३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

लागूऔषधको जालोमा फस्दै युवा

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको महेन्द्रनगर बजार नजिकै भीमदत्त नगरपालिका–१८ नयाॅ कटानमा सडक किनारमा एक युवक उभिएका थिए । वडा प्रहरी कार्यालयको गस्ती टोलीले शंका लागेर सोधपुछ गर्‍यो । उनको हातमा झन्डै ५० ग्राम चरेस भेटियो । भीमदत्त नगरपालिका–७ हल्दुखालका २६ वर्षीय किसन दमाई चरेस प्रयोगसँगै बिक्री गर्न नयाँ कटान पुगेको हुन सक्ने प्रहरीको अनुमान छ । यसै साता पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखेर कानुनी कारबाही प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लागूऔषधको जालोमा फस्दै युवा

अघिल्लो साता जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका–४ कारगिल डाँडाबाट प्रहरीले लागूऔषध खैरो हेरोइन र नाइट्राभेटसहित तीन जनालाई पक्राउ गर्‍यो । कैलालीको लम्कीचुहा नगरपालिका–९ बस्ने २४ वर्षीय कमद बादी, २१ वर्षीय विशाल बादी र २५ वर्षीय ओकेन्द्र बादीलाई पक्राउ गरेको हो । उनीहरूबाट १ ग्राम १८ मिलिग्राम खैरो हेरोइन र ५ ट्याब्लेट नाइट्राभेट बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए ।

जिल्लाका विभिन्न क्षेत्रबाट दिनहुँजसो लागूऔषध प्रयोगकर्ताहरू पक्राउ परिरहेका छन् । हरेक दिन दुई/तीन जनासम्म पक्राउ परिरहेका छन् । यो क्रम दुई/तीन वर्षदेखि नै चलिरहेको छ । ग्रामीण भेगमा होस् वा बजार क्षेत्रमा जताततै खुलेआम लागूऔषधको प्रयोग भइरहेको हुन्छ । १०/१२ वर्षका किशोरदेखि युवाहरू यसमा फसेका छन् ।

खासगरी भारतसंॅग सीमा जोडिएका क्षेत्रहरूमा यसको ओसारपसार बढी हुने गरेको छ । दोधारा चाँदनी र जिल्लाको दक्षिणी क्षेत्र बेलौरी, पुनर्वास र बेलडाडीका भारतसंॅग सीमा जोडिएका क्षेत्रमा खुलेआम लागूऔषधको ओसारपसार र प्रयोग भइरहेको पाइन्छ । प्रहरीले यिनै क्षेत्रबाट दिनहुँजसो लागूऔषधका प्रयोगकर्तालाई पक्राउ गरिरहेको छ । जिल्लामा आउने प्रहरी प्रमुखले पहिलो प्राथमिकता लागूऔषध नियन्त्रण नै गर्ने प्रमुख लक्ष्य रहेको बताउने गरेका छन् । उनीहरूले हरेक कार्यक्रममा लागूऔषध नियन्त्रणका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालयका तथ्यांकअनुसार चाल आर्थिक वर्षमा लागूऔषध प्रयोग तथा ओसारपसरामा संलग्न ६ महिला, २१० पुरुष र १३ भारतीय नागरिक गरी २२९ जना पक्राउ परेका छन् । उनीहरूबाट करिब ३४ किलोग्राम चरेस, ६ सय ग्राम खैरो हेरोइन, १६८२ ट्याब्लेट नाइट्राभेट, ४७६ ट्याब्लेट स्पास २७६ सिसी जाइजेपाम बरामद भएको प्रहरी निरीक्षक बमले बताए । उनका अनुसार लागूऔषधसम्बन्धी १३६ मुद्दा दर्त्ता भएका छन् ।

गत आर्थिक वर्षमा १४१ मुद्दा दर्त्ता भएको प्रहरीले जनाएको छ । २१६ पुरुष, ४ महिला र १० जना भारतीय नागरिक गरी २३० जना पक्राउ परेको बमले बताए । उनका अनुसार डेढ किलोग्राम चरेस, ८३९ ग्राम खैरो हेरोइन, ८२० ट्याब्लेट नाइट्राभेट, १७८ ट्याब्लेट स्पामो बरमद गरिएको छ ।

‘खुला सीमा नै लागूऔषध नियन्त्रणको प्रमुख चुनौती देखिन्छ,’ लागूऔषध नियन्त्रणमा विशेष अभियानमा खटिएका प्रहरी निरीक्षक बमले भने, ‘ठूलो संख्यामा युवा समूह यो कुलतको दलदलमा फसेको छ ।’ उनका अनुसार भारतबाट लागूऔषध ल्याएर प्रयोग गर्ने र बिक्री गर्ने गरेको पाइन्छ ।

बेलौरी र पुनर्वास क्षेत्रबाट कञ्चनपुरका मात्रै नभई कैलाली, बर्दिया र बाँके सम्मका युवाहरू लागूऔषधसहित पक्राउ परेका छन् । यसले समेत यो क्षेत्र लागूऔषधको ट्रान्जिट पोइन्ट बन्दै गएको देखिन्छ । दुई वर्षअघि लागूऔषध ओसारपसारमा संलग्न व्यक्ति र प्रहरीबीच गोली हानाहान भएको थियो । बेलौरी नगरपालिकाको सीमा क्षेत्रमा प्रहरीको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको थियो ।

प्रकाशित : असार १७, २०७९ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?