कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

ओलानीमा पुग्यो खानेपानी

‘अहिले घरघरमा धारा बनेका छन्, चौबिसै घण्टा पानी आउँछ’
अर्जुन शाह

धनगढी — कैलालीको ओलानी क्षेत्रमा खानेपानीको यति धेरै संकट थियो कि यहाँ बसोबास भएकाहरूलाई इष्टमित्रहरूले छोरीबेटी पनि दिन अप्ठेरो मान्थे । तीन हजार बढी परिवारको बसोबास भएको चुरे फेदीको भावर क्षेत्रका रूपमा रहेको ओलानीका बासिन्दा गाउँदेखि केही पर रहेको मछली खोला र त्यही खोलाबाट आएको नहरको पानी खान बाध्य थिए । दशकौंदेखिको त्यो समस्या अहिले टरेको छ । घरघरमा रातदिन पानी आउने धारा बनेपछि गाउँको मुहारै बदलिएको छ ।

ओलानीमा पुग्यो खानेपानी

विगतमा खानेपानीकै अभावका कारण ओलानी गाउँका बासिन्दा अपहेलित भएको स्थानीय शिक्षक कृष्णबहादुर विकले सम्झिए । उनले खानेपानी नभएकै कारण ओलानीमा चेलीबेटीको विवाह गरेर पठाउन नमान्ने अवस्था रहेको सुनाए । ‘खानेपानीको दुःख थाहा पाएका इष्टमित्रहरू त हाम्रो गाउँमा छोरी दिन पनि अन्कनाउने अवस्था थियो,’ शिक्षक विकले भने ‘अहिले त्यो दुःख हटेको छ । घरघरमा कलकल पानी आउने धारा बनेका छन् ।’

गोदावरी नगरपालिका १०, ११ र १२ मा पर्ने ओलानीमा खानेपानी सुविधा पुगेको हो । ‘खानेपानीका लागि हामीले धेरै दुःख पायौं,’ वडा नम्बर ११ की स्थानीय पार्वती विकले भनिन्, ‘अहिले घरघरमा धारा बनेका छन् । चौबिसै घण्टा पानी आउँछ ।’ ०५७ सालमा कोलमुडा खोलाबाट ओलानीमा सञ्चालन गरिएको खानेपानी योजना पहिरोले बगाएपछि खानेपानीको संकट भएको थियो ।

गोदावरी नगरपालिका वडा नं. ११, वीरेन्द्रपुरमा ८ सय परिवारलाई धान्ने गरी गोदावरी खानेपानी योजना र सोही वडाको लिउसन टोलमा तारा खानेपानी योजना निर्माण भएपछि ओलानीका घरघरमा खानेपानी सुविधा भएको हो । प्रदेश सरकारको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, गोदावरी नगरपालिका र विभिन्न दातृ संस्थाको सहयोगमा वडा कार्यलयमार्फत खानेपानी योजना निर्माण भएको वडा नम्बर ११ का निवर्तमान वडा अध्यक्ष शिव विकले बताए । उनले पानीको सुविधा भएपछि टोलटोलमा सिँचाइ गरेर कृषि उत्पादनसमेत बढाउन सकिने सुविधा भएको बताए ।

गोदावरी नगरपालिकाको वडा नम्बर १० मा १ हजार २ सय, ११ मा १ हजार र १२ मा १ हजार १ सय घरधुरीको बसोबास छ । ती सबै परिवारमा खानेपानी पुगेको गोदावरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्ण विकले बताए । गोदावरी खानेपानी उपभोक्ता समितिले निर्माण गरेको आयोजनाका उपभोक्ता समितिका अध्यक्ष कृष्ण विकले तीन वर्ष लगाएर घरघरमा पानी पुर्‍याउन सफल भएको जनाए । उनका अनुसार विगतमा मछली खोलामा मुहान थियो । त्यो मुहान सुकेपछि अहिले भूमिगत पानीको स्रोत उपयोग गरेर ओभरहेड टंकी निर्माण गरी घरघरमा धारा जडान गरिएको विकले बताए ।

प्रकाशित : असार १४, २०७९ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?