कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोजर प्रयोगले पहिरोको जोखिम उच्च

कतिपय स्थानीय तहले बिनायोजना उपभोक्ता समितिमार्फत अनुमानका भरमा सडक निर्माण गरिरहेका छन्
मेनुका ढुंगाना

अछाम — मनसुनको पहिलो झरीमै अछामका ग्रामीण सडकहरू बन्द भएका छन् । स्थानीय तहको प्राथमिकतामा सडक नै परेपछि प्रत्येक टोलटोलमा वातावरणीय प्रभाव अध्ययन नगरी बनाइएका सडकले पहिरोको जोखिम पनि निम्त्याएको छ ।

डोजर प्रयोगले पहिरोको जोखिम उच्च

वर्षात्का कारण कच्ची बाटो भत्किएर हिलाम्मे मात्रै भएका छैनन् । सडकलाई नै पहिरोले बगाएको छ । गाउँगाउँमा सडक पुर्‍याउने मुख्य योजना बनाएका अछामका स्थानीय तहको होडबाजीले आर्थिक वर्ष सकिन केही समय रहँदा पनि जथाभावी डोजर चलाउन छोडेका छैनन् । कतिपय स्थानीय तहले बिना योजना उपभोक्ता समितिमार्फत अनुमानका भरमा सडक निर्माण गरिरहेका छन् । कतिपय ठाउँमा प्राविधिक बिना नै सडक बनेका छन् ।

अछामका स्थानीय तहले सडकलाई प्राथमिकतामा राखेर ट्र्याक खोल्न सुरु गरेपछि जथाभावी डोजर चल्न थालेका हुन् । नयाँ सडक निर्माण मात्रै होइन, पुराना सडकको मर्मतमा पनि डोजरकै प्रयोग भइरहेको छ । तर, कुनै पनि स्थानीय तहले डोजर प्रयोगको मापदण्ड भने बनाएका छैनन् । ‘कतिपय जनप्रतिनिधिका आफ्नै डोजर छन् ।

आफ्नो फाइदाका लागि जथाभावी प्रयोग गरिरहेका छन् । पानीका मुहान सुक्ने, बाढी पहिरो जाने जस्ता वातावरणलाई असर पार्ने कुरामा उनीहरूको ध्यान छैन,’ एक कर्मचारीले भने ।

मंगलसेन नगरपालिकाभित्र करिब ७२ किलोमिटर ग्रामीण सडक रहेको इन्जिनियर खम्म केसीले बताए । उनका अनुसार धेरैजसो सडक वर्षाबाहेकको समयमा सुचारु हुन्छन् । ‘ग्रामीण सडकमा नाली छैनन् । नाली भएन भने वर्षामा सडक सुचारु हुन सक्दैन,’ उनले भने, ‘आगामी आर्थिक वर्षदेखि नगरका सबै ग्रामीण सडकमा नाली बनाउँछौं ।’

विस्तृत प्राविधिक अध्ययनबिनै निर्माण भएपछि सदरमुकामबाट ग्रामीण भेगमा पुग्ने अधिकांश सडक कोही पहिरोले भत्किएर त कोही कच्ची बाटोमा हिलाम्मे भएर अवरुद्ध भएका हुन् । कतिपय स्थानहरूमा साविकको भाडादरभन्दा झन्डै दोब्बर भाडा तिर्नुपर्ने बाध्यता भएका कारण पनि यात्रुहरू बढी मारमा पर्नुपरेको रामारोशन गाउँपालिका ६ भाटाकाटियाका एकेन्द्र साउदले बताए ।

‘मान्छेले खनेर बाटो बनाएकाले मंगलसैनबाट मुजाबगर हुँदै साविकको रामारोशनसम्म मात्र गाडी जान्छ,’ भाटाकाटियाका महेन्द्र साउदले भने, ‘मंगलसेनबाट ७ घण्टा पैदल यात्रा गर्नुपर्छ । जंगलको बाटोमा एक्लै हिँड्दा असुरक्षित महसुस हुन्छ ।’

डोजर प्रयोग गरेर निर्माण गरीएका सडकमा पहिरो जाने र अन्धाधुन्ध निर्माण गरीएकाले गाडी नचल्ने गरेको स्थानीयको गुनासो छ । ‘डोजर प्रयोग गर्नुभन्दा बेरोजगार युवाहरूलाई परिचालन गरेर सडक निर्माण गर्नुपर्छ भनेर आवाज उठाउदा कसैले सुन्दैनन्,’ साउदले भने, ‘डोजर प्रयोग गरेको एक महिनामा नै पहिरो जान सुरु हुन्छ ।’

असारबाट गाडी चल्न बन्द हुने ग्रामीण सडक असोजमा मात्रै फेरि सञ्चालनमा आउँदा बिरामी, गर्भवती, बालबालिका र वृद्धवृद्धालाई उपचारमा समस्या हुने गरेको स्थानीयको गुनासो छ । ‘राम्रो उपचारका लागि बयलपाटा अस्पताल आउनुपर्छ । त्यहाँ पुग्न एक दिन पुरै लाग्छ,’ भाटाकाटियाकी भूमिका साउदले भनिन्, ‘आपत्कालीन अवस्थाका बिरामको त ज्यान नै जोखिममा हुन्छ ।’

स्थानीय तहले कहाँ सडक बनाउने, कहाँ कुन साधनको प्रयोग गर्ने भन्ने मापदण्ड बनाएको छैन । अझ कतिपय सडक त प्राविधिकहरूले अध्ययन नगरी नै खनिएका छन् । ‘थुप्रै सडक बिना मापदण्ड खनिएका छन् । सडकमा मनपरी छ, जथाभावी भइरहेको देखिन्छ,’ जिल्ला समन्वय समितिका प्रमुख ललित कुवँरले भने । उपभोक्ता समितिलाई यसबारेमा जानकारी नभएकाले पनि समस्या भएको उनको भनाइ छ ।

नयाँ सडक निर्माण र डोजरको प्रयोगमा कडाइ गरिने उनले बताए । ‘अब नयाँ सडक निर्माण गर्दा मापदण्डबिना ट्र्याक नै खोल्न नदिने योजना बनाउने तयारी भइरहेको छ,’ उनले भने । यसअघि जथाभावी खनिएका सडकलाई पनि सडक मापदण्डबमोजिम पुनर्निर्माण गर्न लगाउने उनको भनाइ छ । ट्र्याक खोल्न र जथाभावी डोजर चलाउँदा विनाश भइरहेको उनले बताए । ‘अब पूर्वअध्ययन नगरी कुनै पनि ठाउँमा सडक खन्न र डोजर लगाउन दिने छैनौं,’ उनले भने ।

प्रकाशित : श्रावण २२, २०७९ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?