कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

भोट दिन गाउँ फर्किए मतदाता

अर्जुन शाह

बाजुरा — भोट खसाल्नका लागि घर आउनेको लर्को छ । जिल्लाभित्रै पनि सदरमुकाम सुनसानजस्तै छ भने गाउँमा निकै चहलपहल र रमाइलो । भारतमा मजदुरी गर्न गएका र अध्ययन, जागिर र विभिन्न पेसा व्यवसायको सिलसिलामा बाहिरी जिल्ला बस्दै आएकाहरू पनि मतदान गर्नकै लागि धमाधम गाउँ फर्किने क्रम बुधबारसम्म चलिरहेको छ ।

भोट दिन गाउँ फर्किए मतदाता

आसन्न चुनावले भारतमा रहेका कतिपयलाई गाउँमा वर्षौं बिछोडिएका आफन्तजन र साथीभाइबीच चुनावले भेटघाट गर्ने अवसर पनि जुराइदिएको छ । लामो समयदेखि जिल्लाबाहिर रहे पनि मतदाता नामावली आफ्नै जन्मथलोमा रहेका सयौं मतदाताहरू लर्को लागेर आएपछि यतिबेला बाजुराका गाउँघरमा दसैंतिहारको चाडबाड आएजस्तो झल्को दिइरहेको छ ।

भारतको दिल्लीस्थित सदरबजारबाट ३४ घण्टाको यात्रा गरी बाजुराको बुढीगंगा नगरपालिका ७ का करन लोहारको समूह मंगलबार बिहान गाउँ आइपुगेका छन् । दिल्लीदेखि महेन्द्रनगर पुग्न एक रात लाग्यो । महेन्द्रनगरदेखि २४ घण्टामा उनीहरू घर पुगे । चौकीदारी काम गर्दै आएका उनी भोट हाल्नकै लागि एक साताको बिदा मिलाएर गाउँ आएका हुन् । उनीसँगै सोही गाउँका अरू ११ जना पनि आए ।

करनलाई घर नआएको पाँच वर्ष पुग्नै थाल्यो । अघिल्लो पटको स्थानीय निर्वाचनमा भोट खसालेर हिँडेका उनी प्रदेश र संघको चुनावमा आउन पाएनन् । ‘यसपालि त मनै मानेन,’ करनले भने, ‘गाउँबाट दाजुभाइहरूले पनि आउनै पर्‍यो भने कर गरे ।’

छोरा र श्रीमतीसहित दिल्लीमै बस्दै आएका बूढीगंगा ७ कै जयबहादुर कटुवाल पनि पाँच वर्षपछि मंगलबार घर फर्केका छन् । बाजुराका विभिन्न पालिकाका मतदाताहरू आफ्नो समूहमा गाउँ फर्केको कटुवालले बताए । ‘केन्द्र र प्रदेशको चुनावमा आउन नपाए पनि स्थानीय चुनावमा भएकाले वडादेखि नै उचित उम्मेदवार छान्नकै लागि एक भोटको पनि महत्त्व हुने सम्झेर सात दिनको बिदा मिलाएर घर आएको हुँ,’ कटुवालले भने, ‘गाउँका सर्वसाधारणलाई वडापालिकामै काम पर्दछ । वडामा गलत व्यक्ति चुनियो भने दुःख पाउने अवस्था हुन्छ ।’ उनी दिल्लीमै चौकीदारी गर्छन् । समाज सेवाको भावना भएको व्यक्तिले चुनाव जित्यो भने आफूहरूले भारतका गल्लीमा चौकीदारी गर्ने बाध्यताको अन्त्य हुन सक्ने आफ्नो अपेक्षा रहेको उनले सुनाए । ‘स्वदेशमै रोजीरोटी गरिखाने व्यवस्था होला भन्ने विश्वास त लाग्दैन तर पनि राम्रो नेताले चुनाव जित्यो भने केही राम्रो त अवश्य होला भन्ने आशा छ,’ उनले भने । कटुवालको मात्र हैन, चुनावमा भोट खसाल्न आउने अधिकांशको भावना एकनासै छ ।

भारत र बाहिरी जिल्लाबाट आउने मतदाताको भोट आफ्नो पक्षमा पार्न उम्मेदवारले गाडी रिजर्भ गरेरै उनीहरूलाई गाउँ ल्याउने बन्दोबस्त मिलाएका छन् । उनीहरूका लागि धनगढी, महेन्द्रनगरमा सम्पर्कमा रहेका उम्मेदवारहरूले यातायातका साधनहरूको बन्दोबस्त मिलाएका छन् । अघिपछि वास्ता नगर्ने नेताहरूले यतिबेला आफूलाई भोट दिने मतदाताहरूलाई ल्याउन बस जिप रिजर्ब गरेका छन् । ‘हामी महेन्द्रनगर पुग्नेबित्तिकै हामीलाई ल्याउन उम्मेदवारले पठाएको बसका चालकसँग सम्पर्क भइहाल्यो,’ मंगलबार घर पुगेका बाजुराका एक स्थानीयले भने, ‘दिल्लीबाट सँगै आएको ३५ जनाको हाम्रो समूह त्यही बस चढेर बाजुरा पुग्यौं ।’

महाकाली बस व्यवसायी समितिका अध्यक्ष डम्मर पन्तका अनुसार भारतबाट घर फर्किनेहरूको अत्यधिक चाप भएपछि बाजुरालगायत पहाडी जिल्लामा दैनिक थप गाडी पठाउने गरिएको छ । ‘महेन्द्रनगर–बाजुरा दैनिक तीन गाडी चल्थे । एक सातायता दैनिक ९ वटा गाडी जाने गरेका छन्,’ अध्यक्ष पन्तले भने ‘बाजुरा, बझाङ र दार्चुलामा जाने यात्रीहरूको अत्यधिक घुइँचो छ ।’ धनगढीबाट पहाडी जिल्लामा आउनेहरूको पनि उस्तै घुइँचो रहेको सुदूरपश्चिम बस व्यवसायी समितिले जनाएको छ ।

मतदान गर्न एक दिन बाँकी रहँदा सदरमुकाम मार्तडी मंगलबारदेखि सुनसान छ । मार्तडीमा विभिन्न पालिका र जिल्ला बाहिरबाट पेसा व्यवसाय गर्नेहरू अधिकांश भोट खसाल्नकै लागि गाउँघर फर्किसकेका छन् । सदरमुकामबाट गाउँ जानेहरूको संख्या अत्यधिक भएपछि सवारी साधन पाउन पनि मुस्किल परेको स्थानीयले बताएका छन् ।

केन्द्रीय नेता गृहजिल्लामा

बाहिरी जिल्लामा रहेकाहरू मात्र फर्कनेक्रम नभई जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका केन्द्रीय नेताहरू पनि जिल्लामा पुगिसकेका छन् । केन्द्रीय नेताहरू पनि मतदातालाई रिझाउन लागिपरेका छन् । कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे, एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, एमाले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य लालबहादुर थापा, प्रदेशसभा सदस्य प्रकाशबहादुर शाह, प्रदेशसभा सदस्य बलदेव रेग्मी, एमाले केन्द्रीय सदस्यहरू सहदेव बोगटीलगायत केन्द्रीय नेताहरू पनि जिल्लामा पुगिसकेका छन् । प्रदेश प्रमुख देवराज जोशी पनि यसै जिल्लाका मतदाता भए पनि सुरक्षा प्रबन्धमा कठिनाइका कारण जिल्ला नआएको प्रदेश प्रमुखका स्वकीय सचिव अफिलाल जोशीले बताए ।

प्रकाशित : वैशाख २९, २०७९ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?