२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

बैतडी–धनगढी उडान फेरि रोकियो

बैतडी — नियमित रूपमा सञ्चालन हुन नसकेको बैतडी—धनगढी उडान फेरि रोकिएको छ । चैतको पहिलो सातातिर भएको उडान त्यसपछि हुन सकेको छैन । बैतडीबाट धनगढी समिट एअरले उडान भर्दै आएको छ ।

उडान रोकिएको ३ महिना भइसक्दासमेत अब कहिले उडान हुने भन्ने टुंगो छैन । सुरुवातमा शुक्रबार उडान भर्दै आएको समिट एअरले केही समयअघिबाट बिहीबार उडान गर्दै आएको थियो । साताको एक दिन मात्र उडान हुने गरेको थियो ।

यात्रु नभएकोले उडान गर्न नसकिएको बैतडी पाटन विमानस्थल हेर्ने समिट एअरका कृष्ण भट्टले बताए । उनले भने, ‘चैतको पहिलो हप्तातिर एउटा उडान भएको थियो । त्यसयता भएको छैन । अहिले यात्रु अभावका कारण हामीले उडान गर्न सकेका छैनौं ।’ यात्रु कम भएर मात्र उडान गर्न नसकिएको उनले बताए । यात्रु भएपछि गर्न सकिने बताए । अन्तिम उडान हुॅदासम्म ४ हजार ६ सय भएको भाडा अहिले फेरि बढेको छ । अब ५ हजारमा मात्र उडान भर्न सकिने अवस्था रहेको भट्टले बताए ।

यता स्थानीय भने भाडा महँगो भएकोले यात्रुहरू नपाइने समस्या रहेको बताउँछन् । बढी भाडाकै कारण आफूहरूले हवाई सुविधा लिन नपाएको उनीहरूको गुनासो छ । यही दूरीको अन्य ठाउँको उडान सस्तो भए पनि बैतडीमा सुरुबाटै महँगो भएको स्थानीय कपिल केसी बताउँछन् । ‘स्थानीयले चढ्नै नसक्ने भाडा छ अनि कसरी यात्रु पाइन्छन् ? सुरुबाटै भाडा व्यवस्थापन हुन सकेको छैन,’ उनले भने ।

यत्तिकै दूरीको काठमाडौं—पोखराको भाडा, यहाँभन्दा टाढा अछामबाट धनगढीको भाडा कमै भए पनि यहाँको महंँगो भएको चेतना बोहराले बताइन् । उनले भनिन्, ‘भाडा निकै अवैज्ञानिक र अपारदर्शी छ । हवाई सेवा सर्वसाधारणको पहुँचमा छैन ।’ एउटै एयरलाइन्सको जिम्मा लगाएर महंगो भाडादर कायम भएकाले यात्रुहरू नपाउने समस्या रहेको उनले बताइन् ।

प्रकाशित : असार १६, २०७९ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?