कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

जयपृथ्वीको सालिक तोडफोड

गतवर्ष असोजमा बझाङ्गी भाषाको चलचित्र छायांकनका लागि चोकमा सालिक राखिएको थियो ।
वसन्तप्रताप सिंह

बझाङ — बझाङ सदरमुकाम चैनपुरको लोकतान्त्रिक चोकमा राखिएको जयपृथ्वीबहादुर सिंहको सालिक तोडफोड गरिएको छ । बझाङ्गी भाषाको चलचित्र छायांकनका लागि गतवर्ष असोजमा उक्त चोकमा सालिक राखिएको थियो । सालिक कहिले र कसले तोडफोड गर्‍यो भन्नेबारे भने प्रहरी, प्रशासनदेखि स्थानीय पनि अनभिज्ञ छन् ।

जयपृथ्वीको सालिक तोडफोड

अर्ध कदको सालिक तोडफोड गरेर टाउकोको भाग शरीरबाट छुट्याएर फुटाइएको छ भने उनको नाम र जन्ममिति लेखिएको धातुको प्लेटमा पनि ढुंगाले हानेर तोडफोड गरिएको छ । फुटेको टाउकोको भाग सालिकसँगै राखिएको छ । ‘एक दुईहप्ता अगाडिसम्म ठिकै थियो,’ सालिक नजिक व्यापार सञ्चालन गरिरहेकी स्थानीय बसन्ती थापाले भनिन्, ‘कसले कतिबेला फुटायो केही थाहा भएन ।’ उनले जिल्लामा मात्रै नभएर देश विदेशमा सम्मानका साथ नाम लिइने व्यक्तिको सालिक तोडफोड हुनु गलत काम भएको बताइन् ।

बझाङी भाषाको एक चलचित्र निर्माणको क्रममा गत वर्ष असोज १९ गते लोकतान्त्रिक चोकमा उक्त सालिक स्थापना गरिएको थियो । करिब २ महिनाजति मुख्य चोकमा रहेको सालिकका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै चोकभन्दा केही पर कुनामा सारिएको थियो । सालिक राखिएको ठाउँ छेकिने गरी त्यस ठाउँमा गाडीहरु पार्किङ गर्ने गरिएको थियो ।

जयपृथ्वीको सालिक तोडफोड भएपछि सालिकको सुरक्षा र व्यवस्थापन गर्न नसकेको भनेर स्थानीय आक्रोश व्यक्त गर्न थालेका छन् । ‘सदरमुकामको मुटुमा रहेको सालिकको समेत सुरक्षा गर्न नसक्नेले अपमान त नगर्नु नि,’ सालिक रहेको स्थान नजिकै घर भएकी जिल्ला अस्पतालकी सेवानिवृत वरिष्ठ नर्स उमा केसीले भनिन्, ‘जयपृथ्वी जस्तो व्यक्तिको सालिक यस्तो हालतमा रहेको कति दिन भइसक्यो । न कसैलाई कारबाही भएको छ । न त सालिकको कतै व्यवस्थापन गरिएको छ,’ उनले राज्यले राष्ट्रिय विभूतिको सम्मान दिएको व्यक्तिको सालिक तोडफोड भएको अवस्थामा मुख्यचोकमा राखिनु अपमान भएको बताउँदै त्यसको पुनर्निर्माण गरेर सुरक्षित तरिकाले व्यवस्थापन गर्नुपर्ने बताइन् ।

फिल्म छायांकन हुन्जेल सालिक सडकको माझमै राख्ने र त्यसपछि नगरपालिकासँग समन्वय गरेर अर्को उपयुक्त ठाउँमा सारिने बताइएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीले सालिक तोडफोड गरेको विषयमा आफूलाई खबर आएको भएपनि नगरसभामा व्यस्त भएका कारण हेर्न जान नपाएको बताए । ‘तोडफोड भएको छ भन्ने खबर त आएको हो । नगरसभामा व्यस्त भएकाले जान पाइएको छैन । यो विषयमा मेयरसा'बसँग सल्लाह गर्छु,’ उनले भने ।

सालिक तोडफोड भएको विषयमा प्रहरीलाई पनि जानकारी नभएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख जनक ढुंगानाले बताए । ‘यो बारेमा हामीलाई त कुनै सूचना आएको छैन । के भएको रहेछ बुझ्न पठाउँछु,’ उनले भने ।

सदरमुकाम चैनपुरको लोकतान्त्रिक चोक चौबिसै घन्टा प्रहरीको निगरानीमा हुने ठाउँ हो । बझाङमा जन्मिएका मानवतावादी राजा जयपृथ्वीलाई असार ६ गते मात्रै नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : असार १२, २०७९ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?