बैतडीमा कालाजारका बिरामी

तृप्ति शाही

बैतडी — बैतडीमा पनि कालाजारका बिरामी देखिएका छन् । कालाजारबाटै एक बालकको मृत्युसमेत भएको छ । मृत्यु हुनेमा शिवनाथ गाउँपालिकाका ३ वर्षका बालक छन् । योभन्दा अघि यसका बिरामीहरू जिल्लामा १/२ जना देखिने गरे पनि यो वर्षबाट भने एक्कासि बढेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बैतडीमा कालाजारका बिरामी

वैशाखबाट अहिलेसम्म ९ जनामा कालाजार देखिसकेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनका अनुसार जिल्लामा कालाजार यसअघि थिएन । पछिल्लो समय कालाजार बढ्दै गएर समस्याको रूपमा आउन थालेको उनले बताए । जिल्लाका दशरथचन्द नगरपालिका, सुर्नया, दोगडाकेदार र शिवनाथ गाउॅपालिकामा कालाजार देखिएको हो । विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीमा कालाजार देखिएको हो । कालाजार देखिएका प्रत्येक व्यक्तिको परिवारसँगै समुदायका २५ जनामा परीक्षण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए । यो परीक्षणमा भने सबै नेगेटिभ देखिएका उनले बताए ।

यस्तै, जिल्लाका ३ पालिका मलेरियाको पनि उच्च जोखिममा छन् । तल्लोस्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिका मलेरियाको उच्च जोखीममा छन् । पुर्चौडी नगरपालिकाका एक जनामा पनि मलेरिया देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । अबको केही हप्तापछि जिल्लाका अस्पतालसॅंगै अन्य स्वास्थ्य संस्थाहरूमा मलेरियाका बिरामी बढ्ने सिजन भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्त बताउछन् । उनका अनुसार आजभोली भने बिरामीहरू आएका छैनन् । अब विस्तारै देखिने समय हुन थालेको छ ।

मलेरियाको जोखिम भएको तल्लोस्वराड क्षेत्रमा झुल वितरणसँगै औषधि छर्किनेलगायतका रोकथामका उपाय हुने गरेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताए । स्वास्थ्य कार्यालय र पालिकाहरूले कार्यक्रम सहयोग र समन्वय गर्ने गरेका उनले बताए ।

प्रकाशित : असार १२, २०७९ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?