जयपृथ्वीलाई राष्ट्रिय विभूति घोषणा : बझाङमा जताततै खुसीयाली

‘हाम्रो विद्यालयको संस्थापक व्यक्ति राष्ट्रिय विभूति घोषणा हुँदा निकै खुसी लागेको छ’

बझाङ — मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेपछि बझाङमा खुसीयाली छाएको छ । विभूति घोषणाको खुसीयाली मनाउन जिल्लामा विभिन्न ठाउँमा कार्यक्रम गरिएको छ ।

जयपृथ्वीलाई राष्ट्रिय विभूति घोषणा : बझाङमा जताततै खुसीयाली

जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको आयोजनामा भएको एक कार्यक्रममा जयपृथ्वीको तस्बिरमा माल्यार्पण गरिएको थियो । जिल्लाका १२ वटै पालिकाका प्रमुख, उपप्रमुखलगायतको उपस्थिति भएको कार्यक्रममा जयपृथ्वीले नेपालको शिक्षा, प्रशासन सुधार, पत्रकारिता र विश्व मानवताको क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

जयपृथ्वीका मानवतावादी विचारहरुको सान्दर्भिकता अहिलेको विश्व परिवेशमा झन् रहेको बताउँदै जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहराले राज्यले उनका विचारलाई व्यवहारमा लागू गर्ने खालका योजना ल्याउनु पर्ने बताए । ‘ढिलै भए पनि राज्यले जयपृथ्वीजस्ता व्यक्तिको सम्मान गरेको छ । यो खुसीको कुरा हो,’ बोहराले भने, ‘यतिले मात्रै उहाँप्रतिको सम्मान पुग्दैन । उहाँका मानवतावादी विचारलाई जीवनपद्धतिमा लागू गर्ने खालका कार्यक्रमहरु पनि गर्नु पर्छ । यो अहिलेको आवश्यकता पनि हो ।’

यस्तै जयपृथ्वीबहादुर सिंहले विक्रम संवत् १९६३ सालमा स्थापना गरेको सत्यवादी माध्यमिक विद्यालयले पनि उनलाई विभूति घोषणा गरेको खुसीयालीमा कार्यक्रम गरेको छ । विद्यालयले जयपृथ्वीको व्यक्तित्व र उनले गरेका सुधारवादी कामको चर्चा गर्नुका साथै खुसीयालीमा विद्यार्थीहरुलाई मिठाई वितरण गरेको प्रधानाध्यापक रामप्रसाद उपाध्यायले बताए । ‘जनताका छोराछोरीले पढ्न पाउनु पर्छ भनेर राणा शासकसॅग विद्रोह गरेर उहाँले त्यो बेला बझाङमा स्कुल खोल्नुभएको थियो,’ उपाध्यायले भने, ‘हाम्रो विद्यालयको संस्थापक व्यक्ति राष्ट्रिय विभूति घोषणा हुँदा निकै खुसी लागेको छ ।’

जयपृथ्वीलाई ढिलै भए पनि राज्यले चिनेको भन्दै सामाजिक संजालहरुमा पनि खुसीयाली मनाइएको छ । जयपृथ्वीको व्यक्तित्व, कृतित्व र मानवतावादी विचार प्रचार प्रसारमा ल्याउन नसक्दा राज्यले उनलाई ढिलो चिनेको जयपृथ्वीलाई विभूति घोषणा हुनु पर्ने अभियान चलाएका मिनबहादुर सिंहले बताए ।

‘विदेशी विद्वान्‌हरुका विचारलाई व्यापक प्रचारप्रसार गरेर जनस्तरसम्म स्थापित गरियो तर हाम्रै देशमा भएका व्यक्तिको बारेमा कसैले खोजी गरेन,’ उनले भने ‘सामान्य मान्छेको दैनिक जीवन व्यवहारदेखि लिएर विश्व मानवको कल्याण कसरी हुन सक्छ भनेर उनले प्रतिपादन गरेका सिद्धान्तहरु त्यसै ओझेलमा परे,’ उनले अब राज्यले जयपृथ्वीको बारेमा थप खोज अनुसन्धान र उनका विचारको प्रचार गर्नुपर्ने बताए । जयपृथ्वीलाई असार ६ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्‌को बैठकले राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको थियो ।

को हुन् जयपृथ्वी ?

