बजेट निर्माण गर्दै स्थानीय तह

मनोज बडू

दार्चुला — जिल्लाका स्थानीय तहहरू आगामी आर्थिक वर्ष ०७९/८० का लागि बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् । सबै स्थानीय तहले नीति तथा कार्यक्रमबाट नागरिक समस्या समाधान र विकासका लागि सुझाव माग गरेका छन् ।

बजेट निर्माण गर्दै स्थानीय तह

असार १५ गते स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाबमोजिम दार्चुला जिल्लाका स्थानीय तह आगामी आवको बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् । बजेट निर्माणका लागि स्थानीय तहका जनप्रतिनिधिहरूले सूचना प्रकाशन गरी इमेल, फेसबुक ग्रुप, फेसबुक म्यासेज तथा लिखित रूपमा स्थानीय नागरिक बुद्धिजीवी तथा सरोकारवालाहरूबाट सुझाव माग गरेका छन् । केही स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा समुदायको भेला बोलाएर पनि सुझाव संकलन सुरु गरेका छन् ।

ब्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले पालिकाको आगामी आवको बजेट निर्माणका लागि २० दिन अगाडि आफ्नो फेसबुक वालमा पोस्ट लेखेका थिए । उक्त पोष्टमा स्थानीय तह तथा प्रदेश र संघीय सरकारले सम्बोधन गर्नुपर्ने लगायतका सुझाव आएको उनले बताए । उनले बाटो, खानेपानी, सञ्चार सेवा, विद्युत विस्तार, पहिरो नियन्त्रण, झोलुंगे पुल निर्माण लगायतका सुझाव आएको बताए । अधिकांशले कृषिलाई जिविकोपार्जनसित जोडेर बेरोजगारी समस्या समाधानमा दीर्घकालिन नीति लिएर बजेट विनियोजन गर्न सुझाएका छन ।

एनका अनुसार त्यस्तै बस्तीस्तरमा पनि वडा–वडामा भेला बोलाएर योजना माग कार्यक्रम सञ्चालनको तयारी भइरहेका छ । आगामी एक/डेढ साताभित्र गाउॅ अधिवेशनबाट बजेट निर्माण गर्नुपर्ने हुॅदा सबै क्षेत्रबाट प्राप्त सुझाव समेटिने उपाध्यक्ष कुॅवरको भनाई छ । स्थानीय नागरिकबाट समस्या समाधान र वुद्धिजिवीहरूबाट स्थानीयस्तरमै रोजगारी सिर्जना हुने कार्यक्रम संचालन गर्न सुझाव प्राप्त भएको उनले बताए ।

मालिकार्जुन गाउॅपालिकाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा समेट्न सकिने विषयलाई इमेलमार्फत सुझाव माग गरिएको छ । गाउॅपालिकाले शुक्रबार एक सूचना सार्वजनिक गदै पालिकाबासी व्यवसायी, नागरिक समाज, राजनीतिक दललगायतलाई यही असार ८ गतेसम्म इमेल तथा प्रत्यक्ष रूपमा सुझाव माग गरिएको छ । ‘पर्यटन, कृषि र पूर्वाधार समृद्ध मालिकार्जुनको आधार’ लाई मुख्य रणनीतिक लक्ष्यका साथ गाउॅपालिकाले बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत सुरजप्रसाद जोशीले जानकारी दिए ।

जिल्लाको नौगाड गाउॅपालिकाले विहीबार गाउॅपालिकाको कार्यालयमा सरोकारवाला पक्षसंॅगै स्थानीय नागरिकसंॅग आगामी आवको बजेटका बारेमा छलफल गरेको छ । छलफलमा कृषि उत्पादनको बजारीकरण र बेरोजगारी समस्या समाधानमा जोड दिन जनप्रतिनिधिहरूलाई सुझाएको गाउॅपालिकाका उपाध्यक्ष जगतसिॅह ठगुन्नाले बताए । उनले शिक्षा, स्वास्थ्यका सेवा गाउॅबस्तीमा नागरिकले उपभोग गर्ने वातावरण बनाउन र नागरिकले सेवा उपभोग गर्दा सर्वसुलभ र बनाउन नीति अख्तियार गर्न सुझाव दिएका छन् ।

अहिले स्थानीय तहमा नीति तथा कार्यक्रम, बजेट कस्तो बनाउने भन्ने विषयमा सबैसँग नीतिगत सुझाव स्थानीय तहले माग गरिरहेका छन् । पन्ध्रौं पञ्चवर्षीय योजना, दिगो विकास लक्ष्यहरूको स्थानीयकरणसँग तादात्म्य हुने गरी बजेट, नीति तथा कार्यक्रम बनाउने पालिकाहरुले जनाएका छन् ।

प्रकाशित : असार ७, २०७९ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?