१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

महाकाली करिडोरको काम न्यून

‘साना र ठूला गरेर करिब चार हजार रुख काट्नुपर्ने देखिन्छ, रुख कटानको उल्झनले काम गर्नै गाह्रो भयो’ 
मनोज बडू

दार्चुला — कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकर जोड्ने महाकाली करिडोर सडकको कञ्चनपुर र डडेलधुरा क्षेत्रमा न्यून मात्रामा काम भएको छ । गत आवमा ठेक्का सम्झौता भएको कञ्चनपुरमा एक किलोमिटर सडकमा मात्र ट्र्याक खोलिएको छ ।

महाकाली करिडोरको काम न्यून

११ किलोमिटर सडकको ट्र्याक खोल्न ठेक्का सम्झौता भए पनि वन क्षेत्रमा रूख कटानको अनुमति नपाउँदा त्रिदेशीय सीमा जोड्ने महाकाली करिडोरको निर्माण कार्य प्रभावित भएको छ । गत वर्षको फागुन/चैतमा निर्माण व्यवसायीसित सडक ट्र्याक खोल्ने सम्झौता भए पनि वन क्षेत्रमा रूख कटानको सहमति नपाउँदा निर्माणको काम प्रभावित भएको हो । ११ किलोमिटर सडकको ट्र्याक खोल्न ठेक्का भएको भए पनि डेढ किलोमिटर ट्र्याक खुलेको र त्यसपछि वन क्षेत्रमा काम रोकिएको दार्चुला–टिंकर सडक योजनाका प्रमुख आशुतोष कर्णले बताए ।

उनका अनुसार सात किलोमिटर पूरै वनको क्षेत्र पर्छ । वनको सहमतिबिना काम गर्न सकिँदैन । योजना प्रमुख कर्णले भने, ‘वन मन्त्रालयबाट रूख कटानीका लागि सहमति माग्न लागेको ५ महिना बढी भइसक्यो । रूख कटानी गर्नका लागि अनुमति पाउन निकै कठिन हुन्छ ।’ कहिले रूखको संख्या नमिलेको, कहिले चिठीमा केके नमिलेको भन्दै कटान अनुमति नपाउँदा लक्ष्यअनुसार काम सम्पन्न गर्न नसकिने उनको भनाइ छ । योजनाका अनुसार ब्रह्मदेव क्षेत्र दिवा–शनिदेव जेभी निर्माण कम्पनीसित ५ करोडमा ठेक्का सम्झौता भएर कामको सुरुवात गर्न भने पनि वनले गर्दा समस्या भएको छ ।

वनको सहमतिबिना रूख कटान गर्न सकिन्न । लामो समय भइसक्दा पनि वनबाट रूख कटानको सहमति नआउँदा समस्या भइरहेको योजना प्रमुख कर्णले बताए । ‘साना र ठूला गरेर करिब चार हजार रूख काट्नुपर्ने देखिन्छ,’ उनले भने, ‘रूख कटानको उल्झनले काम गर्नै गाह्रो भयो ।’ महाकाली करिडोरको शून्य बिन्दुबाट वन क्षेत्र पर्ने हुँदा कोरिडोर सडक खण्डको सुरुवाती क्षेत्रमा कार्य प्रगति न्यून देखिएको छ ।

त्यस्तै डडेलधुराको परिगाउँ क्षेत्रमा वनले रूख कटानीका लागि सहमति नदिँदा काम रोकिएको छ । यहाँ पनि वनको केही भू–भागमा रूख कटानीको सहमति भयो, रूख कटानी पनि भए । तर बीचमा वनले दिएको सहमतिको म्याद सकिँदा बीचमै काम रोकिएको छ । त्यसपछि रूख कटानीको सहमति नपाउँदा डडेलधुरा र कञ्चनपुरमा काम ठप्प अवस्थामा छ । ‘बैतडी र दार्चुलामा केही काम भएको देखिन्छ,’ लेकम गाउँपालिका–२ का शिवराज जोशीले भने, ‘तीन वर्षदेखि काम सुरु भएको हो, अन्य ठाउँको तुलनामा यहाँ काम भएको छ ।’ लेकम क्षेत्रलाई महाकाली राजमार्ग जोड्ने यो सडक निर्माण भए यहाँ स्थानीयलाई सहजकता आउँथ्यो ।

चालु आर्थिक वर्षमा करिडोरको कञ्चनपुरमा डेढ किलोमिटर, डडेलधुरामा ९ किलोमिटर, बैतडीमा १४ र दार्चुलामा दुई किलोमिटर सडकको ट्र्याक खुलेको छ । करिडोरको ४१३ किलोमिटरमध्ये अहिलेसम्म १ सय ९३ किलोमिटर ट्र्याक खुलेको छ । यसमध्ये २० किलोमिटर बैतडी र २१ किलोमिटर दार्चुलामा महाकाली राजमार्गमा पर्छ । करिडोरको माथिल्लो भागमा ७८ किलोमिटर नेपाली सेनाले सडकको ट्र्याक खोलिरहेको छ ।

चालु आवमा सेनाले ७ किलोमिटर सडक ट्र्याक खोल्ने जनाएको छ । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका टिंकरसम्म व्यापार विस्तारका लागि महाकाली करिडोर सडक निर्माण योजनाको अवधारणा अगाडि सारिएको भए पनि करिडोरको काम कछुवा गतिमा छ । २०६५ देखि निर्माण सुरु दार्चुला टिंकर सडकलाई २०७२ मा महाकाली करिडोरअन्तर्गत गाभिएको हो । करिडोरमा गाभिएपछि दार्चुला–टिंकर सडक खण्डमा निर्माण प्रभावित भएको छ । १३ वर्षमा ४३ किमी सडकको ट्र्याक खोलिएको योजना कार्यालयले जनाएको छ । पहिलो पटक योजनाअन्तर्गत दार्चुलाको खलंगा–सुन्सेरा साढे १८ किमी र सलेतीदेखि वेदसम्म १२ किमी सडक कालोपत्र गर्न ठेक्का आह्वान भएको योजना प्रमुख कर्णले बताए ।

प्रकाशित : श्रावण १, २०७९ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?