५ मानसिक बिरामी महिलाको उद्धार

बैतडी — बैतडीमा ५ मानसिक बिरामी महिलाको उद्धार गरिएको छ । मानसिक अवस्था बिग्रेर बेवारिसे अवस्थामा रहेका उनीहरूको स्वास्थ्य कार्यालय बैतडीले उद्धार गरेर शुक्रबार धनगढी पठाएको छ ।

बेवारिसे मानसिक बिरामी उद्धार कार्यक्रमअन्तर्गत जिल्लाका विभीन्न पालिकाका ५ महिलालाई उद्धार गरी धनगढीमा रहेको दृष्टि फाउन्डेसन नामक संस्थामा पठाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनका अनुसार स्वास्थ्य कार्यालयले बिरामीको औषधि व्यवस्थापनको काम गर्नेछ । खान, बस्न र मनोसामाजिक परामर्शको जिम्मा दृष्टि फाउन्डेसनले लिएको छ ।

लामो समयदेखि मानसिक समस्या भएर बेवारिसे अवस्थामा रहेका महिलाहरूको खोजी गरेर उद्धार गरिएको भट्टले बताए । ‘हामीले पालिकासँग विवरण मागेका थियौं । पालिकाले ५० जना जति महिला र पुरुषको विवरण संलन गरेर पठाए,’ उनले भने, ‘समन्वय भएको संस्थाले महिला मात्र राख्ने भएकाले ११ जना महिला जान तयार भएका थिए । अन्यलाई घरपरिवारले पठाउन मानेनन् र ५ जनालाई मात्र पठायौं ।’ पूर्ण रूपले निको हुने भएपछि मात्र पठाउँछौं नभए पठाउँदैनौं भनेर घरपरिवारका मान्छेहरूले भनेपछि सबैलाई पठाउन नसकिएको भट्टले बताए ।

जिल्ला शिवनाथ गाउँपालिकाबाट २, दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाबाट १/१ जनाको उद्धार गरिएको छ । बैतडीका गाउँघरमा उपचार नपाएका मानसिक रोगी देखिन्छन् । कति जना यस्ता बिरामीहरू छन् भन्ने तथ्यांक छैन । उपचार नपाएर केही बिरामी समस्यामा छन् । देवीदेवताको कारणले बिरामी भएको भन्दै उनीहरूको उपचार गराउनुको साटो धामीझाँक्री कहाॅ झारफुक गर्न लैजाने चलन छ ।

प्रकाशित : असार १९, २०७९ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?