२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कञ्चनपुरमा दिनहुँजसो सवारी दुर्घटना

भवानी भट्ट

कञ्चनपुर — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७ सुडामा भारतीय नम्बरको कारले ठक्कर दिँदा बिहीबार एक किशोर घाइते भए । साइकलमा सवार १५ वर्षीय किशोरको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि सिटी स्क्यानका लागि धनगढी रिफर गरिएको छ ।

कञ्चनपुरमा दिनहुँजसो सवारी दुर्घटना

भारतीय नम्बरको कारले साइकलमा यात्रा गरिरहेका किशोरलाई ठक्कर दिएकै ठाउँमा एक दिनअघि बुधबार बसको ठक्करबाट एक महिलाको मृत्यु भएको थियो । साइकलमा यात्रा गरिरहेकी उनलाई बाटो काटने बेला बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएकी २८ वर्षीया महिलालाई बसले ब्याक गरेर पुन: च्यापेको आफन्तको आरोप छ ।

बुधबारै बेलौरी नगरपालिका–५ रामनगरमा मोटरसाइकलले राँगा गाडालाई ठक्कर दिँदा एक जनाको मृत्यु भयो भने एक घाइते भए । मादक पदार्थ सेवन गरेर हेल्मेट समेत नलगाई मोटरसाइकल चलाइरहेको युवकको मृत्यु भएको हो । मोटरसाइकलमा सवार अर्का युवक गम्भीर घाइते भएका छन् ।

मुख्य राजमार्गमा होस् वा बजार क्षेत्र तथा ग्रामीण क्षेत्र जताततै दिनहु‘ सडक दुर्घटनाहरु भइरहेका छन् । हरेक दिन एक/दुई जनाको मृत्यु पनि भइरहेको छ । अनियन्त्रित रुपमा सवारी साधन चलाउने, ट्राफिक नियमको पालना नगर्ने र राजमार्गमा यात्रु छोप्ने होडबाजीले दुर्घटना बढेको सरोकारवाला बताउँछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जेठमा मात्रै ५ वटा दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । असारको दुई सातामा मात्रै ५ भन्दा बढी दुर्घटना भइसकेका छन् भने ५ जनाको मृत्यु भइसकेको छ ।

‘केही दिनयता दुर्घटना निकै बढेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी श्याम चौधरीले भने, ‘सवारी धनी र चालककै लापरबाहीले बढी दुर्घटना भएका छन् ।’ उनका अनुसार पछिल्ला केही दुर्घटनामा मदिरा सेवन गरेर वा लागूऔषधको प्रयोग गरेर सवारी साधन चलाउने, लेनको प्रयोग नगर्ने र ब्रेक भएर पनि प्रयोग नगरेको देखिएको छ ।

‘आफू नै पहिलो हुने होडबाजी देखिन्छ,’ एसपी चौधरीले भने, ‘सवारी धनीले पनि चालकको अवस्था नबुझेरै चलाउन दिएको पाइन्छ ।’ उनका अनुसार राजमार्ग क्षेत्रमा यात्रु छोप्ने होडबाजीले पनि ओभरटेक गर्दा दुर्घटना भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको जेठसम्म ९० दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ भने ६१ जना गम्भीर घाइते भएका छन् । सामान्य घाइते हुनेको संख्या ६४ छ । दुर्घटनाबाटै ६ चौपायाको मृत्यु भएको छ । कतिपय दुर्घटनाको मुख्य कारण छाडा चौपाया पनि भएका छन् । रातिको समयमा सडकमै बसेका चौपाया नदेखिने गरेका कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

गत आर्थिक वर्षमा कञ्चनपुरका विभिन्न क्षेत्रमा गरी ९७ दुर्घटना भएका छन् । जसमा ३३ जनाको मृत्यु र ८७ जना गम्भीर घाइते भएका छन् । सामान्य घाइते हुनेको संख्या ६० जना । दुर्घटनाबाटै ४ चौपायाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १२, २०७९ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?