३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मल अभावका बीच रोपाइँ

‘एकातिर मल र सिँचाइको असुविधा छ भने अर्कोतिर बीउबिजनदेखि कामदार पाइँदैनन्’
भवानी भट्ट

कञ्चनपुर — कोही खेत जोत्दै छन् । कोही खनिरहेका छन् । महिलाहरू धान रोप्दै छन् । चर्को घामका बीच पनि कृषकहरूलाई रोपाइँ गर्न भ्याइनभ्याइ छ । खेतिपातीका बेला रासायनिक मलको हाहाकार छ । अर्कोतिर असार दोस्रो सातासम्म पनि वर्षा भएको छैन । यसका बाबजुद पनि कृषकहरू धमाधम रोपाइॅमा जुटेका हुन् ।

मल अभावका बीच रोपाइँ

पश्चिम तराइको कैलाली र कञ्चनपुरको मुख्य खेती धान बाली नै हो । यस क्षेत्रमा लामो समयदेखि वर्षा हुन सकेको छैन । अर्कोतर्फ रासायनिक मलको हाहाकार छ । यि समस्याका बाबजुद पनि कृषकहरू जेनतेन रोपाइॅमा गरिरहेका छन् ।

‘यसपाली त पानी पनि परेन, मल पनि पाइएन,’ भीमदत्त नगरपालिका १० का दिपक जोशीले भने, ‘जेनतेन रोपाइॅ गरिरहेका छौं, मल विना नै रोपाइॅ भयो ।’ उक्त क्षेत्रमा भूमिगत सिंॅचाइबाट रोपाइॅ गरिन्छ । सिँचाइका लागि खेतमा पानी भर्न निकै बढी समय लागिरहेको उनले बताए ।

विगतमा अर्मपर्म गरेर रोपाइॅ लगाउने चलन थियो । तर अहिले कृषि कर्म गर्नेको संख्या कम हुॅदै गएपछि अर्मपर्म गर्नेहरू घटेका छन् । जसका कारण ग्रामीण भेगमा कृषि मजदुर पाउन समेत समस्या हुने गरेको छ । ‘रोपाइॅका लागि मजदुर पाउनै गाह्रो छ,’ अर्का कृषक रामदत्त पन्तले भने, ‘एकातिर मल र सिॅंचाइको असुविधा छ भने अर्कोतिर बीउविजनदेखि कामदार पाइँदैनन ।’ उनले पछिल्लो समय धानको उत्पादनसमेत घट्दै गएको बताए ।

विगतमा हलगोरुबाट रोपाइॅ गरिने चलन थियो । तर अहिले हलगोरु भेट्नै मुस्किल हुन्छ । अधिकांशले ट्र्याक्टर तथा पावर टिलरको प्रयोग गर्छन् । कृषि यन्त्रहरूको प्रयोग बढ्दा हलगोरुको प्रयोग घटदै गएको छ । खेतीयोग्य जमिन खण्डीकरण हुॅदै गएका कारण पनि कृषकहरूले हलगोरु पाल्न छाडेका हुन् । वर्षभरि हलगोरु पालेर रोपाइॅ गर्नुभन्दा पनि ट्रयाक्टरले रोपाइॅ लगाउन सस्तो पर्ने कृषकहरू बताउछन् ।

कञ्चनपुरमा करिब ४८ हजार हेक्टरमा धान खेती गरिन्छ । यहाँ धानको उत्पादकत्व करिब ४ मेट्रिक टन प्रति हेक्टर छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार जिल्लाभरिमा करिब ५ प्रतिशत रोपाँइ भएको छ । वर्षा नभएका कारण रोपाइॅ कम भएका ज्ञान केन्द्रका प्रमुख दिलबहादुर विष्टले बताए ।

‘वर्षा भएको भए अहिलेसम्म रोपाँई आधा सकिन्थ्यो,’ उनले भने, ‘सिँचाइ सुविधा भएको ठाउँमा रोपाइॅ गरिरहेका छन्, अन्य ठाउँमा आकासे पानीकै पर्खाइमा छन् ।’ उनका अनुसार वर्षा नभएका कारण बीउ बुढो भइसक्दा समेत कृषकहरू कुरेर बसेका छन् । जेठ पहिलो साता छरेको बिउ बुढो भइसकेको छ ।

यसपटक कृषकहरूले धानको बीउ पनि सहजै पाएनन् । गत वर्ष कात्तिक पहिलो साताको वर्षाले धानवाली खेतमै भिजेका कारण बीउको समेत अभाव भएको हो । अधिकांश कृषकले स्थानीय बजार तथा सीमावर्ती बजारबाट बीउ किनेर छरेका हुन् ।

प्रकाशित : असार १२, २०७९ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?