दार्चुलामा खाद्यको शाखा कार्यालय उद्घाटन- सुदूरपश्चिम - कान्तिपुर समाचार

दार्चुलामा खाद्यको शाखा कार्यालय उद्घाटन

मनोज बडू

दार्चुला — उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयको उद्घाटन गरेका छन् ।
शनिबार जिल्ला सदरमुकाम खलंगामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आयोजना गरेको कार्यक्रममा मन्त्री बडूले जिल्ला शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

कम्पनीले दुर्गम जिल्लामा चामल उपलब्ध गराउनुपर्ने र यहाँ उत्पादन गरिने खाद्यवस्तु जिल्ला बाहिर पठाउने व्यवस्था गरिएको मन्त्री बडूले बताए । 'यहाँ उत्पादित चिजको ब्राण्ड बनाएर जिल्ला बाहिरको व्यापारमा पठाउनुपर्छ', उनले भने । त्यसको लाभ किसानले पाउनुपर्ने उनको भनाइ छ ।

२०६३ सालमा विस्थापन भएको तत्कालीन खाध्य संस्थानको जिल्ला कार्यालय १९ वर्षपछि पुन:स्थापना गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनिले जनाएको छ । कम्पनीका अनुसार खाध्य कार्यालय जिल्लामा रहने र जिल्लाका १२ ठाउँबाट खाद्यान्न वितरण गरिने छ ।

जिल्लाका विभिन्न ठाउँमा खाद्यका डिपो भएपनि धनगढीबाट खाद्यान्न आपूर्ति गर्दै आएको हुनाले जिल्लामै शाखा कार्यालय खोलिएको हुनाले आपूर्तिमा सहज हुने भएको छ । कम उत्पादन हुने यहाँका दुर्गम ठाउँका स्थानीय बर्सेनि खाद्य संकट बेहोर्दै आएका छन् ।

प्रकाशित : श्रावण २१, २०७९ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्

विचार मिल्ने शक्तिसँग चुनावी गठबन्धन गर्छौं : भट्टराई

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विचार मिल्ने शक्तिसँग चुनावी तालमेल र गठबन्धन गर्नुपर्ने बताएका छन् । जनता समाजवादी पार्टीबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन भएपछिको पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै भट्टराईले आगामी चुनावी रणनीति तय गर्नुपर्ने बताएका हुन् । 

काठमाडौंमा आयोजित नेपाल समाजवादी पार्टीको केन्द्रिय समिति बैठकमा भट्टराईले चुनावी रणनीति बनाउन लाग्नपर्नेमा जोड दिए । 'एक्लै अगाडि बढेर हुन्छ या विचार मिल्ने नजिकका शक्तिसँग मिलेर हुन्छ भन्ने विषयमा विचार विमर्श गरेर जानेछौं,' उनले भने, 'निर्वाचनका निम्ति सम्भव भएसम्मका नजिकका, विचार मिल्ने शक्तिहरूसँग चुनावी तालमेल गठबन्धनका लागि प्रयास गर्नुछ ।'

भट्टराईले नयाँ पार्टीलाई देशव्यापी बनाउनका लागि नेता र कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । स्थानीय तहसम्म नै पार्टीलाई पुर्‍याउन र नयाँ मतदातालाई आकर्षित गर्नुपर्ने उनको भनाइ थियो । निर्वाचनको मुखमा गठन भएको पार्टीले कस्तो प्रदर्शन गर्ला भन्न नसकिने धारणा राख्दै उनले सत्तामात्रै नभएर सदन र सडकबाट पनि समाज परिवर्तनका लागि लाग्न आग्रह गरे ।

त्यस्तै, भट्टराईले जनता समाजवादी पार्टी जातीवादी र क्षेत्रीय भएको बताए । उपेन्द्र यादव नेतृत्वको पार्टीले जातीय र क्षेत्रीय संकृणताबाट माथि उठेर जनताका मुद्दा उठाउन नसक्ने भट्टराईको भनाइ थियो । 'जनता समाजवादी पार्टी पनि प्रकारान्तरले पुरानै पार्टी हुन पुग्यो । नेतृत्वमा रहेका मानिसहरू क्षेत्रगत, जातीगत संकीर्णताभन्दा माथि उठेर जनताको हित गर्न सकेन । त्यो पार्टीलाई रुपान्तरण गर्ने अवस्था देखेनौं । त्यसपछि रुपान्तरणको केही सम्भावना हुन्छ कि भन्ने अन्तिम प्रयास गरियो । रुपान्तरणको कुनै संकेत देखाएनन् । पार्टीलाई विघटन र बिसर्जनको दिशातिर गएपछि, जनता समाजवादी पार्टी क्षेत्रीय दलको रूपमा पतन भएको छ, त्यसले देशको कार्यभार पूरा गर्न सक्दैन भन्ने भएपछि नेपाल समाजवादी पार्टी निर्माण गरेका छौं,' उनले भने ।

जारी केन्द्रीय समितिबाट नेपाल समाजवादी पार्टीलाई वैधानिकता दिइने र मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कोसँग तालमेल र गठबन्धन गर्ने भन्ने तय हुने भट्टराईले बताए । समावेशिता, सुशासन, समृद्धि हासिल गर्नका लागि आफूले अगाडि सारेको राजनीतिक एजेन्डा नै महत्त्वपूर्ण रहेको उनको दाबी थियो ।

प्रकाशित : श्रावण २१, २०७९ १४:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×