कैलालीमा ४५ प्रतिशत रोपाइँ- सुदूरपश्चिम - कान्तिपुर समाचार

कैलालीमा ४५ प्रतिशत रोपाइँ

बोरिङको पानीले सिँचाइ गरेको एक दिनपछि वर्षा
मोहन बुडाऐर

धनगढी — धान दिवसको अवसरमा बुधवार कैलालीमा एकै दिनमा १५ प्रतिशतले रोपाइँ गर्न भ्याएका छन् । आकाशे पानीको भरमा बसेका किसानका लागि धान दिवसको दिन पानी पर्दा ठूलो संख्यामा एकै दिन रोपाइँ सम्भव भएको किसानहरूले बताए ।

कैलाली, भजनी नगरपालिको थापापुरमा रोपाइँका लागि बीउ काढ्दैकिसान । तस्बिर : मोहन/कान्तिपुर

‘खेत जोतेर आली माटो सम्याएर रोपाइँका लागि आकाशको पानी पर्खेर बसेका थियौं,’ धनगढी जुगेडाका लालबहादुर रानाले भने, ‘बुधबार बिहान सबेरैदेखि वर्षा सुरु भयो । हलगोरु निकालेर खेतमा गई रोपाइँ गर्न भ्यायौं । किसानलाई यो वर्षको धान दिवसमा रोपाइँ गर्न पाउँदा खुसी ल्याएको छ ।’

सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा मनसुन ढिलो सक्रिय भएका कारण किसानहरू चिन्तामा थिए । ‘यो वर्ष मनसुन ढिलो सक्रिय भएकोले बेर्ना बुढिँदै गएको थियो । बुढो बेर्नामा रोगकिरा बढी लाग्ने र उत्पादन राम्रो नहुने भएकोले चिन्ता छाउन लागेको थियो’ धनगढी बेलाका श्याम रानाले भने, ‘त्यसैले चाँडो वर्षाको आसमा किसान बसिरहेका थिए ।’

कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्रराज शर्माले धान दिवसका दिन वर्षा भएकोले एकै दिन १५ प्रतिशत बढी किसानले रोपाइँ गर्न भ्याएको बताए । उनका अनुसार मंगलबारसम्म कैलालीका ३० प्रतिशतले मात्रै रोपाइँ गर्न गरेका थिए । नहर, कुलोको पानी लाग्ने खेत र डिप बोरिङबाट सिँचाइ गर्न सक्ने किसानहरूको रोपाइँ गर्न भ्याएका थिए ।

डिप बोरिङबाट पानी निकालेर सिँचाइ गर्ने किसानलाई भने यति बेला डिजेलमा भएको मूल्य वृद्धिले अधिकांश आकाशे पानीको भरमा बसेका थिए । ‘मनसुन सक्रियताको प्रतीक्षामा बस्दा बेर्ना बूढो होला जस्तो लाग्यो’ धनगढी बेलापुरका दयासागर चौधरीले भने, ‘बोरिङको पानीले सिँचाइ गरेको एक दिनपछि मात्रै पानी पर्‍यो । खाली डिजेल खर्चमा परे ।’

मनसुन सक्रिय भएपछि अबको एक सातामा ८० प्रतिशत किसानले रोपाइँ गरिसक्ने कृषि ज्ञान केन्द्रका प्रमुख शर्माले बताए । ‘खेत खनजोत गरेर सम्याएर ठिक्क गरेपछि आकाशे पानीको प्रतीक्षामा किसान बसेका थिए,’ उनले भने, ‘बुधबारको जस्तै वर्षा भएमा ८० प्रतिशत किसानले एक सातामा रोपाइँ गर्न भ्याउँछन् ।’ कैलालीमा असार मसान्तसम्ममा शतप्रतिशत किसानले रोपाइँ गरिसक्ने उनले बताए ।

शर्माका अनुसार यो वर्ष ६७ हजार ५ सय हेक्टरमा धान रोपाइँ भएको छ । यसअघि कैलालीमा ७२ हजार हेक्टरसम्ममा धान रोपाइँ हुन्थ्यो । उनले जमिन खण्डीकरणतर्फ बढेकोले खेती गर्ने जमिन प्रत्येक वर्ष घट्दै गएकोले गत वर्षको तुलनामा ३

हजार हेक्टर कममा धान खेती भइरहेको बताए । रोपाइँ सुरु भए पनि अहिले किसानलाई मल र डिजेल अभाव बढेको छ । किसानले रोपाइँ गर्दा पर्याप्त डीएपी मल पाउन सकेका छैनन् ।

प्रकाशित : असार १७, २०७९ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्

दाङमा सवारी दुर्घटना : दुईको मृत्यु, दुई घाइते

दुर्गालाल केसी

दाङ — दाङको घोराहीमा मोटरसाइकलले दुई वटा साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक र एक साइकल यात्रीको मृत्यु भएको छ ।

घोराहीदेखि सौंडियारतर्फ जाँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले बिहीबार राति घोराही ७ बेसाईमा दुईवटा साइकललाई ठक्कर दिँदा साइकल यात्री घोराही १५ का १७ वर्षीय रितेश केसी र मोटरसाइकल चालक सोही स्थानका ३५ वर्षीय गंगाबहादुर कुँवरको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका दुबै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

दुर्घटनामा मोटरसाइकलमा सवार घोराही ७ का ३८ वर्षीय बसन्त चौधरी र साइकल यात्री घोराही १५ का विनोद भण्डारी घाइते भएको उनले जानकारी दिए । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : असार १७, २०७९ ०७:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×