३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मतदान केन्द्र हिँडे कर्मचारी

६० मतदाता रहेको गुम्बा मतदान केन्द्रमा पुग्न सदरमुकाम मार्तडीबाट ३ दिन लाग्छ
अर्जुन शाह

बाजुरा — मतदान अधिकृत नन्दकृष्ण उपाध्यायको टोली आइतबार सदरमुकाम मार्तडीबाट आफू खटिएको मतदान केन्द्र हिमाली गाउँपालिका १ गुम्बातर्फ प्रस्थान गरेको छ । जिल्लाको सबैभन्दा टाढा रहेको गुम्बास्थित हिमालभक्ति आधारभूत विद्यालयमा मतदान केन्द्र छ । ६० मतदाता रहेको उक्त मतदान केन्द्रमा पुग्न सदरमुकामबाट तीन दिन लाग्छ ।

मतदान केन्द्र हिँडे कर्मचारी

आउँदो शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि बाजुराका ९ वटै स्थानीय तहमा कर्मचारी खटाइसकेका छन् । उनीहरूले आइतबार सदरमुकाम मार्तडीस्थित मुख्य निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालयबाट सामग्री र कागजात बुझेर मतदान केन्द्रतर्फ प्रस्थान गरेको जिल्ला निर्वाचन कार्यालय प्रमुख नवराज अवस्थीले बताए । उनीहरूले नियुक्ति पत्र, मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयबाट मतपेटिका र मतदानलाई चाहिने सामग्री बुझेका हुन् ।

आसन्न स्थानीय निर्वाचनका लागि बाजुरामा ५ सय ५८ कर्मचारी खटाइएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तीमध्ये एक सय १२ मतदान अधिकृत, एक सय १२ सहायक मतदान अधिकृत र अन्य सहायक कर्मचारी छन् । जिल्लाभर दुई मतदान अधिकृत महिला रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अवस्थीले बताए । यो जिल्लाका ९ स्थानीय तहमा १ सय १२ मतदान केन्द्र र ७० वटा मतदान स्थल छन् । जिल्लामा ८२ हजार ६ सय ९० मतदाता छन् । कुल मतदातामध्ये ४२ हजार १ सय ५१ पुरुष र ४० हजार ५ सय ३७ महिला रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सुरक्षा निकायले मतदानस्थलको सुरक्षाका लागि सतर्कताका साथ व्यवस्थित रणनीति बनाएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बताए । सुरक्षाका दृष्टिले जोखिमको मूल्यांकन गरी निर्धारित ७० मतदानस्थलमध्ये ३८ मतदानस्तललाई अति संवेदनशीलको सूचीमा राखेर विशेष सुरक्षा योजना बनाइएको प्रजिअ पौडेलले बताए । २५ संवेदनशील र ७ सामान्य मतदान स्थलको सूचीमा राखिएको उनको भनाइ छ ।

४ जनप्रतिनिधि निर्विरोध

बाजुराबाट विभिन्न स्थानीय तहमा दलित महिला सदस्य कोटामा उम्मेदवार बनेका चार जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनेमध्ये बूढीनन्दा नगरपालिका–४ मा दलित महिला सदस्य कोटामा एमालेबाट उम्मेदवार रहेकी बसन्ती चँदारा, सोही नगरपालिका १० मा एमालेकै उम्मेदवार टुमरा दमाई, त्रिवेणी नगरपालिका–७ मा कांग्रेसबाट औलादेवी लुहार र हिमाली गाउँपालिका–१ मा माओवादी केन्द्रकी उम्मेदवार रूपसरी कामी निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगको विवरणमा उल्लेख छ ।

समग्र सुदूरपश्चिम प्रदेशबाट भने १५ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्ला र स्थानीय तहमा दलित महिला र महिला सदस्यहरू गरी १५ जना निर्विरोध भएका हुन् । १२ दलित महिला सदस्य तीन जना महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध भएकाहरूमा एमालेका ७, कांग्रेसका ४, माओवादी केन्द्रका २, एकीकृत समाजवादी र स्वतन्त्रबाट एक/एक जना निर्विरोधभएका हुन् ।

बझाङको साइपाल गाउँपालिका–१ मा कांग्रेसकी सुरती कामी, वडा नम्बर ४ मा कांग्रेसकै अम्रिता कामी, केदारस्युँ गाउँपालिका–४ मा दलित महिला सदस्य कोटामा स्वतन्त्र उम्मेदवारी दिएकी कन्थरीदेवी ओखेडा, केदारस्युँ ७ की माओवादी केन्द्रबाट दलित महिला सदस्यकी उम्मेदवार रम्भुदेवी कामी निर्विरोधनिर्वाचित भए ।

यस्तै जयपृथ्वी नगरपालिका–४ मा कांग्रेसबाट दलित महिला सदस्य पुतलीदेवी कामी र वडा नम्बर ७ की दलित महिला सदस्य एमालेकी सन्तोला चुनारा निर्विरोध भए । त्यस्तै, थलारा गाउँपालिका–६ मा एकीकृत समाजवादीबाट महिला सदस्यको कोटाकी उम्मेदवार ३४ वर्षीया सुनीतादेवी गिरी, वडा नम्बर ८ मा एमालेबाट जमुनादेवी खड्का, मस्टा गाउँपालिका–७ मा एमालेबाट दलित महिला सदस्या कोटामा उम्मेदवार हिमकला दमाई निर्विरोध भएका छन् । दार्चुलामा पनि निर्विरोध निर्वाचित भएका छन् । अपिहिमाल गाउँपालिका–३ मा एमालेबाट दलित महिला सदस्य उम्मेदवार शोभा टमटा, मार्मा गाउँपालिका–५ मा एमालेबाटै महिला सदस्य कमला महता पनि निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित : वैशाख २६, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?