१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

धान भित्र्याउने र रोप्ने चटारो

मोहन बुडाऐर

धनगढी — कैलालीको भजनी नगरपालिका–२ मोहनपुरका छितरबहादुर चौधरीको परिवालाई धान भित्र्यााउने र रोपाइँ दुवैको चटारो छ । उनी चैते धान काटेर बर्खे रोपाई सुरु गर्न थालेका छन् । बर्खे मौसममा अधिकांश किसानले धान रोप्छन् । असोज–कात्तिकमा धानबाली भित्र्याउछन् ।

धान भित्र्याउने र रोप्ने चटारो

यहाँका केही किसानलाई भने रोपाइॅसँगै धानबाली भित्राउने चटारो छ । ‘धान काटेर बर्खे रोपाई गरिरहेका छौं,’ उनले भने, ‘यसपाली चैते धान अलि ढिलो लगाउदा ढिलो पाक्यो, सँगसँगैं अर्को बाली रोपाइँ गरिहाल्नु परेको छ ।’ उनले मनसुन सुरु भइसकेकोले खेतमा काटेको धान राम्रोसँग सुक्न नपाएको बताए ।

‘बिहान उठ्दा पानी परे रोपाइँ गर्ने, नपरे धान काट्ने गरेको छु,’ उनले भने । उनको परिवारका सदस्य बिहान ५ देखी बेलुका ८ बजेसम्म धान भित्राउने र रोपाइँ गर्न व्यस्त हुन्छन् । ६ जनाको परिवारका सदस्यमा ४ जना खेतीपातीमा खटिने गरेका छन् । दुवै कामसँगै गर्नु परेकाले ज्यालामा पनि खेतमा काम लगाउनु परेको उनले बताए । बर्खे धानबालीको उत्पादनले खान र बिक्री गरेर घर खर्च चलाउन नसक्दा चैतेबाली लगाउन सुरु गरेको छितर बहादुरले बताए । बर्खे धानबालीबाट ४० क्वीन्टल जति धान उत्पादन हुने गरेको छ । चैते धानको उत्पादन २० क्वीन्टल मात्रै हुन्छ । उनका अनुसार चैते धानको उत्पादन बर्खेभन्दा झन्डै आधा कम हुने गरेको छ ।

कैलालीको दक्षिण पुर्वी क्षेत्रमा पर्ने भजनी नगरपालिका डुवानग्रस्त क्षेत्र हो । बाढी लाग्ने समस्याले भजनी क्षेत्रका किसानले पछिल्लो समयमा चैते धानतर्फ आकर्षित भएका छन । भजनीका छितरबहादुरले मात्रै हैन उनका गाउॅका ३० प्रतिशत किसानले चैते धान लगाउने गरेका छन् ।

प्रकाशित : असार २२, २०७९ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?