कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भारतबाट फर्केका अधिकांश संक्रमित

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको सीमानाका गड्डाचौकीमा भारतबाट घर फर्किनेमा दिनहॅुँ कोरोना संक्रमण देखिन थालेको छ । घर फर्किनेको नाकामा एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिन थालेको हो ।

भारतबाट फर्केका अधिकांश संक्रमित

गड्डाचौकी हेल्थ डेस्कका अनुसार शनिबार २ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको छ । शुक्रबार २ सय ९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको हेल्थ डेस्कका इन्चार्ज सिनियर अहेव तर्कराज भट्टले बताए । यसअघि बिहीबार १ सय ८४ जनाको परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको हेल्थ डेस्कले जनाएको छ । बुधबार २ सय ९ जनाको परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको थियो । साउन सुरु भएयता हरेक दिन संक्रमण देखिन थालेको हो । पछिल्लो समय सबैभन्दा बढी मंगलबार एकै दिन ९ जनामा संक्रमण देखिएको हो । भारतको ऋषिकेश तीर्थयात्राबाट फर्केका ५ जनासँगै दिल्ली र मुम्बईबाट फर्केकामा संक्रमण देखिएको सिनियर अहेव भट्टले बताए ।

भारतमा संक्रमण बढेसँगै घर फर्किने नेपालीमा पनि संक्रमण देखिन थालेको हो । गड्डाचौकी नाकामा असार दोस्रो सातादेखि संक्रमण देखिएको हो । असारमा मात्रै १९ संक्रमित देखिएको हेल्थ डेस्कले जनाएको छ । ‘दिनहुँ संक्रमण देखिन थालेपछि जोखिम बढ्दै गएको छ,’ सिनियर अहेव भट्टले भने, ‘स्वास्थ्य मापदण्ड पालनासँगै सतर्कता अपनाउनुपर्ने बेला आएको छ ।’ उनका अनुसार भारतको दिल्ली र मुम्बईलाई प्रभावित क्षेत्रमा राखिएको छ । अहिले घर फर्किनेमध्ये लक्षण देखिएका, शंकास्पद र प्रभावित क्षेत्रबाट आएकाहरूको मात्रै परीक्षण हुने गरेको छ ।

अहिले भारतबाट दैनिक ४/५ सयको संख्यामा नेपालीहरू घर फर्किने गरेका छन् । तीमध्ये दुई/अढाई सयको मात्रै परीक्षण भइरहेको छ । नाकामा सीमित व्यक्तिको मात्रै परीक्षण हुँदा समुदायमा संक्रमण फैलिने जोखिम बढेको छ । महेन्द्रनगरबाट भारतको राजधानी दिल्ली र उत्तराखण्डको राजधानी देहरादूनसम्म दैनिक एक दर्जन बढी मैत्री बसहरू सञ्चालनमा छन् । ति बसमा फर्किने र पैदल यात्रुहरू सबैको परीक्षण हुँदैन ।

प्रकाशित : श्रावण ८, २०७९ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?