१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मनसुनको आशा गर्दै रोपाइँ

डिप बोरिङबाट पानी निकालेर सिँचाइ गर्ने किसानलाई डिजेलका मूल्य वृद्धिले ढाड सेकाइ छ
मोहन बुडाऐर

धनगढी — सुदूपश्चिमको कैलाली र कञ्चनपुरमा अझै मनसुन सक्रिय भइसकेको छैन । अकासेपानीको भरमा बसेका किसान मनसुनको प्रतीक्षामा छन् । उनीहरू अब चाडै मनसुन बर्सने आसमा खेतकों आली, ड्याम बाध्ने, दोहोरो–तेहोरो जोताई गरी धान रोपाइँका लागि खेत सम्याउने काममा ब्यस्त छन् ।

नहर कुलोको पानी लाग्ने खेत र डिप बोरिङबाट सिँचाइ गर्न सक्ने किसानहरूको रोपाइँ भने सुरु भइसकेको छ । डिप बोरिङबाट पानी निकालेर सिँचाइ गर्ने किसानलाई भने यतिबेला डिजलमा भएको मूल्य वृद्धिले ढाड सेकाइ छ ।

‘मनसुन सक्रियताको प्रतीक्षामा बस्दा बेर्ना बूढो होला जस्तो लाग्यो,’ धनगढी बेलापुरका दयासागर चौधरीले भने, ‘बोरिङ भएकाले रोपाइँ सुरु गरिहालें तर डिजेलमै खर्च बढी हुने भयो ।’ उनले मात्रै नभएर मनसुन ढिलो सक्रिय हुने देखिएपछि आफनो डिप बोरिङ भएका ठूला किसानले रोपाइँ सुरु गरेका छन । नभएका केही किसानले समेत ठूला किसानको डिप बोरिङको खर्च तिरेर रोपाइँ गर्नुपरेको बताएका छन ।

‘डिजेलका लागि १० हजार ऋण लिए,’ बेलाकै पुरन चौधरीले भने, ‘बडका (ठूलो) किसानको खेतमा डिपबोरिङ थियो । किराया (डिजेल आफ्ना र केही मोटर चलेको खर्च) दिएर खेत रोपाइँ गरेको छु ।’ उनले मल, डिजेल, ट्याक्टर र मजदुरी ज्याला गर्दा एक बिघा जग्गामा खेती गर्दा २० हजार बढीको लागत आउने बताए ।

त्यस्तै, मल प्रयोग गर्न नपाउदा उत्पादन घट्छ कि भन्ने पीर एकातिर छ भने यहीबेला सरकारले डिजेलमा गरेको मूल्य वृद्धिले समस्या भएको बेलाकै श्याम रानाले बताए । ‘सरकार कृषिमा आधुनिकीकरणको नारा लगाउँछ,’ उनले भने, ‘मल, डिजेल र सिँचाइको सुविधा किसानलाई दिन सक्दैन । अनि किसानी पेसा कसरी टिक्छ ।’

उनका अनुसार कैलालीको खुटिया सिँचाइ योजना अलपत्र पर्दा किसानका खेत सिञ्चित हुन सकेको छैन । डेड दशकअघि खुटिया नहरको योजनामा पानी सञ्चालन हुँदा किसानको खेत सिञ्चित भएको थियो । पछिल्लो समयमा प्लटिङ बढेपछि खेतीयोग्य जमिन पनि मासिँदै गएको भनेर सिँचाइ योजनासमेत अलपत्र परेको उनको भनाइ छ ।

प्रकाशित : असार ९, २०७९ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?