१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

खण्डहर बन्दै ऐतिहासिक दरबार

मानिस बस्न छोडेपछि भोपुर दरबारभित्रका कोठा, खोपी र बैठक कक्षको सिलिङका काठ खसिसकेका छन्
वसन्तप्रताप सिंह

बझाङ — बझाङमा रहेका तत्कालीन बझाङी राजाका दरबारहरू अलपत्र छन् । जिल्लाको ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेका केही दरबार जीर्ण र धेरैजसो भग्नावशेषमा परिणत भइसकेका छन् ।

खण्डहर बन्दै ऐतिहासिक दरबार

संरक्षणका हिसाबले महत्त्वपूर्ण दरबारहरू बेवारिसे छोडिएको प्रति स्थानीयहरू चिन्तित छन् । बझाङ राज्यको प्रादुर्भाव भएको स्थानको रूपमा परिचित व्यासीकोट दरबार यिनैमध्येको एक हो । तत्कालीन बझाङ राज्यसम्बन्धी विभिन्न शिलालेख, प्राचीन मूर्तिलगायतका विभिन्न पुरातात्त्विक र ऐतिहासिक सामग्रीसमेत रहेको उक्त दरबार अहिले बेवारिसे छ ।

करिब ७ सय ७३ वर्षभन्दा पहिले (विसं १५०२ तिर) तत्कालीन बझाङी राजा शक्ति सिंहले उक्त दरबार निर्माण गर्न लगाएको विभिन्न शिलालेखहरूमा उल्लेख छ । साविक व्यासी गाविसको चौधानपाटा नजिकैको कोट डाँडामा रहेको उक्त दरबार बझाङ जिल्लाको नामाकरण सँग पनि जोडिएको छ । यो दरबार रहेको डाँडामा पटक–पटक बज्रपात हुने भएकाले यस ठाउँलाई बज्राङ भनिएको र कालान्तरमा यही शब्द अपभ्रंश भएर यस जिल्लाको नाम बझाङ हुन गएको विभिन्न इतिहासकारहरूले दाबी गरेका छन् । यो डाँडाको मुनि सुन, अभ्रख, सितोपल, तामा र चुम्बकीय शक्ति भएका खनिजहरू रहेकाले चट्याङ पर्ने गरेको सेती अञ्चलको इतिहासबारे पूर्णप्रकाश नेपाल ‘यात्री’ ले लेखेको पुस्तक सेती अञ्चल दिग्दर्शनमा उल्लेख छ ।

बझाङमै निर्मित इँटा (स्थानीय भाषामा पउ) द्वारा बनाइएको यो दरबार सुरुमा २५ कोठाको रहेको र १९९० सालको भूकम्पले क्षति गरेपछि तत्कालीन राजा देवीजंग सिंहले पुनर्निर्माण गरी १० कोठाको बनाएको स्थानीय बुढापाकाहरूको भनाइ छ । २०२३ सालमा आएको भूकम्पले हल्लाएपछि १० कोठे उक्त दरबारका केही भित्ताहरू चर्किएका थिए । २०५७ मा तत्कालीन विद्रोही माओवादी दरबारमा आगजनी गरेर त्यहाँ भएका केही धातुका मूर्तिहरूसमेत लुटेर लगेको दरबारको नियमित रेखदेख गरिरहेका स्थानीय इन्द्रबहादुर सिंहले बताए ।

भूकम्पमा परी भत्किएको उक्त दरबार संरक्षणका लागि २०५६ सालतिर स्वर्गीय राजा वीरेन्द्रकी बहिनी तथा बझाङी राजा दीपकजंगकी धर्मपत्नी शान्ति सिंहले व्यक्तिगत रूपमा ६ लाख खर्च गरेर जीर्णोद्धार गर्न लगाएका थिए । त्यसबेला दरबारको छानामा रहेका स्लेटहरू हटाएर जस्तापाता हालिएको थियो ।

‘अहिले त झ्याल ढोकाहरू पनि भत्किसकेका छन्,’ सिंहले भने, ‘बाहिर रहेका शिलालेखमा समेत लेउ लागेर पुरिने अवस्थामा पुगेका छन् । यसको संरक्षणप्रति कसैको ध्यान गएको छैन,’ दरबारको जीर्णोद्धार नभए पनि छविसपाथीभेरा गाउँपालिकाले यो दरबार रहेको क्षेत्रलाई तारबार लगाएर संरक्षणको प्रयास गरेको छ ।

औसीं पूर्णिमाको बेला कोही कोही पूजा गर्ने मानिस यहाँ आए पनि अरुवेला कसैले वास्ता नगर्ने उनले बताए । यस दरबारको चारै तिर भगवती, ब्रजेश्वर, महादेव, मष्टा, कालाढुङ्गो लगायतका विभिन्न देवी देवताको मन्दिर छन् । कोट दरबारमा प्रत्येक वर्ष चैतेदशैं, गौरापर्व र बडा दशैंमा पूजाआजा गर्ने प्रचलन छ ।

बझाङी राजाहरूले यही दरबारबाट करिब चार सय बर्षसम्म राज्य संचालन गरेको विभिन्न अभिलेखहरूमा उल्लेख छ । मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहले समेत केही समय यही दरबारमा राज्य सञ्चालन गरेका थिए ।

