक्रमितमध्ये एक जना ४६ वर्षीय महिला जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत छन् । उनले कोरोनाको लक्षण देखिएका सबैलाई स्वास्थ्य संस्थाहरूमा परीक्षण भइरहेको बताए । यही साताबाट जिल्लाको भारतसित सीमा जोडिएको सदरमुकामस्थित पुलघाट नाकामा जिल्ला भित्रिने मानिसहरूको नियमित स्वास्थ्य चेकजाँच भइरहेको छ ।

जिल्लाका महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित छन् । साउन १५ र १६ गते जिल्ला अस्पतालमा गरिएको परीक्षणमा महाकाली नगरपालिकामा एक महिलासहित ५ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कार्कीले जानकारी दिए । भारतबाट सोझै जिल्ला भित्रिने हुनाले जिल्लाको कोरोना संक्रमणको जोखिम धेरै रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य संस्थामा आउने कोरोनाका लक्षण देखिएका बिरामीलाई परीक्षण गर्न सबै स्वास्थ्य संस्थाहरूमा किट उपलब्ध रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जुनसुकै व्यक्तिलाई कोरोनाको लक्षण देखिएको स्वयम् आफैं आएर स्वास्थ्य संस्थामा परीक्षण गर्न स्वास्थ्यकर्मीहरूले अनुरोध गरेका छन् । भारतमा कोरोना संक्रमण बढ्दो क्रममा रहेको हुनाले गाउँ फर्कने सबैले कोरोना परीक्षण गरेर मात्र गाउँ पस्ने स्वास्थ्य चौकी दत्तुका स्वास्थ्यकर्मी मोहनसिंह महराले बताए । भारतको कोरोना उच्च संक्रमण भएको ठाउँबाट आउने मानिसहरू सिधै गाउँ पस्न थालेका हुनाले सीमामा निगरानी बढाउनुपर्ने उनको भनाई छ ।

स्वास्थ्यका मापदण्ड अपनाउन प्रशासनको आग्रह

कोरोनाको संक्रमण बढ्न सुरु भएपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा अपनाउन आग्रह गरेको छ । बिहीबार सूचना जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले सीमा क्षेत्र, बढी जमघट हुने क्षेत्रमा सतर्कता अपनाउन नागरिकलाइ अनुरोध गरेकी हुन् । प्रशासनले जारी गरेको सूचनामा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न र सरोकारवाला निकायलाई स्वास्थ्यका मापदण्ड अपनाउन भनिएको छ । भीडभाडमा नजान, घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा परीक्षण गर्न आग्रह गरिएको छ । कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेको भएमा नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउनसमेत प्रशासनले आग्रह गरेको सूचनामा उल्लेख छ ।

सूचनामा सेवाग्राहीहरूको भीडभाड हुने सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अन्य निकायहरू सेवा प्रदायक तथा सेवाग्राहीहरूले मास्कको प्रयोगलाई अनिवार्य गर्न भनिएको छ । सेवा प्रदायक कार्यालयहरूले सेवा प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ ।

यस्तै, जिल्लाभित्र सञ्चालन गरिने गोष्ठी, सेमिनार, बैठकजस्ता भीडभाड हुने कार्यक्रमहरूमा मास्कको प्रयोगलाई अनिवार्य र सेनिटाइजरको व्यवस्था मिलाउन प्रशासनद्वारा जारी गरिएको सूचनामा भनिएको छ । विद्यालय, क्याम्पस, धार्मिक स्थल, भीडभाड हुने व्यावसायिक तथा मनोरन्जन स्थलहरूमा पनि मास्कको प्रयोग गर्न भनिएको छ ।

प्रकाशित : श्रावण २४, २०७९ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?