१६ वर्षपछि दार्चुलामा खाद्य कार्यालय- सुदूरपश्चिम - कान्तिपुर समाचार

१६ वर्षपछि दार्चुलामा खाद्य कार्यालय

मनोज बडू

दार्चुला — बर्सेनि खाद्य संकट बेहोर्दै आएको जिल्लामा १६ वर्षपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार कम्पनीको कार्यालय उद्घाटन गरे ।

२०५० सालमा तत्कालीन खाद्य संस्थानको कार्यालयका जिल्लामा सञ्चालन भएर जिल्लाको दुई ठाउँबाट खाद्यको चामललगायतका खाद्य सामग्री वितरण गरिँदै आए पनि २०६३ सालमा बन्द हुन पुगेको मन्त्री बडूले बताए । जिल्लाको अधिकांश ठाउँमा थोरै मात्र उत्पादन हुँदा स्थानीयले बर्सेनि खाद्यको संकट बेहोर्छन् । ‘जिल्लामा यसअघि ५ ठाउँबाट खाद्यान्न वितरण हुने गरेको थियो,’ उनले भने, ‘चालु आर्थिक वर्षबाट १२ ठाउँको डिपोबाट खाद्यान्न वितरण हुनेछ ।’

ती डिपोहरूमा खाद्यान्न आपूर्ति गर्न गोदामसहित कम्पनीको कार्यालय संचालन गरिएको उनको भनाई छ । कम्पनीको कार्यालयले चामल गहु मात्र जिल्लामा वितरण गर्ने मात्र नभई यहाँको उत्पादन जिल्ला बाहिरका बजारमा पुर्‍याउन सहयोग गर्छ । यसका लागि यहा उत्पादन बृद्धि गर्नुपर्ने मन्त्री बडूले बताए । उनले कम्पनीको स्थापनापछि खाद्यान्न आपूर्ति मात्र नभई यस क्षेत्रको उत्पादनलाई बजारीकरण गर्न समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । कम्पनीले दुर्गम जिल्लामा चामल उपलब्ध गराउनुपर्ने र यहा उत्पादन गरिने खाद्यबस्तु जिल्ला बाहिर पठाउने उद्देश्य अनुसार कार्यालय स्थापना गरिएको हो ।

कार्यालय सदरमुकाम खलंगामा रहने र जिल्लाका १२ डिपोबाट खाद्यान्न वितरण गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले बताए । टिंकर, घुसा, सितोला, नागु र कुणी गरी पाच स्थानमा नया बिक्री केन्द्र थपिएको कम्पनीले जनाएको छ । बिक्री केन्द्रहरूमा मोटो र मसिनो चामल उपलब्ध गराइने योजना छ ।

सदरमुकाम खलंगामा मोटो चामल प्रतिकिलो ४५ रुपैया र जिरा मसिनो चामल ६६ रुपैया प्रतिकिलोमा उपलब्ध गराउने कम्पनीको तयारी छ । सबै विक्री केन्द्रसम्म चामल ढुवानी गर्नग ठेक्का प्रक्रिया अघि बढाइएको छ । दशैंअघि नै सबै स्थानमा चामल उपलब्ध गराइने कम्पनीले जनाएको छ । त्यस्तै, ब्यास गाउपालिका–१ को छाङरु र टिंकरमा नेपालबाट पैदलमार्ग समेत नभएकोले त्यहाँ खाद्यान्न आपूर्ति गर्न हेलिकप्टर प्रयोग गर्नुपर्ने बाध्यता भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले बताए ।

प्रकाशित : श्रावण २२, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्

गर्मी छल्न तीनजुरेमा

कान्तिपुर संवाददाता

तेह्रथुम — गर्मी बढेपछि पूर्वी तराईका स्थानीय शीतलताको खोजीमा तीनजुरेको डाँडा उक्लिन थालेका छन् । प्रदेश सरकारले ४० लाख रुपैयाँको लागतमा स्थानीय पाथीभरा मन्दिरलाई पुनर्निर्माण गरी आकर्षक बनाएपछि गर्मी छल्न र दर्शन गर्न आउनेको भीड बढेको छ । 

बिर्तामोड, भद्रपुर, इटहरी, विराटनगर, जोगवनी, धरान, इनरुवालगायतबाट दैनिक सयौं आउने गरेको स्थानीय युवराज खड्काले बताए । लालीगुराँस–१ का वडाध्यक्ष दानबहादुर खड्काका अनुसार आन्तरिक पर्यटकको गन्तव्यको रुपमा तीनजुरेको विकास भइरहेको छ ।

तराई–मधेसबासीको आकर्षणले यहाँको होटल व्यवसाय पनि भरिभराउ छ । केही दिनका लागि भए पनि शीतलमा बस्न आएको झापाका राजेन्द्र सुवेदीले वताए । सुनसरीको इटहरीबाट धरान, धनकुटा, हिले, सिंधुवा, वसन्तपुर हुँदै तीनजुरे पुगिन्छ ।


प्रकाशित : श्रावण २२, २०७९ ०७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×