कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समयअगावै वन लसुन संकलन

अव्यवस्थित संकलनले लोप हुँदै बहुमूल्य जडीबुटी

सुर्मा, बझाङ — यतिबेला बझाङका हिमाली पाटनहरूमा पाइने बहुमूल्य जडीबुटी वन लसुन संकलन गर्न बस्तीका मानिसको ओइरो लेकतिर लागेको छ । यार्चा संकलन गर्न गएकाहरू पनि अहिले यार्चा कम पाउन थालेपछि वन लसुन संकलन गर्न थालेका छन् ।

समयअगावै वन लसुन संकलन

यद्यपि प्रत्येक वर्ष समयअगावै संलकन गर्दा वन लसुन पहिलाको तुलनामा निकै कम पाउन थालेको र यही अवस्था रहे लोप हुन सक्ने स्वयम् संकलकहरू नै बताउँछन् । ‘चार/पाँच वर्ष पहिलासम्म एक जनाले दिनकै दुई/तीन केजीसम्म पनि कोर्थ्यौ (खन्थ्यौं) अहिले चार/पाँच दिन खोज्दा पनि एक/दुई सय ग्राम बनाउन मुस्किल हुन्छ,’ दौलीचौरका जीवन बोहराले भने, ‘यस्तै हो भने आउँदा वर्षमा त एक/दुई बोट भेट्न पनि मुस्किल होला जस्तो छ ।’ उनले असार अन्तिमतिर बीउ पाकेर झरिसकेपछि संकलन गर्नुपर्ने यो जडीबुटी वैशाखको सुरुदेखि नै खन्न थालिएका कारण लोप हुन लागेको बताए ।

हिमाली भेगमा पाइने वन लसुन यार्चागुम्बापछि महँगो मूल्यमा बिक्री हुने दोस्रो जडीबुटी हो । विभिन्न औषधि बनाउन प्रयोग हुने यो जडीबुटी प्रतिकेजी ४० हजारदेखि ५० हजार रुपैयाँसम्ममा बिक्री हुने गर्छ । लिलियम नेपालेन्स वैज्ञानिक नाम भएको यो नेपालको रैथाने बिरुवा हो । करिब एक मिटर जति अग्लो बोट हुने वन लसुनको चिल्ला पातहरूको छेउबाट सुन्दर फूलघन्टीझैं तलतिर निहुरिएका हुन्छन् । घन्टीजस्तो फूल हुने भएकाले बझाङमा यसलाई ‘घाडे विख’ भनिन्छ । यसको फूल सन् १९९० मा जापानमा भएको पुष्प मेला प्रदर्शनीमा पुरस्कृत भएको थियो । यस फूलको चित्र अंकित हुलाक टिकट पनि नेपाल सरकारले प्रकाशित गरिसकेको छ ।

बझाङको सुर्मा, साइपाल, तलकोट, मस्टा, छबिसपाथीभेरा, दुर्गाथली गाउँपालिका तथा बुंगल र जयपृथ्वी नगरपालिकाका लेकाली भेगमा केही वर्षअघिसम्म प्रशस्त मात्रामा वन लसुन पाइन्थ्यो । हाल कम मात्रामा पाउन थालेपछि यसले स्थानीयको जीविकामा पनि समस्या पारेको सुर्माका दिलबहादुर बोहराले बताए । ‘यही वन लसुनबाट एक सिजनमा एकै जनाले दुई/तीन लाख पनि कमाए । अब त पाउनै छाड्यो धेरै पाउनेले १५/२० हजार पाउलान् । नत्र त्यति पनि पाइँदैन’ उनले संकलकहरूको लापरबाहीका कारण यस्तो अवस्था आएको उल्लेख गर्दै भने, ‘हामीले आफ्नै पेटमा आफैंले लात हान्यौं । फल पाकेर झरेपछि निकालेको भए अर्को वर्षलाई पनि हुँदो हो । यहाँ उम्रिन नपाउँदै खन्न थालिहाल्छन् । कसले कसको भनेको मान्ने ?’ उनले समयअगावै संकलन गर्दा यसको पुनरुत्पादन हुन नसकेर लोप हुने अवस्थामा पुगेको बताए ।

विगतका वर्षमा बझाङमा वन लसुनको बिक्रीबाट वार्षिक ५ करोड रुपैयाँसम्म आम्दानी भएको रेकर्ड छ । डिभिजन वन कार्यालय बझाङको तथ्यांकअनुसार २०७० सालअघिसम्म वार्षिक सरदर पाँच हजार किलो निकासी हुने गरेको वन लसुनको २०७१ सालमा आइपुग्दा नौ सय किलोमा झरेको थियो । जिल्लामै प्रतिकिलो २५ हजारसम्म कारोबार हुने यो जडीबुटी लोप हुने अवस्थामा पुगेको भन्दै २०७२ सालमा तत्कालीन जिल्ला विकास समितिले संकलनमा रोक लगाएको थियो ।

जिविसले रोक लगाए पनि संकलन नरोकिएको बरु संकलित वन लसुनको उरै नाका भएर अवैध तरिकाले चीनतिर तस्करी भएको जानकारहरू बताउँछन् । २०७४ सालदेखि पुनः संकलन अनुमति दिन थालिएको वन लसुनको निकासी त्यसयता घटेर वार्षिक दुई सय किलोको हाराहारीमा झरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कपिल रावलले बताए । ‘जथाभावी संकलनले नै यसको उत्पादन प्रत्येक वर्ष घट्दै गएको छ,’ उनले भने ।

हजारौंको संख्यामा संकलन क्षेत्र पुगेका संकलकहरूलाई रोक्न सकिने अवस्था नरहेको तर जडीबुटीको व्यवस्थित र वैज्ञानिक तरिकाले संकलन गर्नेसम्बन्धी जनचेतनामूलक कार्यक्रम भने गर्ने गरेको डिभिजन वन कार्यालयका प्रमुख कर्णबहादुर खातीले बताए । ‘कुन जडीबुटी कहिले र कसरी संकलन गर्ने भनेर हामीले जनचेतनामूलक कार्यक्रम गर्दै आएका छौं । ठाउँठाउँमा बोर्ड पनि टाँगेका छौं,’ उनले भने, ‘हजारौंको संख्यामा वनमा पुगेका मानिसलाई रोक्ने जनशक्ति हामीसँग छैन ।’ उनले यस्ता जडीबुटी स्थानीयकै आम्दानीको स्रोत भएकाले कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा पनि उनीहरू नै बढी सचेत हुनुपर्ने बताए ।

प्रकाशित : असार ७, २०७९ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?