उक्त कोट दरबारमा १९७० देखि १९९० सम्म राजा देवीजङ्ग बहादुर सिंहले बझाङ राज्यको राजधानी स्थापना गरी शासन गरेको अभिलेख पाइन्छ । १९९५ मा राजा देवीजङ्ग बहादुर सिंहको मृत्युपछि १९९६ मा उनका जेठा छोरा रामजङ्ग सिंहले सोही दरबारमा मालपोत, कारागार, अदालत स्थापना गरी राज्य सञ्चालन गरेको ७५ वर्षीया स्थानीय प्रेम बहादुर सिंहले बताए ।

अग्लो ठाँउमा रहेको यो दरबार पाथिभेरे हिमाल, सुर्मालेक, नाम्पा हिमाल लगायतका हिमश्रृङखलाको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । हालको छबिसपाथिभेरा, दुर्गाथली, थलारा, सुर्मा गाँउपालिका र जयपृथ्वी नगरपालिकाको दृश्य समेत देखिने डाँडामा रहेको यो दरबारको जिर्णोद्धार गरि संरक्षण गर्न सके पर्यटनको केन्द्रको रुपमा पनि विकास गर्न सकिने स्थानीय बताउछन ।

भग्नावशेष बन्दै भोपुर दरबार

हाल अस्तित्त्वमा रहेको र संरक्षण नगरिए केही बर्ष भित्रै भग्नावशेष हुन लागेको अर्कार् ेपुरातात्त्विक महत्त्वको दरबार हो भोपुर दरबार । केही बर्ष अघिसम्म नेपाली सेनाले प्रयोग गर्दै आएको उक्त दरबार छोडेर सेनाको टुकडी नयाँ भवनमा सरेपछि दरवार अलपत्र परेको हो । मानिस बस्न छोडेपछि दरबार भित्रका कोठा, खोपी र बैठक कक्षको सिलिङका काठ खसिसकेका छन् । ग्यालरी र बरण्डामा ठूलाठूला भ्वाङ परेका छन । भित्ताहरू खुइलिएर दरबारको स्वरुप नै विग्रने अवस्थामा पुगेको छ । झ्यालको काठहरू पनि कुहिन लागेको छ । विभिन्न ठाउँमा लगाएको गारो खसेको छ । छाना चुहिने भएका कारण यो दरवार भत्किने अवस्थामा पुगेको छ ।

तत्कालीन बझाङी राजा देविजंङ बहादुर सिंहले विक्रम सम्वत १९९० सालमा निर्माण सुरु गरेर १९९५ सालमा निर्माण सम्पन्न गरेको यो दरबार उनका छोरा ईश्वरजंगबहादुर सिंहको नाममा रहेको थियो । ईश्वरजंग अपुताली पछि उनका आफन्तहरूले २०४० साल तिर यो दरबार नेपाल सरकारलाई बिक्री गरे । यस दरबारमा २०४५ सालमा तत्कालीन शाही नेपाली सेनाको व्यारेक बसेको थियो ।

२०५८ सालमा सुरक्षाको कारण देखाउदै सेनाको व्यारेक हेमन्त्त्वाडा सरे पछि दरबार बेवारिसे जस्तै बनेको थियो । २०६० सालमा तत्कालीन विद्रोही माओवादीले दरबारमा आगजनी समेत गरेका थिए । यद्यपी स्थानीयले आगो नियन्त्रण गरेका कारण एउटा कोठा बाहेक अन्यत्र क्षति हुन भने पाएको थिएन । आगलागीबाट क्षति भएको भागसमेत अहिले उस्तै छ ।

२०६३ सालमा शान्ती सम्झौता भएपछि नेपाली सेनाको एउटा टुकडी पुन भोपुरमा बस्न थालेको छ । दरबार जीर्ण भैसकेका कारण त्यहाँ बस्न नमिल्ने भए पछि सेना नयाँ भवनमा बस्न थालेको हो । ‘तत्काल जीर्णोद्धार भएन भने यो दरबार भत्किने अवस्थामा पुगेको छ’ जयपृथ्वी नगरपालकिाका इन्जिनियर लालबहादुर थापा भन्छन्, ‘छाना र दरबारका काठहरू सबै कुहिएर खतम भएका छन् ।’

१९९० सालको महाभूकम्पबाट त्रसित राजा देविजंङले भारतको कलकत्ताबाट इन्जिनियर र मिस्त्रीहरू ल्याएर यो भवनको निर्माण गर्न लगाएको बझाङी राजाको इतिहास बारे अध्ययन गरेका पुर्वप्राध्यापक विष्णु भक्त शास्त्रीले बताए । ‘भूकम्पबाट डराएका राजाले यो भवन निकै बलियो हुने गरी निर्माण गर्न लगाएको देखिन्छ’ उनले भने ‘भवनको जग मात्र एउटा बाँस डुब्ने गरी खन्न लगाएको दरबार निर्माणमा संलग्न बुढापाकाहरूले भनेको सुनिन्छ ।’

प्रकाशित : श्रावण २२, २०७९ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?