३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पौडी बगालको कुलो पुरिने जोखिम

१५० परिवारको खेतमा सिँचाइ हुने कुलोको सुरूङमा ढुंगा र पातपतिंगरको थुप्रो, नियमित सफाइ नगरिए १/२ वर्षभित्रै पुरिनेमा स्थानीयको चिन्ता 
वसन्तप्रताप सिंह

(पौडीकोट, बझाङ) — पौडीको जिउलो (धनहर फाँट) मा केही दिनअघि मात्रै रोपाइँ सकिएको छ । पूरै जिउलो हरियो तन्नाले ढाकिएको जस्तो भएको छ । बुट्टेदार कान्लाहरूले हरियालीको बान्की अझै खुलेको छ । समुद्र सतहबाट ८५० मिटर उचाइमा अवस्थित यो जिउलो सोली आकारमा फैलिएर जमिनबाट करिब ३ सय मिटर उठेको छ । सोलीको पुछारतर्फको दुवै भागमा जोडिएका छन्, बगाल र झल्लाको जिउलो ।

पौडी बगालको कुलो पुरिने जोखिम

सदरमुकाम चैनपुरबाट जयपृथ्वी राजमार्ग हुँदै २७ किलोमिटर दक्षिणतर्फ लागेपछि पुगिने केदारस्युँ गाउँपालिकाको यही सुन्दर फाँटमा भेटिन्छ एउटा ऐतिहासिक सुरुङ । जसलाई स्थानीयबासी पौडी बगालको कुलो भनेर चिन्छन् । झन्डै २ सय मिटर अग्लो डाँडो छेडेर बनाइएको यो सुरुङबाट जुइलगाडको पानी झल्लाको जिउलोसम्म पुर्‍याइएको छ । अन्दाजी १ सय मिटर लामो यो सुरुङबाट निकालिएको पानीले झल्लाको जिउलोका १५० परिवारको खेतमा सिँचाइ पुगेको छ । झन्डै ९ फिट उचाइ र ८ फिट चौडाइ रहेको यो सुरुङबारे अनेकन् किंवदन्ती भेटिन्छन् ।

निर्माण समय र निर्माणकर्ताबारे ठोस तथ्य नभेटिए पनि यो भूमिगत कुलोसँग जोडेर बनाइएको एउटा व्यंग्यात्मक देउडा गीत भने अहिले पनि बझाङमा प्रख्यात छ । ‘पौडी बगालको कुलो झल्ला छिट्कायाको, मैले क्या राँयाँइन मानी आँखो किटकायाको’ । यसको अर्थ हुन्छ, पौडी बगालको कुलोको निकास झल्ला छ भन्ने सबैलाई थाहा छ, तिमीले आँखा झिम्काएर के भन्न खोज्यौ मैले पनि नबुझेको होइन । गीतले भने जस्तै केही वर्षअघि यो सुरुङबाट जुइलगाडबाट सिँचाइका लागि ल्याएको पानी मात्रै होइन बगालदेखि झल्लासम्म मान्छे नै हिँडेर जान सकिन्थ्यो ।

पछिल्लो समय नियमित सफा नगर्दा यो सुरुङको बगालतर्फको भागबाट पानी पनि मुस्किलले मात्रै छिर्न सक्ने ठाउँ बाँकी छ । सुरुङको आधाभन्दा बढी भागमा ठूल्ठूला ढुंगा र पातपतिंगर थुप्रिएको छ । ‘१०/१५ वर्ष पहिला अहिलेको भन्दा तीन गुणा बढी पानी आउँथ्यो,’ रायलका ७३ वर्षीय स्थानीय मंगलबहादुर मल्लले भने, ‘यस्तै हो भने १/२ वर्षमा कुलो बन्द हुन बेर छैन । यत्रो खेत बाँझै भयो भने गाउँमा के खाने होला ?’

कहिले र कसरी बन्यो ?

पानी ल्याउने यो सुरुङ कहिले बन्यो र कसले बनायो भन्नेबारे बूढापाकाहरू पनि यकिन बताउन सक्दैनन् । ‘हाम्रा बाजेले पनि यो कुलो यस्तै देख्यौं भन्थे, कहिले कसले बनायो भनेर बाजेहरूलाई पनि थाहा थिएन,’ केदारस्युँका ७९ वर्षीय हरिभान कामी भन्छन्, ‘उहिलेका कुनै राजा महाराजाले बनाउन लगाएको होला ।’ यकिन तथ्य नभेटिए पनि यो सुरुङ मान्छेले नै बनाएको भन्नेमा चाहिँ सबैको मतैक्य छ । सुरुङनजिकैको बगाल गाउँका ७७ वर्षीय धनराज जोशी भन्छन्, ‘मान्छेले बनाएको हो भन्ने त हेर्दै थाहा हुन्छ । भित्र पनि बान्ना चिनेका (पर्खाल) छन् ।’

हाल स्विडेनको स्टकहोम युनिभर्सिटीमा वातावरण र कानुन विषयका प्राध्यापक कटक मल्लले पनि सुरुङ मानवनिर्मित भएको दाबी सुनाए । ‘म आफैं २०२६/२७ सालतिर त्यो सुरुङमा छिरेको छु । यहाँको बनोट हेर्दा मान्छेले नै निर्माण गरे जस्तो देखिन्छ,’ सुरुङ नजिकैको रायल गाउँमा जन्मिएका मल्लले भने, ‘त्यो बेला एक छेउमा पसेर अर्को छेउ निस्किँदा २०/२५ मिनेट जति समय लागेको थियो ।’ यो पुरातात्त्विक महत्त्वको भएकाले संरक्षण हुनुपर्ने उनले बताए ।

सुरुङ पुरातात्त्विक महत्त्वको हुन सक्ने भए पनि अध्ययन गरेर मात्रै यकिन भन्न सकिने पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले बताए । यो सुरुङको संरक्षण गरिनुपर्ने बताउँदै उनले भने, ‘यो विषय हाम्रो जानकारीमा थिएन । कोट र सुरुङको अनुसन्धान र संरक्षणबारे छलफल गर्छौं ।’

प्रकाशित : असार २०, २०७९ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?