गठबन्धनमा अरु पाँच दल थपिए पनि एमालेलाई हराउन सक्दैनन् : उपाध्यक्ष ज्ञवाली- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गठबन्धनमा अरु पाँच दल थपिए पनि एमालेलाई हराउन सक्दैनन् : उपाध्यक्ष ज्ञवाली

चित्रांग थापा

धनगढी — नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पाँचदलीय गठबन्धनमा अरू पाँच दल थपिए पनि आगामी निर्वाचनमा नेकपा एमालेलाई कसैले पराजित गर्न नसक्ने बताए । तैपनि चुनावमा एमालेले अन्य कुनै दलसँग गठबन्धन नगर्ने उनको भनाइ थियो ।


एमाले एक्लै चुनाव लड्नुपर्छ भन्ने मान्यतामा रहेको उनको भनाइ थियो । प्रतिनिधिसभा र प्रदेश सभाको आगामी निर्वाचनलाई लक्षित गर्दै देशव्यापी रुपमा पार्टीका अगुवा कार्यकर्ताहरूको प्रशिक्षण सञ्चालन गर्न सुदूरपश्चिम पुगेका उपाध्यक्ष ज्ञवालीले शुक्रबार धनगढीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

‘पाँच दलीय गठबन्धन मात्र होइन अरु पाँच दल थपिए पनि एमालेलाई हराउन सक्ने अवस्था छैन,’ उपाध्यक्ष ज्ञवालीले भने । यस्तै उनले नागरिकता सम्बन्धी विधेयक संसदमा पास भएको प्रसंगमा नेपाल जस्तो भूराजनीतिक अवस्थामा रहेको देशमा नागरिकता जस्तो विषय खुकुलो बनाउन नहुने बताए ।

‘नागरिकता लिनबाट बञ्चित भएकाहरुले नागरिकता पाउनु पर्छ भन्ने कुरामा पार्टी दृढ रहेको छ । तर विदेशबाट बिहे गरेर सिन्दुर हाल्ने बित्तिकै नागरिकता पाउने कुराको पार्टीको गम्भीर विरोध रहेको छ,’ उनले भने ।

यस क्रममा उनले नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गरिदिनुपर्ने धारणा राखेका थिए । यद्यपि यसबारे पार्टीमा छलफल नभएको र आफ्नो व्यक्तिगत धारणा रहेको उनको भनाइ थियो ।

प्रकाशित : श्रावण १४, २०७९ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्

लिफ्ट मागेर कर्मचारीलाई लुटपाट गर्ने तीन जना भारतीय पक्राउ

चित्रांग थापा

धनगढी — कैलालीको गोदावरीमा सोमबार डडेलधुराको आलीताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्र भण्डारी कुटपिट गर्ने  ३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

कैलाली जिल्ला प्रहरी कार्यालयका डीएसपी वेद जोशीका अनुसार नेपाली कर्मचारीलाई कुटपिट गरी उनको कारसमेत लुटेर फरार भएका भारतको हरियाणा राज्यका २१ वर्षीय भगत सिंह, २० वर्षीय सन्नी जाट र १६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु तीनै जनालाई स्थानीयवासीको सूचनाको आधारमा कैलालीको गोदावरी नगरपालिका–१ को एैश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको डीएसपी जोशीले बताए ।

धनगढी–अत्तरिया सडकखण्डनजिक रैकवार विचवाको शान्तिपुर जाने भित्री मार्गमा लुटिएको प्रदेश ३—०१—२३ च ८७२१ नम्बरको कारसमेत फेला परेको डीएसपी जोशीले जानकारी दिए । उक्त कार कम्प्युटर अपरेटर भण्डारीको हो । आफै कार चलाएर गन्तव्यतर्फ गइरहेका बेला उनी लुटिएका हुन् ।

गोदावरीनजिक रोकेर तेल हालिदिने सर्तमा उनीहरूले केही माथिसम्म लगि लिफ्ट मागेको भण्डारीले जानकारी दिएका छन् । डीएसपी जोशीका अनुसार गोदावरीमाथि पुगेपछि उनीहरुले फोटो खिच्ने बहानामा गाडी रोकाएर राजमार्गभन्दा ५० मिटर तल झाडीमा लगेर भण्डारीमाथि कुटपिट र गाडीसमेत लुटेर लगेका थिए ।

उनीहरूले भण्डारीलाई गम्छाले मुख बाँधेर, हातखुट्टासमेत बाँधेर कुटपिट गरेका थिए । ढुंगा प्रहारबाट उनको टाउकोमा चोटसमेत लागेको छ । भण्डारीसँग रहेको केही नगद र एटीएम कार्डसमेत लुटिएको थियो । उनको कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको प्रारम्भिक अनुसन्धान सुरु भएको र लुटेराहरुसँग बयान र सोधपुछपछि घटनाबारे थप जानकारी हुने डीएसपी जोशीले बताए ।

प्रकाशित : असार १३, २०७९ १९:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×