३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

होल्डिङ सेन्टर सञ्चालनमा अन्योल

झन्डै ३० करोडमा निर्माण भएको संरचना बेवारिसजस्तै बनेको छ
भवानी भट्ट

कञ्चनपुर — चारैतिर तारबारको बीचमा जस्ताले बनाएका भवन पूरै खाली छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारी क्षेत्रमा निर्माण गरिएका यी संरचना कोरोना संक्रमितलाई राख्नका लागि बनाइएको होल्डिङ सेन्टर हुन् ।

होल्डिङ सेन्टर सञ्चालनमा अन्योल

होल्डिङ सेन्टर निर्माणको काम सकिए पनि यसको सञ्चालन तथा व्यवस्थापनको कुनै टुंगो लागेको छैन । झन्डै ३० करोडमा निर्माण भएको संरचना बेवारिसजस्तै बनेको छ ।

संघीय सरकारको लगानीमा नेपाली सेनाको रेखदेखमा ठेक्का प्रक्रियाबाट कञ्चनपुरको सालघारी क्षेत्रमा १ हजार जनालाई राख्न सकिने क्षमताको होल्डिङ सेन्टर निर्माण गर्न ०७८ असारमा सक्ने गरी हनुमान कन्स्ट्रक्सनलाई २९ करोड ९९ लाखमा ठेक्का दिएको हो । अहिले निर्माण कार्य सकिएर भौतिक संरचनादेखि भित्रका सामानहरू रुजु गर्ने काम भइरहेको निर्माण कम्पनी हनुमान कन्स्ट्रक्सनका परियोजना प्रबन्धक लक्ष्मण सापकोटाले बताए । ‘निर्माणको काम सकिएको छ, अब केही दिनमै हस्तान्तरण गरिनेछ,’ सापकोटाले भने, ‘संरचनादेखि बेडलगायत आवश्यक सबै सामग्रीको रुजु भइरहेको छ ।’

होल्डिङ सेन्टरमा ५० बेड क्षमताका २२ वटा ठूला संरचना छन् । यसैगरी ३ वटा भान्सा र १२ डाइनिङ हल तथा २२ वटा शौचालय गरी ५९ वटा संरचना निर्माण भएका छन् । केही दिनदेखि भारतबाट घर फर्किनेमा दिनहुँ संक्रमण देखिन थालेको छ । असार दोस्रो सातादेखि नाकामा घर फर्किनेमा संक्रमण देखिन थालेको हो । अहिले पनि दैनिक दुई/तीन जनामा संक्रमण देखिने गरेको छ । उनीहरूलाई नाकाबाटै एम्बुलेन्समार्फत महाकाली प्रादेशिक अस्पताल पुर्‍याइन्छ । अस्पतालबाट वडाको सिफारिसमा होम आइसोलेसनमा बस्ने गरी घर पठाइन्छ ।

अहिलेकै अवस्थामा संक्रमण बढ्दै गएमा समुदायमा पनि संक्रमण नफैलिने भन्न सकिँदैन । भारतमा पनि दिनहुँ संक्रमण बढिरहेको अवस्थामा त्यहाँबाट फर्किने पनि बढी मात्रामा संक्रमित आउन सक्छन् । त्यस्तोमा अस्पतालमा बेड नभएमा संक्रमितलाई कहाँ राख्ने भन्ने अनयोल अहिले पनि कायमै छ । एकातिर ठूलो लगानीमा निर्माण भएको होल्डिङ सेन्टरको व्यवस्थापन हुन सकेको छैन । अर्कोतर्फ संक्रमण बढेमा संक्रमितलाई कहाँ राख्ने भन्ने चिन्ता ।

‘होल्डिङ सेन्टरबारे बुझ्न पाएको छैन, अनुगमन गरेर त्यसपछि मात्रै केही भन्न सकिन्छ,’ हालै जिल्लामा आएका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले भने, ‘अहिले हामीले संक्रमण रोकथाम र खोप अभियानलाई तीव्रता दिनुपर्ने हो ।’ बुधबार गड्डाचौकी नाकामा १ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको छ । मंगलबार पनि १ सय ७० जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको गड्डाचौकीस्थित हेल्थ डेस्कले जनाएको छ ।

‘हरेक दिन एक/दुई जनामा संक्रमण देखिइरहेको छ,’ हेल्थ डेस्कका इन्चार्ज सिनियर अहेब तर्कराज भट्टले भने, ‘दिल्लीबाट आउनेमा बढी संक्रमण देखिने गरेको छ ।’ साउन ३ गते एकै दिन नौ जनामा संक्रमण देखिएको थियो । त्यसको दोस्रो दिन पनि ४ जनामा संक्रमण देखिएको थियो । यसले समेत संक्रमण बढ्ने संकेत गरिरहेको छ । ‘अस्पताल पनि भरिभराउ भए पनि संक्रमित राख्ने होल्डिङ सेन्टरमै हो,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भने, ‘तर यसको व्यवस्थापन र सञ्चालन कसले गर्ने भन्ने अन्योल छ ।’

होल्डिङ सेन्टरमा स्वास्थ्यकर्मीसँगै उपचार गर्ने सकिने भएकाले संक्रमितको खाने, बस्ने मात्रै नभई स्वास्थ्यकर्मीको व्यवस्थापनसमेत महत्त्वपूर्ण हुन्छ । ठूलो संख्यामा स्वास्थ्यकर्मीसँगै उपचारका लागि औषधिलगायत विभिन्न उपकरण आवश्यक पर्ने भएकाले प्रदेश वा संघीय सरकारबाटै यसको व्यवस्थापनमा ठोस कदम चाल्नुपर्ने सरोकारवाला बताउँछन् ।

‘होल्डिङ सेन्टर हामीलाई हस्तान्तरण भएको छैन, त्यही भएर यसको सञ्चालन तथा व्यवस्थापनबारे पनि कुनै निर्णय भएको छैन,’ सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्तासमेत रहेका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्र कार्कीले भने, ‘हस्तान्तरण भएपछि यसको व्यवस्थापनबारे पनि केही निर्णय होला ।’

प्रकाशित : श्रावण १३, २०७९ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?