जयपृथ्वी नगरपालिकाको बजेट ५५ करोड २९ लाख - सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जयपृथ्वी नगरपालिकाको बजेट ५५ करोड २९ लाख 

वसन्तप्रताप सिंह

बझाङ — आगामी आर्थिक वर्षका लागि जयपृथ्वी नगरपालिकाले ५५ करोड २९ लाख ८१ हजार बजेट प्रस्तुत गरेको छ । शुक्रबार नगरसभामा उपप्रमुख रतनबहादुर सिंहले उक्त बजेट प्रस्तुत गरेका हुन् ।  

'समृद्ध जयपृथ्वी नगरपालिका निर्माणको मूल आधार, दिगो कृषि, पर्यटन, व्यापार र उत्थानशील पूर्वाधार' भन्ने नारा दिएर स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार निर्माण, वन वातावरण, विपद् व्यवस्थापन र सुशासनका क्षेत्रमा उक्त रकम खर्च गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रत्येक वडामा नर्सरी स्थापना, कृषि पूर्वाधार विकास र यान्त्रिकीकरण, उपजको भण्डारण र बजारीकरण गर्ने तथा रैथाने बीउबिजन र वालीजन्य जैविक विविधता संरक्षणमा स्थानीयलाई प्रोत्साहन गरिने र युवाको विदेश पलायन रोक्नका लागि काम गरिने नगरपालिकाले जनाएको छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई स्थानीय स्रोतमा आधारित उद्योग खोलेर आत्मनिर्भर बनाउने, पर्यटनका सम्भावना अध्ययन र प्रवर्द्धन गरिने, सहकारीमार्फत गरिबी न्यूनीकरणका अभियान चलाइने नगरसभामा प्रस्तुत बजेट तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै स्थास्थ्य सेवाअन्तर्गत विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने, दीर्घरोगीलाई उपचारमा सहयोग गर्ने कार्यक्रम बनाएको नगरपालिकाले ६० वर्ष उमेर पुगेका स्वयंसेविकालाई सम्मानसहित बिदा गर्ने नीति तय गरेको छ । शिक्षामा एक विद्यालय एक फूलबारी, नगरस्तरीय शैक्षिक क्यालेन्डर निर्माण गर्ने शिक्षकलाई तालिम दिने र डाक्टर पढन चाहने असाहाय विद्यार्थीलाई छात्रवृत्ति दिने जस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।

एक घर एक धारा, सार्वजनिक शौचालयको निर्माण, पानीको गुणस्तर परीक्षण, ढल निकास र फोहोर बाट कम्पोस्ट मल बनाउने काम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरपालिकाले खेलकुद, सामाजिक सुरक्षा, पूर्वाधार विकास वन वातावरण र विपद् व्यवस्थापनका क्षेत्रमा पनि उल्लख्य बजेट विनियोजन गरेको नगरपालिकाले करार सेवामा कार्यरत कर्मचारीको कल्याणकोष स्थापना गर्ने, सेवाको गुणस्तर थाहा पाउन तेस्रो पक्षबाट नागरिकको सन्तुष्टि स्तर मापन गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित : असार १०, २०७९ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्

कर्णालीबाट अदुवाका चाना युरोप निर्यात, माग धान्न मुस्किल 

चाँदनी कठायत

वीरेन्द्रनगर — सल्यानको शारदा नगरपालिकाका ज्ञानदेव घर्ती केही वर्ष अगाडि आफूले उत्पादन गरेको अदुवाको मूल्य नपाएर हैरान थिए । तर अहिले आफ्नो घरकै आँगनबाट अदुवा बेच्न पाउँदा खुसी छन् । ‘पहिला बिक्री नै नभएर गाउँमै बाँडेर सक्थ्यौँ तर अहिले भने घरबाटै हाम्रो अदुवा बिक्री हुन्छ’ उनले भने । 

भेरीगंगा नगरपालिका–५ कालिदमारस्थित द अर्गानिक भ्यालीको प्राङ्गढमा सुकाउन राखिएका अदुवाका चाना । तस्विर : चाँदनी कठायत

