१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

सुदूरपश्चिममा ८४ पालिकाले ल्याए बजेट

बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचन नै नभएकाले नीति तथा कार्यक्रम र बजेट आउन सकेन

धनगढी — सुदूरपश्चिमका कुल ८८ स्थानीय तहमध्ये ८४ स्थानीय तहले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचन नै भएको छैन । शुक्रबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुन सकेन ।

सुदूरपश्चिममा ८४ पालिकाले ल्याए बजेट

कार्यपालिका समितिमै अध्यक्ष र उपाध्यक्ष अल्पमतमा परेपछि डोटीको बोगटान फुडसिल गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुन सकेन । डडेलधुराको नवदुर्गा गाउँपालिकाले बजेट ल्याए नल्याएको शुक्रबार अबेरसम्म जानकारी हुन सकेको छैन् ।

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीले आर्थिक वर्ष ०७९/८० का लागि १ अर्ब ८३ करोड ८९ लाख बढीको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको तुलनामा जम्मा एक करोड ६ लाख बढी हो । उपप्रमुख कन्दकला कुमारी रानाद्वारा प्रस्तुत कुल बजेटमा चालुतर्फ एक अर्ब ३ करोड बढी र पुँजीगततर्फ ८० करोड ७० लाख छ । उपमहानगरले आन्तरिक आयबाट २६ करोड ७९ लाख, राजस्व बाँडफाँटबाट ४७ करोड २९ लाख, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ९६ करोड ४८ लाख, प्रदेश सरकारबाट ३५ करोड ३४ लाख ५ हजार आम्दानी हुने उल्लेख गरिएको छ । प्रस्तुत बजेटमा सामाजिक विकासतर्फ सबैभन्दा बढी ७४ करोड ७८ लाख ३३ हजार, अर्थात् ४० प्रतिशत बढी विनियोजन गरिएको छ । पूर्वाधार विकासतर्फ ४५ करोड १० लाख, कार्यालय सञ्चालनमा ४१ करोड ८५ लाख विनियोजन गरिएको छ । कार्यक्रमको आर्थिक विकासतर्फ १४ करोड ४२ लाख, सुशासनतर्फ ७ करोड ७३ लाख विनियोजित गरिएको छ ।

बजेटमा कारारमा कार्यरत कर्मचारीलाई पुनरावलोकन गर्दै प्रशासनिक खर्चको भार घटाउने बताएको छ । विकास खर्चलाई चालु खर्चमा परिवर्तन गर्न नपाउने भनिएको छ । खरिद प्रक्रियालाई पारदर्शी बनाउँदै समयमै खरिद कार्य सम्पन्न हुने र आफ्नै आन्तरिक स्रोतले चालु खर्च धान्ने गरी आत्मनिर्भर उन्मुख बजेट कार्यान्वयन गर्ने व्यवस्था मिलाएको बजेटमा उल्लेख छ । सात वटा स्थानीय तह रहेको डडेलधुरामा साँझ अबेरसम्म नवदुर्गा गाउँपालिकाबाहेक सबैले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । आगामी वर्षको बजेटमा कृषि उत्पादनलाई प्राथमिकतामा राखेको अजयमेरु गाउँपालिकाले ४७ करोड ५८ लाख १३ हजारको बजेट प्रस्तुतगरिएको गाउँपालिका प्रमुख उमेश भट्टले बताए । भागेश्वर गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।

