कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

वसन्तप्रताप सिंह

बझाङ — पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बझाङको छबिस पाथीभेरा गाउँपालिकाका एक युवकले मदिरा सेवन गरी बालिकालाई बलात्कार गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । 

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

वैशाख १६ गते आफ्ना बाबुसँग बिहे हेर्नका लागि मामाघर गएकी ती बालिकालाई सोही दिन युवकले बलात्कार गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । पीडितका बाबु सँगै बिहेभोजमा मदिरा सेवन गरेका युवकले बालिकालाई चाउचाउ किनिदिने लोभ देखाएर नजिकै रहेको आफ्नै गोठमा लगी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयको अनुसन्धानबाट खुलेको छ ।

चाउचाउ किनिदिएपछि बालिकालाई बोकेर बिहेभोज स्थलबाट आधा किलोमिटर टाढा रहेको गोठमा लगेर बलात्कार गरेको र बालिका रुन थालेपछि बोकेरै पहिलेकै ठाउँमा ल्याएर छोडेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ज्ञानबहादुर विष्टले बताए ।

‘बालिकाले पनि घटनाबारे कसैलाई नबताएका कारण त्यस दिन बलात्कारको बारेमा कसैलाई थाहा भएन । भोलिपल्ट बिहान मात्रै पीडितका बाबुले बालिकाको शरीरमा रगत देखेपछि सोधखोज गर्दा अपराध भएको पत्ता लागेको हो’ विष्टले भने ।

१७ गते बिहान गाउँमा घटनाबारे हल्ला भएपछि भागेको अभियुक्तलाई १९ गते साँझ थलारा गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । युवकले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेको प्रहरी निरीक्षक जनक राज ढुङ्गानाले बताए । उनले भने ‘रक्सीको नशामा अपराध गरेको कबुल गरिसकेको छ । थप अनुसन्धानको काम हुँदैछ ।’

प्रहरीका अनुसार बलात्कृत बालिकामा शारीरिक र मानसिक समस्या भएपछि जिल्ला अस्पताल बझाङमा भर्ना गरी उपचारको काम भइरहेको छ । घटनापछि पीडित बालिकाको शारीरिक र मानसिक अवस्था पनि ठीक नभएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । बालिकाको स्वास्थ्य अवस्थामा सुधार आइरहेको भए पनि पहिले झैं बोल्ने र हाँसखेल गर्ने जस्ता गतिविधि नगरेर टोलाएर बस्ने गरेको परिवारले बताएका छन् ।

पक्राउ परेका अभियुक्तलाई भने मंगलबार सार्वजनिक विदा परेकोले अदालत पेस गर्न नसकिएको र बुधबार म्याद थप गराएर अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी प्रहरीले गरिरहेको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार १० वर्षभन्दा कम उमेरका बालिकालाई करणी गरेमा अभियुक्तलाई जन्मकैदको सजाय हुने व्यवस्था छ ।

प्रकाशित : वैशाख २०, २०७९ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?