कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दुर्गममा न उम्मेदवार पुग्छन् न जनप्रतिनिधि

रहफवासीलाई आफ्नै गाउँपालिकाको केन्द्र तुर्माखाँद पुग्न करिब ३६ घण्टा हिँड्नुपर्छ 
मेनुका ढुंगाना

रहफ, अछाम — स्थानीय तहका लागि नयाँ जनप्रतिनिधि चुन्ने दिन नजिकिँदै जाँदा पनि अछामको दुर्गम गाउँ रहफमा चुनावको रौनक देखिँदैन । भौगोलिक विकटताका कारण उम्मेदवारहरू सहजै यहाँ पुग्न सक्दैनन् ।

दुर्गममा न उम्मेदवार पुग्छन् न जनप्रतिनिधि

मंसिरमा कर्णाली राजमार्गबाट गाउँलाई सडक सञ्जालले छोए पनि गाडी चल्दैनन् । तुर्माखाँद गाउँपालिका–१ मा रहेको रहफवासीले सहजै न उम्मेदवार देख्न पाउँछन् न जितेर गएका जनप्रतिनिधि नै ।

रहफवासीलाई आफ्नै गाउँपालिकाको केन्द्र तुर्माखाँद पुग्न करिब ३६ घण्टा हिँड्नुपर्छ । जिल्ला सदरमुकाम मंगलसेनबाट करिब दुई सय किलोमिटर टाढाको रहफबाट गाउँपालिका केन्द्र तुर्माखाँद नै एक सय किलोमिटर बढी छ । पैदल हिँडेर तुर्माखाँद पुग्न स्थानीयलाई निकै सकस हुने गरेको छ । दैलेख र सुर्खेतसँग नजिकको सम्बन्ध रहेका अछामका यी दुई वडाका बासिन्दालाई अछामबारे त्यति जानकारी पनि छैन ।

ठूला राजनैतिक दल कांग्रेस, एमाले र माओवादी केन्द्रलगायतका प्रतिनिधिले आफ्ना उम्मेदवारलाई भोट मागिरहेका छन् । तर, उम्मेदवार यी रहफका बासिन्दाको दैलोमा सहजै पुग्न सक्दैनन् । ‘पहिलेका चुनावमा उम्मेदवार हौं । भोट दिनुस् भनेर माग्न आएका थिए । अहिले कसैले मत मागेको छैन । वडाध्यक्षका उम्मेदवार पनि को हुन् । हामीलाई त केही पनि थाहा छैन,’ तुर्माखाँद–१ रहफ नेपालीबाडाकी ६५ वर्षीया अमृता नेपालीले भनिन्, ‘मत दिने दिन कहिले हो भन्ने पनि थाहा छैन । यो टोलमा खानेपानीको समस्या छ । खानेपानी दिन्छु भन्नेलाई नै मत दिने हुँ ।’

यहाँका अन्य स्थानीय पनि स्थानीय निर्वाचन, उम्मेदवार र राजनैतिक दलबारे त्यति जानकार छैनन् । खानेपानी, स्वास्थ्य, शिक्षा, बिजुलीलगायतका पूर्वाधारबाट वञ्चित रहफवासीले नेता तथा जनप्रतिनिधिसँग गुनासोसमेत राख्ने मौका पाउँदैनन् । ‘यहाँसम्म हाम्रा कुरा सुन्न कोही आउँदैनन् । गाउँमा कोही नौलो मान्छे आयो भने बिन्द्रासैनको स्कुलमा जम्मा हुन्छौं । जान सक्नेहरू त्यतै गएर कुरा सुन्छौं । नसक्नेहरू जाँदैनौं,’ रहफकै ७५ वर्षीय उज्जले दमाईले भने, ‘गुनासो राख्ने नेता, जनप्रतिनिधि टाढा छ भनेर यता आउँदैनन् । हामी पनि नेता जनप्रतिनिधि खोज्दै गुनासो राख्न जान सक्दैनौं ।’

स्थानीय तह पुनः संरचनापछि गाउँमा सडक, बिजुली पुग्ने आस गरेका रहफका बासिन्दा गाउँपालिकाको समेत नजर नपुग्ने ठाउँमा छन् । गाडी चढेर आफ्नै गाउँपालिकाको केन्द्र तुर्माखाँद पुग्न दैलेखको दुल्लु नगरपालिका,चामुण्डा बिन्द्रासैनी नगरपालिका र आठबिस नगरपालिका गरी ३ स्थानीय तह र अछामको पञ्चदेवल विनायक नगरपालिका, कमलबजार नगरपालिका हुँदै जानुपर्छ ।

पैदल यात्रा गर्नलाई पनि गोरेटो बाटो छैन । कर्णालीको छालबाट एउटा बाटो छ भने जंगल नै जंगलको अर्को बाटो छ । जंगलको बाटो कठिन र असहज छ । कर्णाली किनारको बाटोमा वर्षातको समयमा हिँड्न सकिँदैन । ‘अछामको रहफ सजिलै पुग्न सकिने ठाउँ नै होइन । रहफलाई जहिले पनि अलग राज्यको नजरले हेरिन्छ । यहाँ न सडक छ न बिजुली न उच्च शिक्षाको लागि शैक्षिक संस्था छ,’ स्थानीय पिरक विकले भने, ‘भौगोलिक विकटताकै कारण हामी पछि परेका छौं । भोट माग्ने बेला उम्मेदवार नै सजिलै पुग्न नसक्ने गाउँमा जितेपछि जनप्रतिनिधिको मुहार हेर्न झन् कठिन हुन्छ ।’

साविकको रहफ गाविस हुँदा ५/६ घण्टा पैदल हिँडेर सेवा पाइने भए पनि हाल दुई दिन हिँड्नुपर्ने बाध्यता रहेको तुर्माखाँद गाउँपालिका–२ भुलुका धनबहादुर शाहीले बताए । योजना सम्झौतादेखि भुक्तानीका लागि गाउँपालिकाको केन्द्रमा आउँदा जाँदा मात्र ६ दिन लाग्ने गरेको उनको भनाइ छ । सेवा लिन दुई दिन पैदल हिँड्दा पनि कहिलेकाहीं सेवा पाउन नसकिएको नागरिकहरूको गुनासो छ । कागजात नमिल्दा फेरि तीन दिन लगाएर गाउँ फर्किनुपर्ने बाध्यताका कारण खर्च पनि बढी हुने गरेको भुलुका सर्जन शाहीले बताए ।

तुर्माखाँद–१ का अध्यक्ष थिरबहादुर रावलका अनुसार यहाँ ९ सय घरधुरी र २ हजार ५७ मतदाता छन् । मतदाता भेटघाटका लागि कतिपय ठाउँमा उम्मेदवार पुग्ने गरेका छन् भने धेरैजसो घरमा पार्टीका स्थानीय प्रतिनिधिलाई परिचालन गरिएको छ । ‘चुनावी माहोल खासै बनेको छैन । सहजै पुग्नै सक्दैनन् । हामी त निकै विकट गाउॅमा पो छौं,’ उनले भने, ‘भौगोलिक विकटता र थोरै आउने बजेटले जनताले अपेक्षा गरेअनुसारको काम गर्न सकिएन ।’

प्रकाशित : वैशाख २४, २०७९ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?