कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नाकामा संक्रमित बढे

भवानी भट्ट

कञ्चनपुर — भारतबाट घर फर्किनेमा कोरोना संक्रमण बढ्दै गएको छ । केही दिनयता भारतबाट घर फर्किनेमा ४/५ प्रतिशतभन्दा बढीमा संक्रमण देखिन थालेको हो । मंगलबार मात्रै गड्डाचौकीमा १९ जनामा संक्रमण देखिएको छ ।

नाकामा संक्रमित बढे

भारतबाट घर फर्किनेमध्ये ४ सय ५८ को एन्टिजेन परीक्षण गर्दा १४ पुरुष र ५ महिलामा संक्रमण देखिएको हो । सोमबार पनि नाकामा २ सय ३८ जनाको परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको थियो । साउन सुरु भएदेखि नै भारतबाट घर फर्किने बढी संक्रमित देखिन थालेका हुन् । यो सातामात्रै आइतबार ९ जनामा र शनिबार १५ जनामा संक्रमण देखिएको गड्डाचौकीस्थित हेल्थ डेस्कका स्वास्थ्यकर्मीले बताएका छन् ।

साउनयता मात्रै नाकामा ९५ जनामा संक्रमण देखिएको छ । असारमा १९ जनामा संक्रमण देखिएको थियो । ‘संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ, भारतबाट फर्किनेमध्ये धेरैमा संक्रमण देखिन थालेको छ,’ गड्डाचौकीस्थित हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट विशाल भट्टले भने, ‘दुई/तीन दिनयता संक्रमणको दर निकै बढेको छ ।’ उनका अनुसार अहिले भारतको दिल्ली र सिमलाबाट फर्किने बढी मात्रामा संक्रमित देखिएका छन् ।

भारतमा संक्रमणको दर दिनहुँ बढ्दै गइरहेको छ । यसकै कारण विभिन्न क्षेत्रबाट फर्किनेमा पनि संक्रमण देखिन थालेको हो । केही दिनअघिसम्म नाकामा लक्षण देखिएका, शंकास्पद र प्रभावित क्षेत्रबाट आउनेको मात्रै परीक्षण गरिन्थ्यो । भारतमा संक्रमण बढेसँगै घर फर्किने सबैको परीक्षण सुरु भएको छ । ‘अधिकांशमा ज्वरो र रुघाको समस्या देखिएको छ, तर सबै लुकाएर केही नभएको भन्दै भाग्न खोज्छन्,’ हेल्थ असिस्टेन्ट भट्टले भने, ‘अधिकांशमा लक्षण देखिन थालेपछि घर फर्किने सबैको परीक्षण सुरु गरिएको छ ।’ उनका अनुसार अहिले दैनिक ४/५ सयको संख्यामा नेपाली घर फर्किने गरेका छन् ।

नाकामा संक्रमण देखिएकालाई एम्बुलेन्समार्फत महाकाली प्रादेशिक अस्पताल पुर्‍याइने गरिएको छ । तर अस्पतालबाट होम आइसोलेसनमा बस्ने गरी वडा कार्यालयको सिफारिसमा घर पठाउँदा र होम आइसोलेसनमा बस्दा स्वास्थ्य मापदण्ड पालना नहुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । यसले समुदायमा संक्रमण तीव्र गतिमा फैलिन सक्ने उनीहरूले औंल्याएका छन् ।

नाकामा दिनहुँ १५/२० जनामा संक्रमण देखिँदासमेत सतर्कता अपनाउनेतर्फ स्थानीय प्रशासनले ध्यान दिएको छैन । केन्द्रबाट कडाइ गर्ने कुनै निर्देशन नआएका कारण अहिले नै कडाइ गर्नेतर्फ नसोचेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए ।

प्रकाशित : श्रावण १८, २०७९ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?