कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बाजुराको बुढीगंगा विवाद : निर्वाचन आयोग अनिर्णित बन्दा अन्यौल 

अर्जुन शाह

बाजुरा — एकसाथ निर्वाचन भएका बाजुराका सात स्थानीय तहको नतिजा घोषणा भई नवनिर्वाचित जनप्रनिधिहरुले शुक्रबारदेखि पदभार समेत ग्रहण गरिसकेका छन् । तर, बुढीगंगा नगरपालिकाको विवाद भने पेचिलो बन्दै गएको छ । एक साता बितिसक्दा पनि निर्वाचन आयोगले समेत कुनै निर्णय नदिएपछि अन्यौल बढ्दै गएको हो । बुढीनन्दा नगरपालिकामा पनि विवाद भएर एउटा वडाको मतदान स्थगित भएको थियो । उक्त वडामा पुनः मतदान भइ गणनाको अन्तिम परिणाम आउने क्रममा छ । 

बाजुराको बुढीगंगा विवाद : निर्वाचन आयोग अनिर्णित बन्दा अन्यौल 

बुढीगंगाको विवादले समग्र जिल्लाको पहिचान मात्रै बिगारेको छैन, आम मतदाताहरुमा आक्रोस र निर्वाचनप्रति नै वितृष्णा बढाइरहेको छ । धेरैको अपेक्षा आयोगले जे निर्णय गरेपनि चाँडो छिनोफानो गरिदिए हुन्थ्यो भन्ने छ । तर, यहाँका प्रमुख राजनीतिक दल एमाले र कांग्रेसका प्रभावशाली नेताहरु भने आयोगलाई नै दबावमा राख्नेगरि आ–आफ्नो अनुकूल निर्णय गराउन दौडधुप गरिहेका छन् । त्यहीकारण आयोग अनिर्णित भएको बुझिएको छ ।

बुढीगंगाको विवाद के हो ?

नगरपालिकाका कूल दश वटा वडामध्ये ६ वटा वडामा अत्यधिक विवाद छ । २, ३, ४, ५, ७ र ९ नम्बरमा रहेका मतदान केन्द्रमा स्वतन्त्र मतदान हुन नसकेको स्थानीय मतदाताको भनाई छ । २, ३, ५ र ९ नम्बर वडाका मतदान स्थललाई नेकपा एमालेका कार्यकर्ताहरुले नियन्त्रणमा लिएका थिए भने कांग्रेस कार्यकर्ताहरुले वडा नम्बर ४ र ७ लाई नियन्त्रणमा लिएर आफू अनुकूल एकोहोरो मतदान गरेका थिए ।

यी ६ वटै वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट, उम्मेदवारहरुले नै मतदान गर्न नपाई लखेटिएका, बुथ कब्जा, ९९ दशमलव ४१ प्रतिशतसम्म मत खसाइएका, सुरक्षाकर्मीले मतेपटिका मतदान केन्द्रमै छाडेर हिँडेका, पालिकास्थित निर्वाचन अधिकृतलाई नियन्त्रणमा राखेको र अधिकृतले असुरक्षित भएको भन्दै राजिनामा दिएको, मत पेटिकाहरु निर्वाचन कार्यालयले बुझ्न नमानेको लगायतका घटना भएका थिए ।

नेपाली कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा राखेर मतदान भएको भनिएको वडामध्ये वडा नम्बर ४ स्थित थुमा मावि मतदान स्थलमा एक हजार ७०९ मतदाता संख्या रहेकोमा एक हजार ६९९ मत खसाइएको छ । यो मत प्रतिशत ९९ दशमलव ४१ हो ।

यस्तै, नेकपा एमाललेले नियन्त्रणमा राखेर मतदान भएको भनिएका मध्ये वडा नम्बर ९ स्थित त्रिशक्ति मावि मतदान स्थलमा मतदाता संख्या एक हजार ४८३ मतदाता संख्या रहेकोमा एक हजार ३४७ मत खसाइएको छ । उक्त मतदान ९० दशवल ८२ प्रतिशत हो । स्वतन्त्र मतदान हुन नसकेका मतदान स्थलबाट वडाध्यक्षका उम्मेदवारहरु लखेटिएका थिए । वडा नम्बर ७ स्थित शारदा मावि मतदान स्थलबाट मतदान सुरु भएको करि दुई घण्टामै धाँधली सुरु भएपछि लाइनमा लागेका मतदाताहरु लखेटिएका थिए ।

वडाध्यक्ष पदका एमाले उम्मेदवार मन्नामे बिष्टले आफूमाथि मतदान स्थलभित्रै कुटपीट भएपछि मतदानस्थल छाडेर ज्यान जोगाएको बताए । डारत्रासका कारण त्यसपछि आफू दिनभर मतदानस्थलमा फर्किन नसकेको र लुकेर बस्नु परेको बिष्टले बताए । यस्तै वडा नम्बर ५ को भानोदय माविको मतदान स्थलबाट कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार खडक थापासमेत लखेटिएका थिए ।

