पहिरो जोखिममा वडाहरू- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरो जोखिममा वडाहरू

मनोज बडू

दार्चुला — जिल्ला विपद् व्यवस्थापन समितिले दार्चुलाका ६१ वडामध्ये २८ वडा पहिरोको उच्च जोखिममा परेको जनाएको छ । पहिरोको उच्च, मध्यम र न्यून जोखिमलाई आकलन गरेर पहिरो प्रभावितको संख्या तयार पारिएको हो । गत विगत वर्षका बाढीपहिरोले पुर्‍याएको क्षति र सडकलगायत संरचनाले बाढीपहिरोको जोखिम बढाएको अनुमान गरिएको छ ।

गतवर्ष जिल्लाको दुहु, नौगाड, अपीहिमाल गाउँपालिकामा पहिरोले व्यापक क्षति पुर्‍याएको थियो । बाढीपहिरोका कारण यहाँका धेरै बस्ती विस्थापित र जोखिममा छन् । यो क्षेत्रमा हजारौं मानिस पहिरोको उच्च जोखिममा बस्दै आएका छन् ।

मनसुन सुरु भएसँगै जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको ‘मनुसन आपत्कालीन कार्ययोजना–२०७९ ले जिल्लाका अधिकांश भूभाग पहिरोबाट प्रभावित हुने तथ्यांक तयार गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । जिल्लाभर बाढी पहिरोका कारण ५ हजारदेखि ६ हजार घरमा क्षति हुन सक्ने कार्ययोजनामा उल्लेख छ । मनसुनजन्य विपद्पछिको प्रतिकार्य पुनःस्थापना र राहत तथा उद्धारका लागि विपद् व्यवस्थापन समितिले कार्ययोजना बनाएर काम सुरु गरेको प्रशासनले जनाएको छ ।

स्थानीय तहले गत वर्ष तयार गरेको बाढी पहिरो पीडितको तथ्यांक र यस वर्षको सम्भावित जोखिमको अवस्था हेरेर तथ्यांक तयार गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ । जसअन्तर्गत जिल्लाको दुहु गाउँपालिकाका १, २, ३ र ५ नम्बर वडाहरू पहिरोको उच्च जोखिममा छन् । गतवर्ष दुहुका विभिन्न वडाहरूमा बाढीपहिरोले ठूलो मात्रामा जनधनलगायत भौतिक संरचनाको क्षति गरेको थियो । सयौं घरधुरी पहिरोको उच्च जोखिममा छन् ।

यस्तै, नौगाड गाउँपालिकाका १ देखि ६ सम्मका सम्पूर्ण वडाहरू, अपिहिमाल गाउँपालिकाका १, २, ३, ४ र ६ नम्बर वडा तथा महाकाली नगरपालिकाका १ र २ नम्बर वडामा पहिरोको उच्च जोखिममा छन । मालिकार्जुन गाउॅपालिकाका १, २ र ८ वडाहरू, मार्मा गाउँपालिकाको ४ नम्बर, वडा लेकम गाउँपालिकाका १, ३, ४, ५ र ६ नम्बर वडाहरू, ब्यास गाउँपालिकाको ३, ४ र ६ तथा शैल्यशिखर नगरपालिकाको ओसिल क्षेत्रगरी जिल्लाका २८ वडा पहिरोको उच्च, जोखिममा छन् । सम्भावित पहिरोको जोखिममा सबै वडाहरूमा छ । तर, सानातिना रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ । पूर्वानुमान अनुसार जिल्लाको दुहु गाउँपालिकामा ४ सय ५० घरधुरी पहिरोको उच्च जोखिममा छन् । अपिहिमाल र मार्मामा समान २०/२० घरपरिवार पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । नौगाड गाउँपालिकामा ३० परिवार, ब्यास गाउँपालिकामा ९० परिवार, महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकामा एक/एक सय परिवार, शैल्यशिखर नगरपालिकामा २५ तथा लेकमका विभिन्न वस्तीहरू पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित : असार ९, २०७९ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्

मनसुनको आशा गर्दै रोपाइँ

डिप बोरिङबाट पानी निकालेर सिँचाइ गर्ने किसानलाई डिजेलका मूल्य वृद्धिले ढाड सेकाइ छ
मोहन बुडाऐर

धनगढी — सुदूपश्चिमको कैलाली र कञ्चनपुरमा अझै मनसुन सक्रिय भइसकेको छैन । अकासेपानीको भरमा बसेका किसान मनसुनको प्रतीक्षामा छन् । उनीहरू अब चाडै मनसुन बर्सने आसमा खेतकों आली, ड्याम बाध्ने, दोहोरो–तेहोरो जोताई गरी धान रोपाइँका लागि खेत सम्याउने काममा ब्यस्त छन् ।

नहर कुलोको पानी लाग्ने खेत र डिप बोरिङबाट सिँचाइ गर्न सक्ने किसानहरूको रोपाइँ भने सुरु भइसकेको छ । डिप बोरिङबाट पानी निकालेर सिँचाइ गर्ने किसानलाई भने यतिबेला डिजलमा भएको मूल्य वृद्धिले ढाड सेकाइ छ ।

‘मनसुन सक्रियताको प्रतीक्षामा बस्दा बेर्ना बूढो होला जस्तो लाग्यो,’ धनगढी बेलापुरका दयासागर चौधरीले भने, ‘बोरिङ भएकाले रोपाइँ सुरु गरिहालें तर डिजेलमै खर्च बढी हुने भयो ।’ उनले मात्रै नभएर मनसुन ढिलो सक्रिय हुने देखिएपछि आफनो डिप बोरिङ भएका ठूला किसानले रोपाइँ सुरु गरेका छन । नभएका केही किसानले समेत ठूला किसानको डिप बोरिङको खर्च तिरेर रोपाइँ गर्नुपरेको बताएका छन ।

‘डिजेलका लागि १० हजार ऋण लिए,’ बेलाकै पुरन चौधरीले भने, ‘बडका (ठूलो) किसानको खेतमा डिपबोरिङ थियो । किराया (डिजेल आफ्ना र केही मोटर चलेको खर्च) दिएर खेत रोपाइँ गरेको छु ।’ उनले मल, डिजेल, ट्याक्टर र मजदुरी ज्याला गर्दा एक बिघा जग्गामा खेती गर्दा २० हजार बढीको लागत आउने बताए ।

त्यस्तै, मल प्रयोग गर्न नपाउदा उत्पादन घट्छ कि भन्ने पीर एकातिर छ भने यहीबेला सरकारले डिजेलमा गरेको मूल्य वृद्धिले समस्या भएको बेलाकै श्याम रानाले बताए । ‘सरकार कृषिमा आधुनिकीकरणको नारा लगाउँछ,’ उनले भने, ‘मल, डिजेल र सिँचाइको सुविधा किसानलाई दिन सक्दैन । अनि किसानी पेसा कसरी टिक्छ ।’

उनका अनुसार कैलालीको खुटिया सिँचाइ योजना अलपत्र पर्दा किसानका खेत सिञ्चित हुन सकेको छैन । डेड दशकअघि खुटिया नहरको योजनामा पानी सञ्चालन हुँदा किसानको खेत सिञ्चित भएको थियो । पछिल्लो समयमा प्लटिङ बढेपछि खेतीयोग्य जमिन पनि मासिँदै गएको भनेर सिँचाइ योजनासमेत अलपत्र परेको उनको भनाइ छ ।

प्रकाशित : असार ९, २०७९ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×