कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

धनगढीमा खोलानालाको अतिक्रमण हटाउन थालियो

मोहन बुडाऐर

धनगढी — कैलालीको धनगढी उपमहानगरपालिकाले खोलानालामाथि भएको अतिक्रमण हटाउन सुरु गरेको छ । धनगढी डुबानको एक प्रमुख कारण खोलानाला अतिक्रमण भएको भन्दै उपमहानगरपालिकाले अतिक्रमण हटाउन सुरु गरेको हो ।

धनगढीमा खोलानालाको अतिक्रमण हटाउन थालियो

‘धनगढीलाई बर्खामा डुबानमुक्त पार्न पनि अतिक्रमित क्षेत्र खाली गर्न आवश्यक थियो‚’ नगर प्रमुख गोपाल हमालले भने, ‘धनगढी-५ को सुकटेनालाको अतिक्रमण बुलडोजर लगाएर हटाउन सुरु गरेका छौं; यसले निरन्तरता पाउने छ, सबै खोलानालाको अतिक्रमण क्षेत्र खाली गरिने छ ।’ हमालले प्राकृतिक बहावलाई रोक्ने गरी बनाइएका संरचना सूचना दिएर नै भत्काउन सुरु गरेको बताए ।

‘डुबानको समस्यालाई समाधन गर्नका लागि सबैभन्दा पहिले प्राकृतिक कुला र खोलालाई पुरानै बहावमा बग्न दिन आवश्यक छ‚’ उनले भने, ‘यसका लागि सम्पूर्ण धनगढीवासीलाई खोलानाला अतिक्रमण हटाउने कार्यमा सहयोग गरिदिन अपिल गर्दछु । ’

खोलानालामाथि भएको अतिक्रमणले गर्दा क्षणभरको वर्षामै धनगढी उपमहानगर डुबानमा पर्ने गरेको छ । धनगढीको कैलाली खोला सबैभन्दा बढी अतिक्रमणको चपेटामा परेको छ । स्थानीय तहको निर्वाचनमा विजयी भएका हमालसहित अन्य राजनीतिक दलका मेयर र वडाध्यक्षका उम्मेदवारको समेत खोलानाला हटाउने प्रमुख चुनावी नारा पनि थियो ।

प्रकाशित : असार २, २०७९ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?