मतदानस्थलमा झडप सुरु भएपछि मतदान गर्नका लागि लामवद्ध मतदाताहरुको भागाभाग भएको थियो । झडपपछि मतदान स्थललाई एमाले कार्यकर्ताहरुले नियन्त्रणमा लिएपछि आफूसहित कांग्रेस कार्यकर्ताहरु मतदानस्थलमा फर्किन नसकेको अध्यक्षका उम्मेदवार थापाले बताए ।

मतदान गर्न देश विदेशबाट आएका तमाम मतदाताहरुले मतदानबाट बञ्चित हुनु परेको थियो । विहानैदेखि लाइनमा बसेका मतदाताहरुको भागाभाग भएको थियो । ‘भोत हाल्नकै लागि एक हप्ताको छुट्टी भारतबाट आएँ, तर भोटै हाल्न नपाएको धेरै चित्त दुखेको छ,’ वडा नम्बर ७ का मतदाता कर लोहारले भने ‘विहानै कुटाकुट भइहाल्यो । बलियाले कमजोरलाई लखेटेपछि अरु मतदाताको बुथमा जाने हिम्मतै भए ।’

वडा नम्बर ५ का मतदाता चेतराज रेग्मीले धनगढीबाट भोट हाल्न गाउँ आएको भएपनि मतदान केन्द्र रणभूभि जस्तो भएकाले भोटै हाल्न नपाइएको बताए । समग्र मतदान केन्द्रको सुरक्षाको जिम्मेवारी लिएका सुरक्षाकर्मीहरु वडा नम्बर २ , ३, ५ र ९ नम्बरका मतदानस्थलबाट अपरान्ह्रतिर मतपेटिका समेत मतदानस्थलमै छाडेर हिँडेका थिए । मतपेटिका र मतपत्रको सुरक्षाका लागि जस्तोसूकै जोखिम उठाउन पनि तयार हुनुपर्ने प्रहरी किन त्यसरी ती मतदान केन्द्रबाट मात्र बाहिरिए भन्ने जवाफ सम्बन्धित निकायले दिन मानेन ।

दश वटै वडाका मतदान केन्द्रका मतपेटिकाहरु निर्वाचनमा खटिएका कर्मचारीहरुलाई साथमै राखेर पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको भएपनि मतदानको दोस्रो दिनभर पनि सुरुमा पालिकास्थित निर्वाचन अधिकृतले मतपेटिका बुझ्न मानेका थिएनन् । तर साँझतिर भने मतपेटिकाहरु पार्टीका कार्यकर्ताहरुले निर्वाचन अधिकृतलाई बुझ्न लगाएका थिए ।

त्यति मात्रै हैन, बुढीगंगा नगरपालिकास्थित निर्वाचन कार्यालय प्रमुखको जिम्मेवारीमा खटिएका उपसचिव कृष्ण सापकोटाले भने आफु असुरक्षित रहेको र हुलहुज्जत हुनसक्ने भन्दै निर्वाचनमा तोकिएको जिम्मेवारीबाट निर्वाचन आयोगमा राजिनामा पठाएका थिए । पालिकाका विभिन्न केन्द्रमा स्वतन्त्र तथा निष्पक्ष मतदान हुन नसकेको भन्दै निर्वाचनको दिन कांग्रेस कार्यकर्ताले निर्वाचन अधिकृत सापकोटालाई नियन्त्रणमा राखेका थिए भने आफु असुरक्षित रहेको भन्दै दोस्रो दिन उनी दिउँसो कार्यालय छाडेर सदरमुकाम मार्तडी आउँदै गर्दा उनलाई एमाले कार्यकर्ताले बार्जुगाढबाट नियन्त्रणमा लिएर पालिकास्थित निर्वाचन कार्यालयमा फर्काएर मतपेटिका बुझ्न लगाएका थिए ।

बुढीगंगामा उत्पन्न विवादवारे अध्ययन गर्न आइतबार विहान निर्वाचन आयूक्त सगुन सम्शेर जबरासहितको टोली नेपाली सेनाको हेलिकप्टरमा बाजुरा आएको थियो । सुरुमा सदरमुकाम मार्तडी आएर उनले सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु, मतदानमा खटिएका निर्वाचन अधिकृतलगायतसँग घटनावारे बुझ्ने काम गरेको थियो । दोस्रो दिन उनी बुढीगंगास्थित भानोदय माविको स्थलगत अध्ययन गर्न पुगेका थिए । तर आयोगको निर्णय भने अझै आएको छैन ।

एमालेले यथास्थितमा मतगणना हुनुपर्ने अडान राखेको छ भने कांग्रेसले पुनः मतदानको माग गरिरहेको छ । आफ्नो माग विपरीत भए दुबै पक्ष अदालत जाने तयारीमा रहेको बताइरहेका छन् ।


प्रकाशित : जेष्ठ ६, २०७९ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?