महाकालीद्वारा तटबन्ध कटान- सुदूरपश्चिम - कान्तिपुर समाचार

महाकालीद्वारा तटबन्ध कटान

कान्तिपुर संवाददाता

कञ्चनपुर — महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी नगरपालिका–१ को जिरो प्वाइन्टनजिकै बयलबन्दको तटबन्धमा क्षति पुर्‍याएको छ । बाढीले जिरो प्वाइन्टभन्दा दक्षिणतर्फका तारजालीहरू बगाउन थालेको हो ।

गत वर्ष जिरो प्वाइन्टमै ४ वटा स्परहरू बाढीले बगाएको थियो । उक्त ठाउँमा अहिले स्पर निर्माण भइरहेको छ । उक्त क्षेत्रभन्दा केही तल तटबन्ध कटान गरेर तारजाली बगाउने अवस्था आएको स्थानीयले बताए ।

‘तटबन्ध कटान गरेर तारजाली खस्केका छन्,’ दोधारा चाँदनी नगरपालिका–१ का पूर्ववडाध्यक्ष अर्जुनदत्त भट्टले भने, ‘कटान भएको क्षेत्रको मर्मत नभए यसपटक यही क्षेत्रबाट बाढी दोधारा चाँदनीमा पस्ने खतरा छ ।’

गत साताको सामान्य बाढीले तटबन्ध कटान गर्न थालेपछि स्थानीय त्रसित छन् । पुरानो जीर्ण तटबन्ध जतिबेला पनि भत्किन सक्ने भन्दै स्थानीयले पक्की तटबन्ध निर्माणको माग गर्दै आएका थिए । अढाई दशक पुरानो बयलबन्दको तटबन्ध जीर्ण भइसकेका कारण ठाउँ–ठाउँमा भत्किने जोखिम छ ।

गत वर्ष भत्काएका स्पर र झोलुंगे पुलको दक्षिणतर्फ ग्राभेल भरानका लागि जनताको तटबन्ध कार्यालय फिल्ड नं. ७ महेन्द्रनगरले ठेक्का दिएको छ । जुन काम अहिले भइरहेको छ । ४ वटा स्पर निर्माण र ३ ठाउँमा ग्राभेल भरानका लागि ३ करोड १८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको कार्यालयका प्रमुख मनोरञ्जन सिंहले बताए ।

‘अहिले पनि धेरै ठाउँमा जोखिम छ, दोधारा चाँदनीतर्फ २ ठाउँमा र भीमदत्त नगरपालिकातर्फ गत वर्ष बाढीले भत्काएकै ठाउँमा जोखिम देखिन्छ,’ सिंहले भने, ‘अहिले तारजाली खस्केको ठाउँमा र झोलुंगे पुलको उत्तरतर्फ तटबन्ध भत्किन सक्छ ।’ उनका अनुसार उक्त क्षेत्रमा २० वटा जाली बाढीले खस्काएको छ । ती ठाउँमा बाढी घटेपछि मर्मतको काम गरिने बताए ।

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका कारण पानी एक ठाउँबाट बग्ने भएकाले पुलको दक्षिणतिर तटबन्धमा दबाब बढ्न सक्ने सिंहले बताए । उनले पक्की पुलको दक्षिण र झोलुंगे पुलको उत्तरतर्फ बढी सजगता अपनाउनुपर्ने बताए ।

‘यतापट्टि (भीमदत्त नगरपालिका) गत वर्ष भत्काएकै ठाउँमा फेरि भत्किन सक्छ,’ सिंहले भने, ‘निर्माण कम्पनीले पनि सडक किनारमा ठूला ढुंगा राखेको छ, गत वर्षकै जस्तो बाढी नआउन पनि सक्छ ।’ गत वर्ष महाकालीमा हालसम्मकै सबैभन्दा ठूलो बाढी आएको थियो । शारदा ब्यारेजमा ५ लाख ४७ हजार क्युसेक पानी मापन गरिएको थियो । जुन शारदा ब्यारेज निर्माण भएपछिकै उच्च हो ।


प्रकाशित : असार २०, २०७९ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्

कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारणलाइनका लागि रूख काट्न बाटो खुला

कान्तिपुर संवाददाता

सुर्खेत — कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइनको निर्माण प्रक्रिया अघि बढेको छ । गत सोमबार संघीय सरकारले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेपछि निर्माणको बाटो खुलेको हो । आयोजनाले अहिले जग्गा अधिग्रहण तथा सबस्टेसन निर्माण प्रक्रिया अघि बढेको जनाएको छ ।

