कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

शुक्लाफाँटामा बढे आन्तरिक पर्यटक

घुम्न आउने आन्तरिक पर्यटकमध्ये धेरैजसो कञ्चनपुर र कैलालीका
भवानी भट्ट

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्ला २ वर्ष कोरोना महामारीका कारण पर्यटक आवागमनमा कमी आएकामा यस वर्ष केही सुधार आएको छ । विदेशीभन्दा आन्तरिक पर्यटकको आगमन बढेको निकुञ्जले जनाएको छ ।

शुक्लाफाँटामा बढे आन्तरिक पर्यटक

चालु आर्थिक वर्षको जेठसम्म निकुञ्जमा २ हजार ५ सय ९७ पर्यटक भित्रिसकेका छन्, जसमध्ये आन्तरिक पर्यटक २ हजार ४ सय ७५, सार्क राष्ट्रका पर्यटक ८८ र विदेशी पर्यटक ३४ जना रहेको निकुञ्जको तथ्यांक छ । गत आर्थिक वर्षमा निकुञ्जमा २ हजार ५ सयको हाराहारीमा पर्यटक भित्रिएका थिए ।

बर्खा लागेसँगै निकुञ्जमा हरेक जेठ १५ देखि जंगल सफारी बन्द गरिन्छ । तर, यो वर्ष खासै वर्षा नभएका कारण अझै सफारी सञ्चालनमा छ । ‘अहिले पर्यटकको संख्या पनि न्यून छ, वर्षा खासै नभएकाले निकुञ्जभित्र आउजाउ गर्न खासै समस्या पनि छैन,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले भने, ‘भारी वर्षा हुन थालेपछि सफारी बन्द हुन्छ ।’ कोरोना संक्रमणपछि घुमफिर गर्ने परिपाटी बढेको छ, जसका कारण निकुञ्जमा आन्तरिक पर्यटकको संख्या बढेको मेहता बताउँछन् ।

शुक्लाफाँटा घुम्न आउने आन्तरिक पर्यटकमध्ये धेरैजसो कञ्चनपुर र कैलालीका छन् । निकुञ्जमा न्यून संख्यामा मात्रै विदेशी पर्यटक आउने गरेका छन् । पछिल्ला ३/४ वर्षमा कुनै पनि वर्ष विदेशी पर्यटकको संख्या सय नाघेको छैन । चालु आर्थिक वर्षमा मात्रै सार्क मुलुकसहितका पर्यटकको संख्या १ सय २२ पुगेको छ । निकुञ्जमा बाघ, एकसिंगे गैंडालगायत वन्यजन्तुको संख्यामा आएको वृद्धिले पनि आन्तरिक पर्यटक आकर्षित भएको दाबी गरिएको छ । पर्यटकहरूले समेत दिनहुँजसो सफारीमा बाघ देखिने गरेको बताउँछन् । निकुञ्जले दुई वर्षअघि गरेको गणनाअनुसार यहाँ १९ वटा वयस्क बाघ भेटिएका थिए । गत वर्ष राष्ट्रिय गणना भए पनि नतिजा सार्वजनिक भइसकेको छैन ।

पर्यटकको अर्को आकर्षण निकुञ्जको विशाल घाँसे मैदान पनि हो । ५४ वर्गकिमि क्षेत्रमा फैलिएको घाँसे मैदानमा देखिने बाह्रसिंगाको बथानले पर्यटकको मन लोभ्याउने गरेको छ । यहाँ एकैपटक सयौंको संख्यामा बाह्रसिंगा देख्न पाइन्छ । गत वर्षको गणनामा निकुञ्जमा २ हजार ३ सयभन्दा बढी बाह्रसिंगा पाइएका थिए । भीमदत्त नगरपालिकाले बर्सेनि आयोजना गर्ने शुक्लाफाँटा पर्यटन महोत्सवले समेत निकुञ्जको प्रचारप्रसारमा टेवा पुगेको मेहताले बताए । नगरपालिकाले निकुञ्जमा पर्यटक भित्र्याउने लक्ष्यका साथ पर्यटन महोत्सव आयोजना गर्दै आएको छ । तत्कालीन वन्यजन्तु आरक्षलाई निकुञ्जमा स्तरोन्नति गरिएको दिन फागुन ९ मा महोत्सव आयोजना हुँदै आएको छ । आरक्षलाई ०७४ मा निकुञ्ज घोषणा गरिएको हो ।

प्रकाशित : असार १४, २०७९ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?