३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सुत्केरीको हेलिकप्टरबाट उद्धार

मनोज बडू

दार्चुला — सेनाको हेलिकप्टरबाट सुत्केरी र नवजात शिशुको उद्धार गरिएको छ । शनिबार दिउँसो दार्चुलाको लेकम गाउँपालिका–२ की ३० वर्षीया कालीदेवी सार्कीको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

सुत्केरीको हेलिकप्टरबाट उद्धार

लेकम गाउँपालिका–२ कुणिका कालीदेवी सार्कीले सर्मोली स्वास्थ्य चौकी गराडीमा ७ सय ग्राम तौलको शिशु जन्माएकी थिइन् । उक्त शिशुलाई एनआईसीयूमा राखेर स्याहार गर्नुपर्ने भएकाले सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । शारीरिक अवस्था कमजोर रहेकी आमाले कम तौलको बच्चा जन्माएकी हुन् ।

लेकम गाउँपालिका–२ सर्मोली गराडी स्वास्थ्य चौकीमा सुत्केरी भई कम तौलको बच्चा जन्मिएको तथा आमाको स्वास्थ्य अवस्था जोखिमपूर्ण थियो । त्यही हुनाले सेनाको हेलिकप्टरमार्फत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेतमा उपचारको लागि भर्ना गरिएको प्रजिअ उपाध्यायले जानकारी दिए ।

गराडी स्वास्थ्य चौकीका निमित्त प्रमुख अहेब गणेश भट्टका अनुसार दुई हप्ता पहिले गोकुलेश्वर अस्पतालबाट उपचारका लागि सत्केरीलाई डडेलधुरा अस्पताल पठाइएको थियो । आर्थिक अवस्था कमजोर भएको कारण घर फर्किएका सार्की दम्पती शनिबार बिहानै डेढ बजे गराडी स्वास्थ्य चौकी उनले बताए । उनका अनुसार सुत्केरी आमाको ३४ किलोग्राम तौल र १२५ सेन्टिमिटर उचाइ छ । शनिबार दिउसो १२ बजेर ६ मिनेटमा महिलाले कम तौलको बच्चा पाएपछि गर्भवतीको स्वास्थ्य अवस्था जटिल देखिएपछि उद्धारको लागि लेकम गाउँपालिका र जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएपछि हेलिकप्टरको व्यवस्थापन गरिएको हो ।

दार्चुला प्रशासनको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो । सुत्केरीका पति देवराम सार्की, सुत्केरी र शिशुलाई हेलिकप्टरमार्फत दिउसो सवा २ बजे सुर्खेत अस्पताल पठाइएको लेकम गाउँपालिकाले जनाएको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिन थालेपछि सुत्केरीहरुको ज्यान जोगिएको छ । दार्चुलामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत यसअघि तीन महिलाको उद्धार गरिएको छ ।

प्रकाशित : श्रावण १४, २०७९ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?