२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सवारी भाडामा मनपरी

तृप्ति शाही

बैतडी — गोठलापानी बजारबाट नेपाल–भारत सीमानाका झुलाघाटको दूरी १९ किलोमिटर छ । यो सडकमा दैनिक सयौं यात्रु ओहोरदोहोर गर्छन् । दैनिक घरायसी सामान किनमेलका लागि स्थानीय दिनहॅु भारतीय बजार झुलाघाट पुग्ने गर्छन् । रोजगारीका लागि भारत जाने र भारतबाट फर्किनेहरू पनि यही सडक हुँदै आउजाउ गर्छन् । १९ किमि पक्की सडकको भाडा भने २५० रुपैयाँ छ । सवारीधनीहरूले यात्रुबाट मनपरी भाडा असुलिरहेका छन् । तर, नियमनकारी निकाय भने यसमा बेखबर छ ।

सवारी भाडामा मनपरी

भाडा नियन्त्रण हुनुको साटो वर्षैपिच्छे बढिरहेको यात्रुको गुनासो छ । २ वर्षअगाडि सय रुपैयाँ (एकतर्फी) मा आउने–जाने गरेकोमा अहिले साढे २ सय लिने गरिएको स्थानीय लीला भण्डारीले सुनाइन् । ‘गोठलापानीबाट झुलाघाट गएको भाडा यति धेरै त नहुनुपर्ने हो । तर, नदिए लानै मान्दैनन् । अनि भनेजति दिन बाध्य छौं । सबैले यही भाडा तिरेर ओहोरदोहोर गरिरहेका छन्,’ उनले भनिन् ।

सीमावर्ती बजारबाट सामान ल्याउँदा पनि चर्को भाडा लिने गरिएको गुनासो गरिन् दशरथ चन्द नगरपालिका–४ की अञ्जली रानाले । ‘सस्तो हुन्छ भनेर भारतीय बजार सामान लिन जान्छौं । तर, सामानको पनि भाडा तिर्ने गरेका छौं । नभए गाडीवालाले ल्याइदिन्नन्,’ उनले भनिन्, ‘मान्छेसँगै सामानको भाडा पनि छुट्टै दिनुपर्ने हुन्छ । जती धेरै सामान भयो उति धेरै भाडा लिन्छन् ।’

झुलाघाटबाट फर्किंदा बुड्डा, तिरखडेनी, अदरपिण्ड, बाराकोट, त्रिपुरालगायत ४/५ किलोमिटरको दूरीमा रहेका यी ठाउँसम्म यात्रा गर्दा पनि पूरा भाडा असुल्ने गरिएको स्थानीय गुनासो गर्छन् । एक महिनाअघि मात्रै १५/२० मिनेटको यात्रा गर्दा २ सय रुपैयाँ भाडा बुझाएको स्थानीय बिना बुडालले सुनाइन् । यस्तै, ३२ किलोमिटर लामो दशरथ चन्द नगरपालिकाको देहिमाण्डौ–गिरेगडा सडकको भाडा ५ सय रुपैयाँ छ । इन्धनको मूल्य बढेको भन्दै सवारीधनीहरूले मनोमानी भाडा लिने गरेका दशरथ चन्द–९ की शान्ति जोशीले बताइन् । भाडाको विषयमा सरोकारवाला निकाय मौन बस्दा आमनागरिकले सास्ती भोग्नुपरेको गुनासो उनको छ । तल्लोस्वराड क्षेत्रमा पनि यात्रुहरू महँगो भाडा तिरेर यात्रा गर्न बाध्य छन् । पाटनबाट मेलौली ३२ किलोमिटरको भाडा ५ सय रुपैयाँ तिरिरहेको स्थानीय बताउँछन् । मेलौलीबाट शिवनाथ र पञ्चेश्वरको भाडा पनि उस्तै महँगो छ । जिल्लामा सञ्चालित महाकाली यातायात र सुदूरपश्चिम यातायात व्यवसायी संघले यातायात व्यवस्था विभागसँगको समन्वयमा भाडादर कायम गरेका छन् । तर, तोकिएको भन्दा बढी मूल्यमा यात्रा गर्न यहाँका स्थानीय बाध्य छन् ।

बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले भने आफूहरूकहाँ त्यस्तो गुनासो नआएको बताए । उनले भने, ‘जिल्लामा भाडादर कायम गरिएको छ । पाटन—मेलौली सडकका लागि निर्धारण गरिएको भाडादर भने बढी भएकाले हामीले महाकाली यातायात समितिलाई पत्राचार गरेका छौं । परिमार्जित गर्ने कुरा पनि गर्नुभएको छ ।’ प्रहरीले अनुगमन पनिगरिरहेको उनको भनाइ छ । अब बिनाटिकट कुनै यात्रु पनि बसमा नभेटिने भन्दै प्रहरीले अनुगमन गरिरहेको उनले बताए ।

प्रकाशित : असार १३, २०७९ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?