सदरमुकामको अमरगढी नगरपालिकाले भने फरक खाले बजेट प्रस्तुत गरेको छ । कुल ६३ करोड ९६ लाखको बजेट प्रस्तुत गरेको नगरपालिकाले पर्यावरण संरक्षण, नगर सरसफाइ, सुशासन र कृषि उत्पादनलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको छ । पर्यावरण संरक्षण र डडेलधुरालाई सुन्दर नगर बनाउने योजनाअन्तर्गत बजेट पनि त्यहीअनुसार बनाइएको नगरप्रमुख डिल्लीराज जोशीले जानकारी दिए । परशुराम नगरपालिकाले पनि पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको छ । ७८ करोड ४८ लाख ३४ हजार कुल बजेट रहेको परशुराम नगरपालिकाले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा विगतभन्दा पृथक् योजना छैनन् । जिल्लाको भित्री मधेसमा पर्ने आलीताल गाउँपालिकाले ४६ करोड ६८ लाखको बजेट प्रस्तुत गरेको छ । प्रधानमन्त्री देउवाको गृहपालिका गन्यापधुरामा कुल ३८ करोड ३ लाख बजेट छ ।

जयपृथ्वीको ५५ करोड २९ लाख

आगामी आर्थिक वर्षका लागि बझाङको जयपृथ्वी नगरपालिकाले ५५ करोड २९ लाख ८१ हजार बजेट प्रस्तुत गरेको छ । नगरसभामा उपप्रमुख रतनबहादुर सिंहले उक्त बजेट प्रस्तुत गरेका हुन् । समृद्ध जयपृथ्वी नगरपालिका निर्माणको मूल आधार, दिगो कृषि, पर्यटन, व्यापार र उत्थानशील पूर्वाधार भन्ने नारा दिएर स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार निर्माण, वन वातावरण, विपद् व्यवस्थापन र सुशासनका क्षेत्रमा उक्त रकम खर्च गरिने उल्लेख छ ।

एक घर एक धारा, सार्वजनिक शौचालयको निर्माण, पानीको गुणस्तर परीक्षण, ढल निकास र फोहोरबाट कम्पोस्ट मल बनाउने काम गरिने नीति कार्यक्रममा उल्लेख छ । नगरपालिकाले खेलकुद, सामाजिक सुरक्षा, पूर्वाधार विकास वन वातावरण र विपद् व्यवस्थापनका क्षेत्रमा पनि उल्लख्य बजेट विनियोजन गरेको नगरपालिकाले करार सेवामा कार्यरत कर्मचारीको कल्याण कोष स्थापना गर्ने, सेवाको गुणस्तर थाहा पाउन तेस्रो पक्षबाट नागरिकको सन्तुष्टिस्तर मापन गर्ने जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।

कञ्चनपुरमा अधिकांश पुरानै कार्यक्रम

कञ्चनपुरका सबै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । ७ नगरपालिका र २ गाउँपालिका गरी ९ वटै स्थानीय तहले गाउँ/नगरसभाबाट नीति तथा कार्यक्रम र बजेट पारित गरेका हुन् । सदरमुकाम रहेको भीमदत्त नगरपालिकाले सबैभन्दा बढी एक अर्ब ८४ करोडको बजेट पारित गरेको छ । बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास र बेलौरी नगरपालिकाले ७० करोडदेखि १ अर्बको हाराहारी बजेट पारित गरेका छन् । जिल्लामा रहेका दुई वटा गाउँपालिका बेलडाँडीले ४८ करोड र लालझाडीले ५३ करोडको बजेट पारित गरेको छ ।

जिल्लाका सबै पालिकाले कृषि र शिक्षालाई प्राथमिकतामा राखेका छन् । विगतका कार्यक्रमहरूलाई निरन्तरता दिँदै एक गाउँ एक उत्पादनदेखि एक वडा एक उद्यमलगायत कार्यक्रमहरू अघि सारेका छन् । दोधारा–चाँदनी नगरपालिकाले कृषि संकलन केन्द्रसँगै भण्डारका लागि चिस्यान केन्द्र स्थापना र बजारीकरणका लागि बिक्री केन्द्र सञ्चालनलगायत योजना अघि सारेको छ ।

कृष्णपुर नगरपालिकाले जमिन लिजमा लएर भूमिहीन विपन्न र गरिबलाई सामूहिक कृषिमा आकर्षित गर्ने, नौ वटै वडाका स्वस्थ्य संस्थालाई स्तरोन्नति गर्नेलगायत कार्यक्रम ल्याएको छ । शुक्लाफाँटा नगरपालिकाले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने, कृषि उत्पादन बढाउन सिँचाइका लागि भूमिगत सिँचाइ बढाउनेलगायत कार्यक्रमहरू ल्याएको छ ।