विसं १९३४ भदौ ७ गते बझाङको राजपरिवारमा जन्मिएका जयपृथ्वी नेपालमा सामाजिक सुधारका थुप्रै कामहरु गर्नुका साथै मानवतावादको सन्देश फैलाउँदै विश्व भ्रमण गर्ने पहिलो नेपाली हुन् । उनले देशमा जहाँनिया राणा शासनको जगजगी भएको बेला पनि सबै मानव बराबर हुन भन्ने कुराको वकालत गरेका थिए ।

वि.सं. १९५६ सालमा बझाङमा अदालत स्थापना गरेर न्यायिक सुधारका लागि समेत पहल गरेका थिए । वि.सं. १९५८ ‘अक्षरांक शिक्षा’ नामक पुस्तक लेखी पाठशालामा पढाउने व्यवस्था गरे । नेपाली भाषामा लेखिएको यो पुस्तक पहिलो भएको विभिन्न इतिहासकारहरु दाबी गर्छन् । उनले १९६२ सालमा काठमाडौंको नक्सालमा रहेको आफ्नै निवासमा सत्यवादी पाठशालाको स्थापना गरी सर्वसाधारणलाई पनि पढ्ने व्यवस्था मिलाएका थिए ।

सर्वसाधारणलाई शिक्षा दिने उनको यो कदम राणाहरुले मन नपराएपछि सोही नाममा उनले बझाङको मेल्लेकमा विद्यालय खोले । जुन अहिले पनि सञ्चालनमा छ । बालबोध, ज्ञानमाला, श्रेष्ता दर्पण, पदार्थ तत्वबोध, भूगोल विद्या, प्राकृत व्याकरण, शिक्षा दर्पण, तत्व प्रशंसा, व्यवहारमालाजस्ता थुप्रै पुस्तकहरु आफैले लेखेर विद्यालयमा पढाउने व्यवस्था उनले गरेका थिए ।

उनले बंगलादेशबाट बझाङमा चिकित्सक ल्याएर रानी खगेश्वरीको नामबाट खग–आयुर्वेद औषधालयको स्थापना गरेका थिए । बझाङबाट डोटी हुँदै भारतको टनकपुरसम्म जानका लागि घोडेटो बाटो निर्माण गर्न लगाएका थिए । भोट सँगको व्यापार सहज होस् भनेर बझाङको सदरमुकाम चैनपुरदेखि तिब्बतको मानसरोबरको बाटो पनि उनैले निर्माण गर्न लगाएका हुन् । उनले यस अवधिमा जिल्लाको खनिज सम्पदाको पनि उत्खनन गर्न लगाएका थिए ।

उनको समयमा बझाङको साविक सुर्मा गाविसमा रहेको सुनखानी, व्यासी, कैलाश गाउँमा रहेका तामा खानी, कँडेल र धमेना र पीपलकोट गाउँमा रहेको फलामखानीको उत्खनन र स्थानीयस्तरमै प्रशोधन गरी भाँडाकुँडा बनाउने उद्योगहरु उनले स्थापना गराएका थिए । मेल्लेक (हालको जयपृथ्वीनगर) मा हावाबाट चल्ने बिजुली घट्टको समेत निर्माण गर्न लगाएका थिए । उनले स्थापना गरेको इँटाभट्टीबाट निर्मित 'श्री जय' लेखिएका इँटाहरु पनि यस क्षेत्रमा अहिले पनि भेटिन्छन् । यसका अलावा उनले बझाङमा हुलाक, कारागारजस्ता कार्यालय पनि स्थापना गरेर यहाँको सामाजिक सुधारमा काम गरेको थुप्रै लिखतहरु भेटिन्छन् ।

१९५८ मा गोरखापत्रको प्रकाशन सुरु गरेका उनले वि.सं. १९६४ मा उनले नेपालको भारदारी अड्डाको प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनको बहुमुखी प्रतिभा, विकास र मानवतावादी विचारबाट प्रभावित भई तत्कालीन बेलायत सम्राट एडवर्ड सप्तम्ले उनलाई मानार्थ 'कर्णेल'को उपाधिले सम्मान गरेका थिए ।

विसं १९७२ मा सुरु भएको विश्वयुद्धमा भएको मानव विनासबाट विक्षिप्त बनेका उनले त्यसै बेला राजकाज परित्याग गरी विश्वभर मानवताको सन्देश फैलाउन हिँडेका थिए । यस समय उनले फ्रान्स, बेलायत, जर्मनी, पोल्यान्ड, बेलग्रटे, हंगेरी, भियना, अष्ट्रिया, अमेरिका, थाइल्यान्ड, चिन, जापान, स्वीजरल्यान्ड, इटली अविशिनिया, बर्मा, लगायतका धेरै देशको भ्रमण गरेर त्यहाँ आफ्नो मानवतावादी दर्शनको प्रचारप्रसार गरेका थिए । भम्रणकै दौरान वर्मामा जे.पी. इन्ट्रीच्युट र नेपाली भाषा पाठशाला खोलेका थिए ।

प्रकाशित : असार ८, २०७९ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?