प्रतिकिलो ५–१० रुपैयाँमा बिक्री गर्दै आएका किसानले अहिले ३० देखि ३३ रुपैयाँसम्ममा घरबाटै अदुवा बिक्री वितरण गर्न पाएका छन् । कर्णालीका अदुवा किसानले आफ्नो उत्पादन बिक्री गर्नका लागि भारतीय बजार कुर्नु परेको छैन । अहिले आफ्नै प्रदेशमा सहज तरिकाले बिक्रीवितरण गरिरहेका छन् । अदुवाले सहजै बजार र मूल्य पाउन थालेपछि किसानको आकर्षण अदुवा खेतीमा पनि बढ्न गएको छ । यसअघि परम्परागत रुपमा गरिँदै आएको अदुवाखेती अहिले आधुनिक रुपमा हुन थालेको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरसँग जोडिएको भेरीगङ्गा नगरपालिका– ५ सुर्खेतस्थित छिन्चुको दक्षिणपूर्वी भागमा रहेको कालीदमारमा विसं. २०७० मा स्थापित अदुवा प्रशोधन उद्योग ‘द अर्गानिक भ्याली प्राली’ ले आव २०७१/०७२ यता अदुवा, टिमुर, बेसार, अलैँची, मेथी, निबुवा, कफी र जुसका क्षेत्रमा काम गर्दै आइरहेको छ । कम्पनीले किसानको अदुवालगायतका उत्पादन खरिद गर्न थालेपछि किसानलाई सहज भएको हो ।

उक्त उद्योगले सुर्खेतको अवलचिङ, रुकुम पश्चिम, सल्यान र डोटीबाट अदुवा संकलन गरिरहेको छ । लामो समय अर्गानिक कृषि प्रशिक्षकको रुपमा काम गरेका प्रेमबहादुर कठायतले दूर दराजका किसानको अदुवा तथा अन्य उत्पादन खरिद गरी सहज गरिदिएको बताए । ‘गाउँका किसानले बजार नै नपाएर अदुवा कुहाएरै फाल्ने अवस्था थियो,’ उनले भने, ‘तर अहिले अर्गानिक भ्यालिले घरबाट प्राङ्गारिक प्रमाणित गरी अदुवा खरिद गर्न थालेपछि किसान पनि खुसी भएका छन् ।’

सुर्खेतको चिंगाड गाउँपालिकाका डम्मर रानाले कम्पनीले अदुवा खरिद मात्र नभइ अर्गानिक कृषि सम्बन्धी तालिम समेत दिएपछि निकै सहज भएको बताए । ‘हामीलाई गाउँमै आएर अर्गानिक तालिम पनि दिनुहुन्छ,’ उनले भने, ‘यतिमात्रै नभएर हामीले उत्पादन गरेको अदुवाको राम्रो मूल्यसहित बेच्न पनि पाएका छौँ, न बजार पाइएन भन्ने चिन्ता छ न भाउको।’ द अर्गानिक भ्याली १ करोड ३ लाख लगानीमा सञ्चालनमा आएको कम्पनीकी कार्यकारी निर्देशक सुलोचना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार उद्योगले विभिन्न जिल्लाका करिब १३ सय किसानका ८ सय ४० हेक्टर जमिनबाट प्रांगारिक प्रमाणीकरण गरी अदुवा खरिद गरिरहेको छ ।

