कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘न सुकुम्बासी रह्यौं, न जमिन पायौं’

‘अकासे लालपुर्जा सिरानी हालेर सुतेका छौं, हाम्रा लागि पुरानै दिन छन्’
भवानी भट्ट

कञ्चनपुर — श्रीराम दमाई र उनकी श्रीमती पानसरीका नाममा करिब आधा कट्ठाको संयुक्त लालपुर्जा छ । यो लालपुर्जा पाएको ७ वर्ष भयो । तर उनी अहिले पनि सुकुम्बासी जस्तै छन् । त्यो जमिनबारे दमाई परिवारलाई केही जानकारी छैन ।

‘न सुकुम्बासी रह्यौं, न जमिन पायौं’

७ वर्षअघि संयुक्त जग्गाधनी पुर्जा पाउँदा दमाई परिवारमा निकै खुसी छाएको थियो । तीन/चार पुस्तापछि जग्गाधनी हुन लागेको र बसोबासको पनि ठेगान हुने आसाले उनीहरू निकै उत्साही थिए । तर त्यो उत्साह एक/दुई महिनामै निराशामा परिणत भयो । फेरि पुरानै दिन सुरु भए । सडक किनार र जमिन्दारकहाँ आश्रय माग्नुपर्ने बाध्यता आयो । ‘हामी त न सकुम्बासी रह्यौं, नत जग्गा नै पायौं, ’७ वर्षअघि तत्कालीन भूमिसुधार कार्यालयले दिएको लालपुर्जा देखाउँदै श्रीरामले भने, ‘अकासे लालपुर्जा सिरानी हालेर सुतेका छौं, हाम्रा लागि पुरानै दिन छन् ।’ उनी अहिले कञ्चनपुरको बेलौरी नगरपालिका १० भुडामा बसोबास गरिरहेका छन् । ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाइरहेका छन् ।

मुक्त हलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत दमाई परिवारले बेलडाडी गाउँपालिका–१ मा २०७२ फागुनमा जग्गाधनी पुर्जा पाएका थिए । उनीसँगै २१ मुक्त हलिया परिवारलाई पुनःस्थापना कार्यक्रमअन्तर्गत आधा कट्ठाको हाराहारी जमिनको लालपुर्जा वितरण गरिएको हो । लालपुर्जा पाएका कुनै परिवारले पनि जमिन पाएनन् ।

भूमिसुधार कार्यालयले ०७२ फागुनमा बेलौरीमा संयुक्त लालपुर्जा दिएको थियो । लालपुर्जा दिएको ४ महिनापछि अमिनसहित भूमिसुधार कार्यालयको टोली जमिन छुट्याउन बेलडाँडी पुग्यो । मुक्त हलियाहरूले पनि आफ्नो जमिनमा साँध सीमा छुट्याउन काठको किलासहित फिल्डमा गए । तर त्यहाँ पुग्दा स्थानीयले नापी टोली र मुक्त हलिया परिवारलाई लखेटे । जमिन नापी हुनै पाएनन् । वर्षौंदेखि जमिनको मालिक हुने मुक्त हलियाको सपना फेरि अधुरै रह्यो । ‘लालपुर्जा पाएपछि जमिन नापी गरिदिन भूमिसुधारमा धेरै पटक धायौं,’ अर्का मुक्त हलिया धनबहादुर नेपालीले भने, ‘तीन महिनापछि नापी टोली आउँदा त गाउँलेले लखेटे, झोलामा किलो (काठ) बोकेर गएका थियौं, त्यत्तिकै भागेर फर्कियौं ।’ उनी बेलौरी नगरपालिका १० भुडामा ८ वर्ष हलिया बसेका थिए । मुक्त भएपछि उनी भुडा क्षेत्रमै आफन्तको जमिनमा बसोबास गरिरहेका छन् । भूमिसुधार कार्यालयले मुक्त हलियालाई वितरण गरेको जमिन हर्कराज उपाध्यायको हो । तर उक्त जमिन उपाध्यायकै छिमेकी अजबहादुर विष्टले जालसाँची गरेर आफ्नो नाममा नामसारी गराए । त्यसपश्चात् अर्का व्यक्तिका नाममा हालेर मुक्त हलियाका लागि खरिद गरिएको हो । यही कारणले जमिन नापी गर्न जाँदा उपाध्यायको परिवारसहित स्थानीयले नापी टोली र मुक्त हलिया परिवारलाई लखेटेका हुन् । ‘हामीले जमिन पाउनु त के उल्टै अदालतमा तारेख धाउनुपरेको छ,’ मुक्त हलियाकी अगुवा वसन्ती सुनारले भनिन्, ‘अदालतमा अहिले पनि मुद्दा चलिरहेको छ, हामीले दुई/तीन पटक तारेख बुझायौं ।’ तर मुक्त हलिया परिवारले मुद्दा कस्तो परेको छ भनेर केही जानकारी पाएका छैनन् । अदालतमा बोलाएर हाजिरी लगाएको उनीहरू बताउँछन् ।

उपाध्यायले जालसाँची गरेर जमिन आफ्नो नाममा हाल्नेदेखि मुक्त हलिया परिवारका नाममा मुद्दा दिएका हुन् । जिल्ला अदालत र उच्च अदालतमा मुद्दा हारेपछि उपाध्याय सर्वोच्चमा पुगेका छन् । उनले २०३४ मा खरिद गरेको जमिन २०५२ को सर्भे नापीले नामसारी भएको बताए । तर ८ बिघा जमिन खरिद गरे पनि साढे ५ बिघाको लालपुर्जा पाएको र अढाई बिघा जमिन पर्ती देखाएको उनले बताए ।

त्यही पर्ती जमिन विष्टले जालसाँची गरेर आफ्नो नाममा हालेको र पछि अन्यको नाममा हालेर भूमिसुधारलाई बिक्री गरेको उनको आरोप छ । ‘यसमा भूमिसुधारदेखि मालपोत र तत्कालीन मुक्त हलिया पुनःस्थापना समितिको समेत मिलेमतो छ,’ उपाध्यायले भने, ‘मिलेमतो छैन भने मेरो जमिन कसरी भूमिसुधारले खरिद गर्‍यो ।’ उनका अनुसार त्यतिबेला उनको बसोबास भएको क्षेत्रमा प्रति कट्ठा ५० हजारदेखि १ लाखसम्म किनबेच हुन्थ्यो । तर मुक्त हलियालाई दिएको १५ कट्ठा जमिन ४५ लाखमा खरिद गरिएको छ । त्यही १५ कट्ठामा बाटो र घरेडी निर्माण गरेर मुक्त हलियालाई वितरण गरिएको हो ।

उक्त जमिनको लालपुर्जा पाएका मुक्त कमैयामध्ये ४ परिवार बेलडाँडीको ग्रिन बेल्टमा, १२ परिवार बेलौरी नगरपालिका ८ को पचुई र १० को भुडा र शिवनगरमा बसोबास गरिरहेका छन् । यसैगरी ४ परिवार महेन्द्रनगरमा र १ परिवार सम्पर्कविहीन छन् । उनीहरूले पछिल्लो पटक राष्ट्रिय भूमि आयोगमा पनि आवेदन दिएका छन् । राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अनुसार जिल्लामा २५ सय १६ मुक्त हलिया परिवारको लगत संकलन भए पनि १९ सय ९१ ले मात्रै परिचयपत्र पाएका छन् । हालसम्म १८ सय ३० परिवारका पुनःस्थापना भएको छ ।

प्रकाशित : श्रावण १, २०७९ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?