क्यान्सरपीडितलाई खर्च अभाव
बझाङ — थलारा गाउँपालिका ९, मालुमेलाकी जमुना बिष्टलाई खर्च अभावमा स्तन क्यान्सरको उपचारमा कठिनाइ भएको छ । १४ वर्षअघि श्रीमान गुमाएकी उनी एकल जीवन निर्वाह गर्दै आएकी छन् ।
गत फागुनमा बायाँ स्तनमा सानो खटिरा आएको थियो । स्थानीयले जिल्ला अस्पतालमा गएर जाँच गर्न सल्लाह दिए पनि खर्च अभावका कारण घरेलु औषधी र जडिबुटीे उपचार गरेकी उनको रोग निको नभएपछि एक जना आफन्तसँग १५ सय ऋण लिएर सदरमुकाम आएकी थिइन् । डाक्टरले उनको रोग जिल्लामा ठीक नहुने भन्दै धनगढी जान सल्लाह दिएपछि आफूसँग भएको जग्गा बिक्री गरेर धनगढी गएको र उपचारका क्रममा सबै रकम सकिएको उनले बताइन् ।
बिरामी भएपछि केही समयअघि ऋण काढेरै भारतको मजदुरी गर्न गएका छोरा घर फर्केका छन् । ‘अब नेपालगन्ज गएर उपचार गर्नुपर्छ भनेका छन । त्यहाँसम्म जाने गाडीभाडा पनि छैन । कसरी उपचार गर्ने होला ?’ उनले भने, ‘खानलाउन समस्याले पढाइ छाडेर भारत पसें । यहाँ आमालाई यस्तो भैदियो । मेरो त बिचल्ली नै हुने भयो ।’ उपचार खर्च जुटाउन आफूले नसकेको बताउँदै उनले मनकारी व्यक्तिसँग सहयोगको अपेक्षा गरेका छन् ।
प्रकाशित : असार ९, २०७९ ०८:३७