सुरुमा कम्पनीलाई नेपाल सरकार कृषि मन्त्रालयअन्तर्गत उच्च मूल्य कृषि वस्तु विकास आयोजना (एचभीएपी) ले ६२ लाख ८७ हजार लगानी गरेको थियो । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अदुवा प्रशोधनका लागि टहरो बनाउन १८ लाख रुपैयाँ खर्च गरेको थियो भने अदुवाको अर्गानिक प्रमाणीकरणका लागि ५ लाख ५० हजार रुपैयाँ तथा अन्य किसान समर्थनका अन्य गतिविधिहरुमा सहयोग गरेको थियो । ‘त्यसपश्चात् हामी आफ्नै लगानीमा प्राली अघि बढाएका छौँ,' कार्यकारी निर्देशक श्रेष्ठ भनिन् । उनका अनुसार कम्पनीले आफ्ना उत्पादनलाई नेपाली बजारभन्दा युरोपियन बजारमा निर्यात गर्दै आएको छ । खासगरी उद्योग सञ्चालनपश्चात् आर्थिक वर्ष ०७५/७६ मा २६ टन अदुवाको चाना युरोपियन बजारमा पठाइको थियो । प्रतिकिलो अमेरिकन डलर ४.८५ मा बिक्री गर्दा १ लाख ४ हजार डलर आम्दानी गरेको थियो ।

आर्थिक वर्ष ०७६/७७ मा ६८ मेट्रिक टन पठाउँदा ३ लाख ८५ हजार अमेरिकी डलर आम्दानी गरेको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिइन् । कम्पनीले गत आर्थिक वर्षमा २ सय ११ मेट्रिक टन सुकेको अदुवाका चाना युरोप पठाएको छ । श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा २ सय ३० मेट्रिक टन अदुवा चाना पठाइएको छ । ‘आर्थिक वर्षको अन्त्यमा मात्रै कति आम्दानी भयो भन्ने थाहा हुन्छ,’ उनले भनिन्, ‘यसपटक सबैभन्दा राम्रो आम्दानी हुने आश गरेका छौँ ।’ युरोपेली बजारमा अदुवाको माग बढ्दै गएपनि उद्योगको क्षमताले धान्न नसकेको उनको भनाइ छ । ‘माग बढ्दै गएपछि हामीले खरिद गर्ने अदुवाको क्षेत्र बढाउने सोचमा छौं,’ श्रेष्ठले भनिन्, ‘अब हामीले बढी खरिद गरेपछि २ सय ३० टनभन्दा बढी पनि पठाउन सक्छौं ।’

कम्पनीले आफ्नो उत्पादन विशेषगरी जर्मनीमा पठाउने गर्दछ । युरोपियन देशले चिया, तेल, क्याण्डी ºल्याभर्ड, मसलाजन्य वस्तुका रुपमा अदुवा प्रयोग गर्ने गर्दछन् । त्यहाँ यसको माग बढी छ । त्यस्तै नेदरल्याण्ड, युक्रेन, स्वीडेनलगायतका देशमा पनि निर्यात हुँदै आएको कम्पनीले जनाएको छ । कम्पनीले कर्णालीको अदुवालाई युरोप निर्यात गर्न १० चरण पार गर्नुपर्दछ । सुरुमा किसानबाट संकलन गरी त्यसलाई स्तरीकरण गर्ने, धुने, काट्ने, सुकाउने, गुणस्तर जाँच्ने, प्याकेजिङ गर्ने, स्याम्पलिङ, लेवलिङ र अन्त्यमा ‘डेलिभर’ गर्दै आएको छ । यसले आफैले प्राङ्गारिक प्रमाणीकरणसमेत गर्दै आएको छ ।

सङ्कलनपश्चात् व्यवस्थित भण्डारण गर्ने ठाउँ नहुँदा अदुवा कुहिने गरेको कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ । चालु आर्थिक वर्षमा मात्रै १ सय ९९ ट्रक (२४ लाख केजी) अदुवा प्रशोधन गरिएको उनले बताइन् । कम्पनीमा १ सय २० जना स्थानीयले रोजगारी पनि पाएका छन्, धेरैजसो महिला छन् । उनीहरुले सरकारले तोकेको ज्याला लिएर काम गरिरहेका श्रेष्ठले बताइन् । भेरीगंगा नगरपालिका–५ कालिदमारमा रहेका उक्त प्रालिले आफ्नै करिब ६ रोपनी जग्गामा कार्यालय खडा गरी सञ्चालन गरिरहेको छ । प्रालि परिसरमा करिब सय रोपनी जग्गा अदुवा बेसार सुकाउनलाई प्रयोग गरिरहेको छ ।

प्रकाशित : असार १०, २०७९ १७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×