आयोजना कार्यालयका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका र वीरेन्द्रनगर नगरपालिका तथा बाँकेको कोहलपुर नगरपालिकामा जग्गा अधिग्रहण सम्पन्न गरी जग्गा प्राप्ति भइसकेको छ । आयोजना प्रमुख रविकुमार चौधरीले बाँकेको केही क्षेत्रमा विवादका कारण जग्गा अधिग्रहणमा अझै केही समय लाग्ने देखिएको बताए ।

‘बाँकेको बैजनाथ गाउँपालिका–१ र ४ मा जग्गा अधिग्रहणका विषयमा विवाद छ,’ उनले भने, ‘विवादकै बीच कोहलपुर र सुर्खेतमा सबस्टेसन निर्माणका लागि टेन्डर प्रक्रिया सुरु गरेका छौं ।’ वीरेन्द्रनगर–११ को सुब्बाकुनामा सबस्टेसन बनाउन टेन्डर प्रक्रिया अघि बढाइएको उनले बताए । अहिले उक्त क्षेत्रमा सबस्टेसनका विषयमा योजना निर्माणलगायत काम भइरहेका छन् ।

यो प्रसारण लाइन बनाउँदा १३ हजार ५६ वटा रूख काटिने छन् । आयोजना क्षेत्रमा पर्ने सुर्खेतको वीरेन्द्रनगर, भेरीगंगा र लेकबेसी नगरपालिका, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रभित्रका रूख कटान गर्ने गरी मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

‘आयोजना निर्माणका लागि निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले तयार पारेको प्रतिवेदनअनुसार कटान हुने रूखको संख्या १३ हजार ५६ रहेको छ,’ आयोजना प्रमुख चौधरीले भने, ‘जसमध्ये सुर्खेतमा ६ हजार ८ सय २०, बर्दियामा ३ हजार ३ सय २० र बाँकेमा २ हजार ९ सय १६ वटा रुख कटान हुनेछन् ।’

आयोजना क्षेत्रमा पर्ने रुख काट्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा अनुमतिका लागि फाइल पेस भएको थियो । अब नेपाल विद्युत् प्राधिकरण र वन विभागबीच रुख कटानका लागि सम्झौता हुनेछ । सम्झौतापछि निकुञ्ज क्षेत्रका रुखहरू निकुञ्ज कार्यालय, राष्ट्रिय वनमा पर्ने रुख सम्बन्धित जिल्ला वन कार्यालय तथा सामुदायिक वनका रुख भने सामुदायिक वनले नै कटान गर्नेछन् । यी सबै प्रक्रिया सकिन कम्तीमा कात्तिकसम्म लाग्ने आयोजनाले जनाएको छ ।

विद्युत् प्रसारण लाइन विस्तार गर्दा १ सय ६० पोल निर्माण हुनेछन् । तीमध्ये १ सय ३० वटा पोल सार्वजनिक तथा राष्ट्रिय निकुञ्ज र बाँकी ३० वटा पोल व्यक्तिको जग्गामा पर्ने आयोजना निर्माण कम्पनीले जनाएको छ । विवाद नभएका क्षेत्रमा अहिलेसम्म ४० वटा टावरका लागि फाउन्डेसन निर्माण गरिसकिएको छ । प्रसारण लाइनका लागि करिब ९९ हेक्टर जमिनमा टावर निर्माण हुनेछन् भने विभिन्न ठाउँमा सबस्टेसन बनाइनेछ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका अनुसार प्रसारण लाइनले ७० हेक्टर जमिन वनको क्षेत्र ओगट्नेछ ।

कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइनको भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रुपैयाँमा ठेक्का पाएको हो । डबल सर्किट रहने आयोजनाको लम्बाइ करिब ५१.४६२ किमि रहने प्रस्ताव गरिएको छ । हाल सुर्खेतसहित कर्णालीमा ३२ केभीए विद्युत् प्रसारण लाइन सञ्चालनमा छ । विद्युत् प्राधिकरणले २०४५ सालमै सुर्खेतमा १३२ केभीए प्रसारण लाइन विस्तार गर्ने योजना बनाएको थियो । त्यसको झन्डै २६ वर्षपछि आयोजनाको काम अघि बढेको हो । २ वर्षभित्र सुर्खेतमा १३२ केभी प्रसारण लाइन पुर्‍याउने आयोजनाको लक्ष्य छ ।


प्रकाशित : असार २०, २०७९ ०८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×