शैक्षिक सुधारका लागि करार

मनोज बडु

दार्चुला — दार्चुलाको व्यास गाउँपालिकाले सामुदायिक शिक्षा सुधारका लागि विद्यालयका प्रधानाध्यापकसित एक वर्षको कार्यसम्पादन करार सम्झौता गरेको छ । गाउँपालिकाभरिका सामुदायिक विद्यालयहरूको शैक्षिक सुधारका लागि विद्यालयका प्रधानाध्यापक र गाउॅपालिकाबीच २४ बुँदे सम्झौता भएको हो ।

शैक्षिक सुधारका लागि करार

गाउँपालिकाको समग्र शिक्षा सुधारका लागि विद्यालयका प्रधानाध्यापक, अभिभावक, विद्यालय व्यवस्थापन समितिसित छलफल भएको छ । समग्र विकासको सशक्त माध्यम शिक्षा क्षेत्र भएकोले यसलाई सुधारका लागि विभिन्न पक्षसंँग छलफल भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडूले बताए । व्यसवासीको गुणस्तरीय शिक्षामा समतामूलक पहुँच सुनिश्चित गर्न जनप्रतिनिधि, प्रशासकीय प्रमुख, शिक्षा शाखा र प्रधानाध्यापकबीच विभिन्न २४ मापदण्ड तय गरी चार पक्षीय कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर गरिएको छ ।

उनका अनुसार करार सम्झौतामा वार्षिक कार्ययोजना निर्माण गरेर कार्यान्वयन गर्ने, सार्वजनिक बिदाका दिनबाहेक विद्यालय बन्द नगर्ने, शुक्रबार अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्नुपर्नेलगायतका विषयमा गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले प्रतिबद्धतासहित कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर गरेका छन् । विद्यालयले वार्षिक कार्ययोजना बनाउने, त्यसको कार्यान्वयन गर्ने, प्रत्येक शिक्षकले वार्षिक कार्ययोजनासँगै अतिरिक्त दैनिक पाठयोजना बनाएको एवं कार्यान्वयन गराउने सहमति भएको छ । शिक्षण सिकाइ समयमापन कार्यविधिको प्रभावकारी कार्यान्वयन गराउने, विद्यालय समयको पूर्ण पालना गरी सबै विषयका लागि छुट्याएको समयको उच्चतम उपयोग गराउनेलगायत अन्य शैक्षिक सुधारका बुँदाहरू समेटेर कार्यसम्पादन गराउने जनाइएको छ ।

सामुदायिक विद्यालयको शैक्षिकस्तर सिकाइमूलक बनाउन तल्लो कक्षादेखि नै सुधार हुनु जरुरी रहेको व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले बताए । उनले यसका लागि गाउँपालिकामा नयाॅ जनप्रतिनिधि आएसँगै सरोकारवाला पक्षसित छलफल सुरु भईसकेको छ । विद्यार्थीले सुरु कक्षाबाट सहज सिकाइको वातावरण तयार गर्न बालविकास कक्षाबाट सुरुवात गर्न लागिएको छ । बालविकास कक्षालाई दुई वर्षको बनाउन गृह कार्य सुरु भएको उनले जानकारी दिए ।

नवनिर्वाचित जनप्रतिनिधिसहित प्रधानाध्यापक र कर्मचारीहरूको बैठकले स्थानीय तह पाठ्यक्रम १–३ को कार्यान्वयन, तथा पाठ्यक्रम निर्माणका लागि सुझाव संकलनलगायतका विषयमा छलफल गरिएको छ । व्यासमा शैक्षिक सुधारको विषयमा छलफल चलिरहँदा स्थानीय अभिभावकहरूले यहाँका स्थानीय कर्मचारी र शिक्षकहरूले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन सुरु गरे सबैको ध्यान शिक्षा क्षेत्रमा पुग्ने सुझाव दिएका छन् ।

प्रकाशित : जेष्ठ २०, २०७९ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?