कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाबुले नेतृत्व गरेको नगरमा छोरा

‘नगरपालिकालाई स्वच्छ र नमुना बनाउने जिम्मेवारी पाएको छु, यसलाई पूरा गर्नेछु’
भवानी भट्ट

कञ्चनपुर — सुदूरपश्चिमकै पुरानो नगरपालिका कञ्चनपुरको भीमदत्तमा कांग्रेसका पदम बोगटी प्रमखमा निर्वाचित भएका छन् । स्थानीय तहको पहिलो निर्वाचनमा पराजित भएका बोगटीले आफ्नो गुमेको साख मात्रै फर्काएनन् पारिवारिक विरासतसमेत थामेका छन् । २०३४ मा स्थापना भएको भीमदत्त नगरपालिका भारतसँग सीमा जोडिएको र भीमदत्त पन्तको कर्मथलोका रूपमा पनि चिनिने भएकाले महत्त्वपूर्ण छ । 

बाबुले नेतृत्व गरेको नगरमा छोरा

तत्कालीन महेन्द्रनगर आदर्श गाउँ पञ्चायतले चिनिने यो क्षेत्र महेन्द्रनगर नगरपालिका हुँदै दोस्रो जन आन्दोलनपछि भीमदत्त नाम फेरिएको हो । २० को दशकको सुरुवातमै बस्ती विस्तार हुन थालेको महेन्द्रनगर आदर्श गाउँ पञ्चायतको नेतृत्व पदमका बुबा भवानसिंह बोगटीले पनि गरेका हुन् । २०२८ मा कानुन व्यवसायी उनले प्रधानपञ्च भएर महेन्द्रनगर हाँकेका थिए । २०३३ मा महेन्द्रनगर आदर्श गाउँपञ्चायतमा तत्कालीन ऐरी भुजेला गाउँ पञ्चायतलाई समेत मिलाएर महेन्द्रनगर नगर पञ्चायत बनाइएको हो ।

बुवाले नेतृत्व गरेको सोही क्षेत्रको जिम्मेवारी ५८ वर्षीय छोरा पदमको काँधमा आएको छ । २०३६ को विद्यार्थी आन्दोलनदेखि नै नेविसंघको राजनीतिमा होमिएका बोगटी इमानदार नेताका रूपमा चिनिन्छन् । महेन्द्रनगर नगर विकास समितिको नेतृत्व लिदा होस वा मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा नियुक्त हुँदा उनी कहीं पनि विवादमा आएनन् । आफ्नो छविलाई स्वच्छ राखे ।

‘भीमदत्त नगरपालिकालाई स्वच्छ र नमुना बनाउने जिम्मेवारी पाएको छु, यसलाई पूरा गर्नेछु,’ नगर प्रमुखमा निर्वाचित बोगटीले भने, ‘राजनीति भनेको विकासका लागि हो र विकासका लागि इमानदारिता चाहिन्छ, इमानदारिता डगमगायो भने विकास सम्भव हुँदैन ।’ उनले भीमदत्तमा बेरोजगारीको ठूलो समस्या भएकाले यसतर्फ योजना बनाएर अघि बढने बताए । लागूऔषधलगायत दुर्व्यसन पनि यस क्षेत्रको प्रमुख समस्या भएकाले भीमदत्तलाई दुर्व्यसन मुक्त नगर बनाउने बताए । बोगटी कांग्रेस कञ्चनपुरका सभापतिसमेत हुन् । कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद नेविसंघको अध्यक्ष हॅुँदा बोगटी केन्द्रीय सदस्य थिए । सँगैका नेताहरू सांसददेखि मन्त्रीसम्म भए पनि बोगटीले कहींकतै पनि लोभलालच देखाएनन् ।

०७४ को स्थानीय तहको निर्वाचनमा झिनो मतले पराजित भएका बोगटीले यसपटक आफ्नो गुमेको साख मात्रै फर्काएनन्, परिवारको ५ दशक पुरानो विरासतसमेत जोगाए । ‘स्थानीय सरकार भनेको लोकतन्त्रको आधारशिला हो, स्थानीय सरकारहरू बलिया र पारदर्शी भएमा मात्रै लोकतन्त्र बलियो हुन्छ,’ सोमबार शपथ ग्रहणका क्रममा बोल्दै बोगटीले भने, ‘स्थानीय सरकारहरू जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकाले पनि जनप्रतिनिधिहरूले अझ बढी निष्पक्ष र पारदर्शी हुनुपर्ने जरुरी छ ।’ उनले जनप्रतिनिधिहरूलाई निष्पक्ष भई विकास निर्माणदेखि जनताको सेवामा जुट्नसमेत आग्रह गरे ।

प्रकाशित : जेष्ठ १०, २०७९ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?