कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्वास्थ्य संस्था पूर्वाधारविहीन

मेनुका ढुंगाना

अछाम — अछामको पञ्चदेवल विनायक नगरपालिका–८ मा रहेको इलाका स्वास्थ्य चौकी बारलाको भवन निर्माण कार्य सुरु भएको ११ वर्ष पूरा भइसक्दा पनि अझै निर्माण पूरा भएको छैन ।

स्वास्थ्य संस्था पूर्वाधारविहीन

सहरी विकास तथा भवन निर्माण कार्यालय डोटीको १ करोड २४ लाखको लागतमा २०६८ सालदेखि निर्माण कार्य सुरु गरिएको थियो । स्वास्थ्य चौकीको १६ कोठे भवन ११ वर्ष पूरा हुँदा पनि निर्माण कार्य नसकेपछि पुरानो भवनबाट काम चलाइरहेको स्थानीयले बताए ।

भवन निर्माण गर्ने काम सम्पन्न भए पनि र झ्यालढोका विद्युत् जडान र खानेपानीलगायतका कामहरू अधुरै रहेको स्वास्थ्य व्यवस्थापन समिति बारलाका अध्यक्ष नन्दबहादुर शाहीले बताए । भवनको केही कोठामा झ्याल र ढोका नलगाएको, शौचालय, खानेपानीको काम पूरा नभएको र काम भएको ठाउँमा पनि प्रभावकारी नभएको स्थानीयले बताएका छन् । स्वास्थ्य चौकीको आधा काम अझै बाँकी रहँदा पनि निर्माणको जिम्मा लिएका व्यक्तिले अहिलेसम्म चासो नदेखाएको व्यवस्थापन समितिका अध्यक्ष शाहीले बताए ।

११ वर्ष अगाडि नै निर्माण सुरु भएको कमलबजार नगरपालिका–९ मा रहेको मष्टाबण्डाली स्वास्थ्य चौकीको निर्माण कार्य पनि अलपत्र छ । ठेकेदारको लापरबाहीका कारण भवन निर्माण कार्य अलपत्रै अवस्थामा रहेको स्थानीय बताउँछन् । स्वास्थ्य चौकीको भवन नहुँदा पुरानो घरबाट सेवा दिनुपरेको स्वास्थ्यकर्मी बताउँछन् ।

अव्यवस्थित स्वास्थ्य चौकी

जिल्लाका बस्ती, बारला मष्टामाडौंमा मात्र नभइ चौरपाटीमा १२ वर्षदेखि निर्माण सुरु भएको स्वास्थ्य भवन, तुर्माखाँद, धमाली, पुल्लेतोला, बैजनाथ, कालागाउँका स्वास्थ्य चौकी भवनसमेत अलपत्र छन् । यी ठाउँमा रहेका स्वास्थ्य संस्थाले जेनतेन पुराना जीर्ण घरहरूबाट भरमा स्वास्थ्य सेवा दिइरहेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार अछाममा सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्था र क्लिनिक गरी ५ सय ८१ वटा छन् । तीमध्ये आफ्नै जग्गा भएका स्वास्थ्य संस्था ७४, आफ्नै भवन भएका ९१, खानेपानीको उपलब्धता भएका ५४, टेलिफोन सेवा उपलब्धता भएका स्वास्थ्य संस्था ३५ मात्रै छन् । विद्युत्को उपलब्धता भएका ४९, सोलार भएका ५९, इन्टरनेटको सुविधा पुगेका ५३ र एम्बुलेन्स सेवा भएका स्वास्थ्य संस्था १२ मात्रै छन् ।

प्रकाशित : असार ८, २०७९ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?