डोटीको केआईसिंह गाउँपालिकाको ४० करोड ६३ लाख बजेट प्रस्तुत गरिएको छ । यसअघि एमबीबीएस डाक्टर नियुक्त गरेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको केआईसिंह गाउँपालिकामा विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्नेदेखि लिएर ५ वर्षभित्र तरकारीमा आत्मनिर्भर बनाउनेसम्मका योजना र कार्यक्रम ल्याएको छ । कृषि विज्ञान अध्ययनरत सबै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, कृषिमा आत्मनिर्भर बनाउने योजना उक्त पालिकाले ल्याएको छ ।

कैलालीका १३ वटै स्थानिय तहले अगामी आर्थिक वर्ष ०७९/८० को नीति कार्यक्रम तथा बजेट ल्याएका छन । चालु वर्षको तुलनामा सबै स्थानीयले बजेटको आकार बढाएको छ । धनगढी उपमहानगरपालिका पछि लम्की चुहा नगरपालिकाले १ अर्ब ३८ करोड ४४ लाख बढीको बजेट ल्याएको छ । त्यसपछिको ठूला गोदावरी नगरपािलकाल १ अर्ब २५ करोडको बजेट विनियोजन गरेको छ । सबैभन्दा कम मोहन्याल र चुरेको बजेट छ ।

अछामका १० मध्ये ९ ले ल्याए

अछामका दस स्थानीय तहमध्ये नौ स्थानीय तहले बजेट प्रस्ततु गरेका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिकामा जेठ २० गते १५ वर्षीय किशोर विनोद शाही मृत अवस्थामा भेटिएपछि विनायकको अवस्था शान्त हुन सकेको छैन । एमालेका कार्यकर्ताले कांग्रेसका कार्यकर्ताले हत्या गरेको आरोप लगाएका छन् ।

कांग्रेसबाट मेयरमा निर्वाचित अम्बिका चलाउनेविरुद्ध नै हत्या गरेको आरोपमा किटानी जाहेरी दर्ता गरेका कारण पञ्चदेवल विनायक नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न नसकेको हो । पञ्चदेवल विनायक नगरपालिकाले बजेट ल्याउने समय अन्योलमै छ । त्यस्तै चौरपाटी गाउँपालिकाले बिहीबार नै निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । बाँकी ८ स्थानीय तहले शुक्रबार बजेट प्रस्तुत गरेका छन् । ७ स्थानीय तहले स्वास्थ्य, शिक्षा, कृषि तथा भौतिक पूर्वाधारमाा समान तरिकाले बजेट ल्याए पनि साँफेबगर नगरपालिकाले भने १ करोड रुपैयाँ बयलपाटा अस्पताललाई विनियोजन गरेको छ । नगरपालिकाभित्रकै अस्पताल भएको र लामो समयदेखि अस्पतालमा आर्थिक अभाव हुन थालेपछि साँफेबगर नगरपालिकाले १ करोड बजेट विनियोजन गरेको हो ।

दार्चुलाका सबैको बजेट तथा कार्यक्रम

जिल्लाको सदरमुकामको महाकाली नगरपालिकाले आर्थिक वर्ष ०७९/८० का लागि ६२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको छ ।

‘समृद्ध महाकाली खुसी नगरवासी’ भन्ने नारा दिएर स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार निर्माण, वन वातावरण, विपद् व्यवस्थापन र सुशासनका क्षेत्रमा उक्त रकम खर्च गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । कृषिको विकासका लागि कोल्ड स्टोर निर्माण र यसबाट बेरोजगारी समस्या समाधानका लागि विशेष ध्यान दिइने उल्लेख छ ।

प्रकाशित : असार ११, २०७९ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?