अछाममा रोचक बन्दै चुनावी प्रतिस्पर्धा

एमालेद्वारा आफ्नै पार्टीबाट विभाजन भएर बनेको एकीकृत समाजवादीसँग मेल्लेखमा गठबन्धन
३ पालिकामा प्रमुख दलहरुबीच एकल भिडन्त
मेनुका ढुंगाना

अछाम — वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अछामका राजनीतिक दलहरू प्रचारप्रसार र घरदैलोमा व्यस्त छन् । एमाले विभाजन र सत्तारुढ ५ दलबीचको गठबन्धनका कारण यसपटकको निर्वाचन परिमाण रोचक बन्ने देखिएको छ ।

अछाममा रोचक बन्दै चुनावी प्रतिस्पर्धा

जिल्लाका १० स्थानीय तहमध्ये २०७४ सालमा तुर्माखाँद, ढकारी गाउँपालिका तथा पञ्चदेवल बिनायक र कमलबजार नगरपालिकाको प्रमुख उपप्रमुखमा कांग्रेस विजयी भएको थियो । बान्नीगढी जयगढ गाउँपालिकामा प्रमुख, चौरपाटी र मेल्लेख गाउँपालिकामा उपप्रमुख जितेर ७ स्थानीय तहमा बलियो प्रतिनिधित्व गरेको कांग्रेसलाई यो चुनावमा पनि विरासत जोगाइराख्नुपर्ने दबाब छ ।

एमालेले मंगलसेन नगरपालिका र साँफेबगर नगरपालिकामा प्रमुख उपप्रमुख तथा चौरपाटी गाउँपालिकामा प्रमुख पद हत्याएको थियो । दल विभाजनपछि उसले पहिलो निर्वाचनको सामना गर्दै छ । एमालेका लागि यो निर्वाचन आफ्नो शक्ति जोख्ने अवसर पनि हो । एमाले नेता एवं पूर्वउप्रधानमन्त्री भीम रावलको गृहनगर साँफेबगरमा यसअघि एमालेले जितेको थियो । तर, पार्टी विभाजनसँगै नगर प्रमुख र उपप्रमुख नेकपा (एकीकृत समाजवादी) तर्फ लागेका छन् । एमालेको तर्फबाटै गत निर्वाचनमा विजयी भएका चौरपाटी गाउँपालिकाका निवर्तमान अध्यक्ष हर्क साउद पनि एकीकृत समाजवादीमा लागेर फेरि अध्यक्षको प्रत्याशी बनेका छन् । एमाले अछामका तत्कालीन जिल्ला अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले पनि विभाजनपछि एकीकृत समाजवादी रोजेकाले एमालेलाई थप दबाब परेको हो ।

नेता रावल एमाले र माओवादी केन्द्रको गठबन्धनलाई मत माग्न गाउँ–गाउँ पुगिरहेका छन् । रावलको वडा साँफेबगर–६ मा कांग्रेस–एकीकृत समाजवादी, एमाले–माओवादी र स्वतन्त्र उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धामा छन् । एमालेले माओवादीसँग गठबन्धन गर्दै साँफेबगरमा अधिकारकर्मी एवं जिल्ला कमिटी सदस्य पशुपति कुँवरलाई प्रमुखको उम्मेदवार बनाएको छ । उपप्रमुखमा माओवादीका रंग ठकुल्ला उठेका छन् । उता गठबन्धनबाट प्रमुखमा कांग्रेसका राजेन्द्र कुँवर र उपप्रमुखमा एकीकृत समाजवादीका सिलोज कुवँर उम्मेदवार बनेका छन् ।

मेल्लेख गाउँपालिकामा एमालेबाटै छुट्टिएर बनेको एकीकृत समाजवादीबीच तालमेल भएको छ । एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा भिमबहादुर खड्का र उपाध्यक्षमा एकीकृत समाजवादीबाट समिता कुमारी महर (साउद) चुनावी मैदानमा छन् । त्यस्तै, माआवादी केन्द्रबाट ज्वाला सिंह साउद अध्यक्ष र कांग्रेसका नृपबहादुर खड्का उपाध्यक्षका उम्मेदवार भएका छन् ।

पञ्चदेवल बिनायक नगरपालिकामा प्रमुख पदमा सबैभन्दा धेरै व्यक्ति चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस, एकीकृत समाजवादी, एमाले, माओवादी केन्द्र, राप्रपा, र स्वतन्त्रबाट एक जना गरी ६ जना नगर प्रमुखको प्रत्याशी बनेका छन् । त्यस्तै, ५ जना उपप्रमुखका लागि चुनावी मैदानमा छन् । यो नगर गत निर्वाचनमा कांग्रेसले जितेको थियो ।

प्रकाशित : वैशाख २७, २०७९ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?