बझाङका किशोर बुटवलमा अलपत्र

वसन्तप्रताप सिंह

बझाङ — बझाङका एक १३ वर्षीय किशोर रुपन्देही जिल्लाको बुटवल महानगरपालिकामा अलपत्र अवस्थामा भेटिएका छन् । जयपृथ्वी नगरपालिका वडा नं ७, सुवेडा घर बताउने आकाश सार्की नाम गरेका बालक बुटवलको बसपार्कमा अलपत्र अवस्थामा फेला परेका हुन् ।

बझाङका किशोर बुटवलमा अलपत्र

उनलाई बुटबलमै अध्ययनरत एक जना विद्यार्थी वासुदेव भुसालले आफूसँगै राखेको र उनको उद्धार गरिदिन अनुरोध गरेका छन् । ‘निकै दयनीय अवस्थामा बालकलाई भेटेपछि मैले तीन दिनदेखि आफूसँग राखेको छु,’ उनले भने ‘म पनि विद्यार्थी मान्छे धेरै दिन उनलाई पाल्न सक्दिनँ । कसैले उद्धार गरिदिए हुने थियो ।’

आकाशले आफ्नो आमा नभएको र बाबुले रक्सी खाएर पिट्ने गरेको हुँदा भागेर आएको बताउने गरेको भुसालले बताए । बालक डराउने र बेलाबेला तर्सिने गरेको भुसाल बताउँछन् ।

बालक अलपत्र परेको विषयमा जानकारी आएको भन्दै उनको अवस्थाबारे बुझ्ने काम भएको र उद्धारको लागि के गर्न सकिन्छ भनेर समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ज्ञानबहादुर विष्टले बताए ।

सुवेडाका स्थानीयका अनुसार उनको आमाको मृत्यु भएको र बुवा मदिराको लतमा रहेको बुझिएको छ । बझाङ छँदा पनि आकाश घरमा नबस्ने र सडकमा मागेर खाने, पार्किङ गरिएका गाडी तथा सार्वनजिक स्थानमा सुत्ने गरेका थिए ।

प्रकाशित : असार २०, २०७९ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?