दुर्गाथलीको नीति कार्यक्रम : विषादीमुक्त पालिका, उत्पादन बजार पुऱ्याउन कृषि एम्बुलेन्स


बझाङ — कृषि उत्पादन वृद्धि र बजारीकरण, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा जोड दिँदै दुर्गाथली गाउँपालिकाले आर्थिक वर्ष ०७९/०८० को निति कार्यक्रम सार्वजनिक गरेको छ ।



‘आफ्नो गाउँमा आफ्नै डाक्टर’ कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष दुई जनालाई चिकित्सा शिक्षा अध्ययन गर्न २० लाख छात्रवृत्ति दिनेदेखि जुनसुकैबेला पनि कृषि उपजलाई बजारसम्म पुऱ्याउन ‘कृषि एम्बुलेन्स’ सञ्चालन गर्ने कुरा पालिकाको नीतिमा समेटिएका छन् ।
अनियमितता न्यूनीकरण गर्नका लागि पालिकाले कार्यान्वयन गर्ने योजनाको 'डिजाइन इस्टिमेट' नेपाली भाषामा गर्ने निर्णय गरेको दुर्गाथलीले योजनाको भुक्तानी पूर्व सार्वनजिक सुनुवाई गरेको भिडियो अनिर्वाय पेश गर्नु पर्ने व्यवस्था गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ । नीति कार्यक्रममार्फत राष्ट्रिय भवन संहितालाई कार्यन्वयन गर्ने र पालिका क्षेत्रमा भवन निर्माण गर्दा अनिर्वाय नक्सा पास गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।
कृषि उत्पादन वृद्धि गरी रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको पालिकाले एक घर एक करेसाबारी, एक टोल एक उत्पादन नारा दिँदै सबै कृषि उपजलाई अर्गानिक बनाउन र विषादीमुक्त पालिका बनाउने निति ल्याएको छ । तरकारी, फलफूल, मसला र दालबालीको उत्पादन वृद्धिका लागि अनुदान दिने, पालिका स्तरमा संकलन केन्द्र स्थापना गर्ने तथा कृषि उपज बजारमा पठाउन ‘कृषि एम्बुलेन्स’ कृषकका समस्या समाधान गर्न पशु तथा कृषि विज्ञहरुको नियमित घुम्ती शिविर सञ्चालन गर्ने लगायतका कुरा नीतिमा उल्लेख छ ।
यस्तै शिक्षालाई गुणस्तरीय बनाउन ‘हाम्रो पहिलो रोजाई सामुदायिक विद्यालय’ नारा दिँदै स्वयसेवक शिक्षक, पर्याप्त पूर्वाधार र प्रविधिको विकास गरिने, बाल कक्षा कोठालाई बालमैत्री र स्मार्ट बनाउने, प्रत्येक वर्ष २ जनालाई पालिकाको छात्रवृत्तिमा डाक्टर पढाउने लगायतका कुरा नीतिमा उल्लेख गरिएको छ ।
स्वयंसेविकालाई मासिक १ हजार भक्ता, जनयुद्धका सहिद परिवारलाई तीन हजार र घाइते परिवारलाई १ हजार ५ सय मासिक भक्ता, ७० वर्षमाथिका नागरिकलाई नि:शुल्क एम्बुलेन्स सेवा, हजार दिनका सुत्केरीलाई उपाध्यक्ष पोषण कोसेली दिने जस्ता घोषणा गरेको दुर्गाथलीले पूर्वाधार निर्माण गर्दा वातावरणीय पक्षलाई विशेष ख्याल गर्ने कुरा नीति कार्यक्रममा उल्लेख गरेको छ ।
‘५ वर्षभित्र नमुना गाउँपालिका बनाउने, रोजगारीको केन्द्र बनाउने, शिक्षा र स्वास्थ्यको गुणस्तर जनताले महसुस गर्ने गरी काम गर्ने हामीले योजना बनाएका छौं,’ पालिका अध्यक्ष दिलबहादुर थापाले भने, ‘अनियमितता न्यूनीकरण गरेर भष्ट्राचारका अखडाको रुपमा बदनाम भएका पालिकाको परिचय फेर्ने गरी काम गर्छाैं ।’ उनले जनताले साँच्चै आफ्नो सरकार छ भनेर महसुस गर्ने वातावरण बनाउने बताए ।
निति कार्यक्रमको पूर्णपाठ :
प्रकाशित : असार ९, २०७९ १२:१२